धरान र बाँकेमा गरी थप ६ जना कोरोना सङ्क्रमितको मृत्यु
नेपालगंज । बाँकेमा उपचाररत चार कोरोना सङ्क्रमितको अस्पतालमै मृत्यु भएको छ । बाँके राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ शम्शेरगञ्जका ४८ वर्षका पुरुष, टीकापुर नगरपालिका वडा नम्बर १ कैलालीकी ५६ वर्षकी महिला, तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर १० दाङकी २० वर्षकी महिला र तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर ५ दाङका ७६ वर्षका पुरुषको उपचारकै क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार, श्वास प्रश्वास प्रक्रियामा समस्या आएपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएका शम्शेरगञ्ज निवासी ४८ वर्षीय पुरुषको शुक्रवार साँझ ५ः२० बजे मृत्यु भएको हो । त्यस्तै दाङ निवासी ७६ वर्षीय पुरुषको शिक्षण अस्पताल कोहलपुरमा शुक्रवार साँझ ६ः४० बजे उपचारकै क्रममा मृत्यु भएको थियो भने कैलाली निवासी ५६ वर्षीया महिलाको शिक्षण अस्पताल कोहलपुरमै दिउँसो २ः४५ बजे र दाङ निवासी २० वर्षीया महिलाको दिउँसो ३ः२० बजे मृत्यु भएको छ ।
सङ्क्रमित बिरामीलाई रोगको प्रकृति अनुसार गरिनुपर्ने सबै प्रकारको उपचार दिँदै गर्दा समेत अवस्थामा सुधार नआएपछि कोभिड आइसीयूमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए । यो सँगै बाँकेमा बाहिरी जिल्लाबाट आई उपचारका क्रममा मृत्यु हुनेको सङ्ख्या २७ पुगेको छ भने बाँकेका ३५ सङ्क्रमितको उपचारको क्रममा मृत्यु भइसकेको छ ।
त्यसैगरी, कोरोना संक्रमणबाट धरान उपमहानगरपालिकामा थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान–९ बस्ने ६७ वर्षीया र वडा नं १६ की ८१ वर्षीया महिला छन् । उनीहरूको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार मधुमेह र मानसिक समस्या रहेकी धरान–९ की महिलालाई कात्तिक १८ गते कोभिड अस्पताल भर्ना गरिएको थियो । पीसीआर जाँच गर्दा कात्तिक १९ गते कोरोना पुष्टि भएकी उनको शुक्रबार बेलुकी साढे ६ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
यसै गरी धरान–१६ की महिलालाई कात्तिक १९ गते कोरोना पुष्टि भएपछि कात्तिक २० गते कोभिड अस्पताल भर्ना गरिएको थियो । उच्च रक्तचापको समस्याबाट पीडित उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्दागर्दै शनिबार बिहान २ बजे मृत्यु भएको प्रतिष्ठानले जानकारी दिएको छ । धरानमा कोरोना संक्रमणबाट हालसम्म ६८ जनाको मृत्यु भएको उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताएका छन् ।