लोक सेवालाई नयाँ युगका नयाँ चुनौतीलाई सामना गर्न सक्ने गरी सुधार गर्न राष्ट्रपतिको सुझाव



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लोक सेवा आयोगलाई नयाँ युगका नयाँ चुनौतीलाई सामना गर्न सक्ने गरी सुधार एवं विकास गर्दै अगाडि बढ्नु आवश्यक भएको बताएकी छन् ।

आयोगको ७२औँ वार्षिकोत्सव समारोहलाई बुधबार राजधानीमा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले विज्ञान र प्रविधिमा भएको विकास तथा चुलिँदो जनअपेक्षालाई सम्बोधन गर्न आयोगको सेवालाई अनलाइनमार्फत उपलब्ध गराउने प्राविधिक संरचनाको स्तरोन्नति गर्दै अनलाइन सेवालाई नागरिक एपसँग जोड्ने कार्यको प्रशंसा गरिन् ।

उनले यसबाट आम नागरिकलाई आयोगका सेवाहरू प्राप्त गर्न सरल र सहज हुने अपेक्षा लिएको बताइन् । ठूलो राजनीतिक परिवर्तनपश्चात् मुलुक क्रमशः आर्थिक रूपान्तरण र प्रगतिको मार्ग पहिल्याउन अग्रसर भइरहेको सन्दर्भ जोड्दै राष्ट्रपति भण्डारीले जनतालाई सहज सार्वजनिक सेवा प्रवाह गरी राज्यको उपस्थितिको बोध गराउने दायित्व मुलुकको निजामतीसहितका सरकारी संयन्त्रको रहेको र सोही अनुरूपको जनशक्ति छनोट गर्नु अत्यावश्यक भएको बताइन् ।

उनले जनताको समृद्धिको आकाङ्क्षा सम्बोधन गर्न सक्ने र सोही अनुरुप कर्तव्यपालन गर्न सक्ने मानवस्रोतको पहिचान गरी सरकारी सेवालाई बलियो बनाउने अधिकार प्राप्त संवैधानिक अङ्गका रूपमा रहेको लोक सेवा आयोगले त्यसलाई आत्मसात् गर्दै आफ्नो दायित्व पूरा गर्न कटिबद्ध हुने विश्वास व्यक्त गरिन् ।

राष्ट्रपति भण्डारीले चुस्त व्यवस्थापकीय क्षमतायुक्त, इमान्दार, कर्तव्यनिष्ठ र विषयगत दक्षतासहितका जनशक्ति विकासका लागि आवश्यक तालिम तथा अभिमुखीकरण र उम्मेदवारको छनोट प्रणालीमा समयसापेक्ष सुधार गर्नेतर्फ आयोगको थप ध्यान जाने अपेक्षा लिएको बताइन् ।

देशको सबैभन्दा लामो इतिहास भएको संवैधानिक आयोगका रूपमा रहेको लोकसेवा आयोगलाई नेपालको संविधानले निजामती सेवाका लागि उपयुक्त उम्मेदवार छनोट गर्ने तथा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल एवम् अन्य सरकारी सेवामा पदपूर्तिका लागि लिइने परीक्षा सञ्चालन गर्ने जिम्मेवारी प्रदान गरेको छ । यसका साथै लोक सेवा आयोगले सङ्घीय सरकारी सेवा र सङ्गठित संस्थाका कर्मचारी व्यवस्थापनका विभिन्न विषयमा परामर्शसमेत प्रदान गर्दै आएको छ ।

समारोहमा लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले कर्मचारी छनोटका लागि लिइने परीक्षाको उत्तरपुस्तिका परीक्षण विधि र प्रविधिमा निरन्तर सुधार गर्दै आएको जानकारी दिए । उनले उत्तरपुस्तिका परीक्षण प्रणालीलाई थप विश्वसनीय बनाउन सहसचिव, उपसचिव वा सो सरहका पदहरुमा दुईजना विज्ञबाट अलग अलग रुपमा दोहोरो परीक्षण गर्ने शाखा अधिकृत वा सो सरहको पदका उत्तरपुस्तिका तथा सङ्गठित संस्थातर्फका नवाँै वा सोभन्दा माथिका पदका परीक्षाका उत्तरपुस्तिका आयोगमा नै विज्ञद्वारा परीक्षण गराउने पद्धतिको विकास गरिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

  मनाङ । मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने

  काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा

दैलेखको छामघाट खोलामा डुबेर दुई किशोरीको मृत्यु

कर्णाली । दैलेख महावु गाउँपालिका–३ स्थित छामघाट खोलामा दुबेर दुई किशोरीको मृत्यु भएको

२० करोडको लगानीमा धनकुटाको भेडेटारमा स्काइ टावर संचालन

  धनकुटा । धनकुटाको भेडेटारमा स्काइ टावर सञ्चालनमा ल्याइएको छ । बन्डर्स अम्युजमेन्ट