महाकालीमा एकतर्फी तटबन्ध बनाएको भन्दै नेपालले पठायो भारतलाई कूटनीतिक नोट



काठमाडौँ । नेपाल सरकारले महाकालीको बहाव नेपालतर्फ धकेलेर भारतले अनधिकृत पक्की संरचना बनाएको विषयमा भारतलाई कूटनीतिक नोट पठाएको छ ।

परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित भारतीय राजदूतावासमार्फत मंगलबार दिउँसो कूटनीतिक नोट पठाएको हो । कूटनीतिक नोटमा नेपालको सहमतिबिना संरचना बनाइएको र यसले नेपालतर्फ क्षति पुगेको उल्लेख गर्दै सीमा क्षेत्रमा संरचना निर्माण गर्नु परे दुवै देशको सहमति र समन्वय हुन पर्ने उल्लेख गरिएको छ ।

यसका साथै, सीमा क्षेत्रमा यस्ता घटना नदोहोरियोस् भन्ने उद्देश्यले कूटनीतिक रुपमा दीर्घकालीन समाधान खोज्नुपर्ने नोटमा उल्लेख छ । महाकाली नदीको कटान नियन्त्रणका लागि भन्दै भारतले २ वर्षदेखि तटबन्ध निर्माण गरिरहेको छ ।

भारतले नदीको वहाव नै नेपालतर्फ धकेलिने गरी संरचना निर्माण गर्न थालेपछि विवाद हुँदै आएको थियो । पछिल्लो समय गत आइतबार दार्चुलाको खलंगा र भारतको धार्चुला जोड्ने झोलुङ्गे पुलमुनि नै पक्की तटबन्ध बनाउन थालेपछि विवाद चर्किएको थियो ।

दार्चुला सदरमुकामका स्थानीयले तटबन्ध निर्माणको विरोध गरेपछि भारतीय पक्ष प्रतिकारमा उत्रिएको थियो। भारतीय पक्षले नेपालीलाई लक्षित गर्दै ढुङ्गा प्रहार गर्दा ४ जना नेपाली घाइते समेत भएका थिए । त्यसपछि स्थानीयले नेपाल–भारत जोड्ने, महाकाली नदीमाथिको झोलुङ्गे पुलको गेटमा ताला लगाइदिएका थिए ।

अन्तर्राष्ट्रिय सन्धि, नियम विपरीत भारतले नदीको वहाव नै परिवर्तन गर्नेगरी तटबन्ध निर्माण गरिरहेको विषयमा नेपालमा विरोध बढ्न थालेपछि स्थानीय प्रशासनले भारतीय पक्षसँग छलफल गरेको थियो ।

दुवै देशका स्थानीय प्रशासनस्तरमा भएको छलफलका क्रममा भारतले विवादित संरचनाहरुको निर्माण तत्काल रोक्ने सहमति भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ललितपुरको बाफलमा आगलागीबाट पाँचजना घाइते

ललितपुर । आगलागीबाट ललितपुरमा पाँच जना घाइते भएका छन् । ललितपुरको बाफलमा एउटा

नेपाल भारत सीमानाका आठ दिन बन्द हुने

सिरहा । छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गरी नेपाल–भारत

बजेट अभावमा धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण प्रभावित

गोदावरी (कैलाली) । धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा बनाइने आठवटा पुलका निम्ति पर्याप्त बजेट नहुँदा निर्माण

मुहान सुकेपछि खानेपानीका लागि ट्याङ्करमा निर्भर

पाँचथर । सुक्खाका कारण खानेपानीको मुहान सुकेपछि पाँचथरको हिलिहाङ गाउँपालिका–७ का तीन सय