अप्रिलको अन्त्यसम्म नेपालमा पनि कोरोनाविरुद्धको खोप आउन सक्ने
काठमाडौं । हाल विश्वका केही मुलुकहरुले फाइजर एण्ड बायोएन्टेक, मोडर्ना, सिनोफार्म तथा अक्सफोर्ड विश्वविद्यालय र एष्ट्राजेनेका कम्पनीले विकास गरेका कोरोना विरुद्धका खोपको आपतकालिन प्रयोगका लागि अनुमति दिइसकेको अवस्था छ । विभिन्न मुलुकमा तीब्र रूपमा खोप वितरण समेत जारी छ ।
गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार आगामी अप्रिल महिनादेखि नेपालमा पनि कोरोना भाइरस विरुद्धको खोप आउन सक्ने सम्भावना रहेको छ ।
यद्यपि, खोप नआएसम्म स्वास्थ सावधानी अपनाउन जरुरी रहेको भन्दै समितिले अझै ढुक्क हुने अवस्था भने नरहेको जनाएको छ । बेलायत लगायतका मुलुकमा देखापरेको कोरोना भाइरसको नयाँ प्रकारको (उत्परिवर्तित) भाइरस छिमेकी मुलुक भारतमा पनि फैलिँदै गएकोले नेपालमा पनि उच्च सावधानीको आवश्यकता समितिले औंल्याएको छ ।
भारतसहित बेलायत, यूरोपेलि मुलुक, अमेरिका लगायत नयाँ प्रकारको भाइरस देखा परेका देशमा बसोबास गर्ने नेपालीहरुलाई पनि सचेत रहन समितिले आग्रह गरेको छ ।