खोप खरिद प्रक्रिया पारदर्शी हुन्छः स्वास्थ्यमन्त्री त्रिपाठी
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिडविरुद्धको खोप खरिद प्रक्रिया पारदर्शी हुने बताएका छन् । सोमबार स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री त्रिपाठीले खरिद प्रक्रिया पारदर्शी र वितरण न्यायपूर्ण हुने बताएका हुन् ।
खरिद र वितरणका लागि सरकारले सम्पूर्ण तयारी गरिसकेको भन्दै मन्त्री त्रिपाठीले खोप आयात भएको ७ दिन भित्र लगाउन सुरु गरिने जानकारी दिए । उनले खोप कार्यक्रमका लागि अहिले सञ्चालनमा रहेका करिब १६ हजार खोप केन्द्रहरुलाई परिचालन गरिने बताए । त्यस्तै ५ हजार कर्मचारी र ५२ हजार महिला स्वास्थ्य स्वंयसेविका परिचालन हुने उनले जानकारी दिए ।
उनले खोपको प्राप्ती अन्य व्यवसायिक वस्तुको प्राप्ती जस्तो नभई राजनीतिक वस्तुको रुपमा देखा परेकाले आपूर्तिमा समस्या भएको बताए । उनले खोप खरिदका लागि राजनीतिक तहबाट समेत पहल भइरहेको बताए । खोप खरिदका लागि रुस, भारत र युएईका राजदूतहरुसँग कुरा भएको र खोप उत्पादन गर्ने अन्य मुलुकहरुसँग पनि राजनीतिक पहल भइरहेको जानकारी दिए ।
उनले पहिले सरकार सरकारबीच खरिद प्रक्रिया अगाडि बढाउने र त्यसपछि निजी क्षेत्रबाट समेत ल्याउन पहल गर्ने जानकारी दिए । खोपको वितरण सबैभन्दा पहिला स्वास्थ्यकर्मीलगायत अग्रपंतिmमा रहेका व्यक्तिहरुलाई दिइने बताए । उनले छिमेकी मुलुकको भन्दा धेरै पछि खोप लगाउनुपर्ने अवस्था नआउने उनले बताए ।