आगामी चार महिनामा करिब १ लाख ४८ हजारलाई कोरोना संक्रमण हुनसक्छः स्वास्थ्यमन्त्री
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना संक्रमणलाई कम गर्न जनप्रतिनिधीहरुको भूमिका महत्वपूर्ण रहेका बताएका छन् । स्वास्थ्य मन्त्रालयले शनिबार काठमाडौंमा आयोजना गरेको ‘कोभिड–१९ महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरुको भूमिका’ बिषयक छलफल कार्यक्रममा उनले जनप्रतिनिधिले आफ्ना मतदातालाई सचेत गराई संक्रमण फैलनबाट रोक्न भूमिका खेल्नुपर्ने बताए ।
त्यस्तै उनले कोरोनाको उपचारका लागि खोप कहिले आउने भन्ने यकिन भइनसकेको अवस्थामा कोरोना रोक्न सवैले सचेतना अपनाउनुपर्ने उल्लेख गरे । तिमिल्सिनाले राजनीतिक भविष्यमाथि समेत बलियो आधार तयार गर्नका लागि राजनीतिक दलहरुले कोरोना नियन्त्रणका लागि भातृसंगठनहरुलाई परिचालन गरी गाउँगाउँमा परिचालन गरि सचेतना कार्यक्रम गर्न सुझाव दिए ।
कार्यक्रममा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले घर घरमा स्वास्थ्य सेवा पुर्याउनका लागि सरकार प्रतिवद्ध रहेको बताए । कोरोना उपचारका लागि आवश्यक अक्सिजन सहितका बेडहरुको व्यवस्थापन गर्ने, औषधिको आपूर्ति सहज बनाउने लगायतका काममा सरकार लागिपरेको उनले बताए ।
पछिल्लो परिस्थिति अनुसार कुल जनसंख्याको २ प्रतिशतसम्म संक्रमण हुने अनुमान सरकारले गरेको मन्त्री ढकालले बताए । अबको चार महिनामा करिब १ लाख ४८ हजार जनामा संक्रमण पुष्टि हुनसक्ने अनुमान पनि सरकारले गरेको उनले जानकारी दिए । मन्त्री ढकालले कोरोन संक्रमण रोकथामका लागि सरकारले हरसम्भव प्रयास गरेको दावी पनि गरे ।