आज तीजको दर खाने दिन



काठमाडौं । हरितालिका व्रतको तयारीस्वरुप आज दर खाने तयारीमा नेपाली महिला छन् । दरखाने दिनसँगै चारदिने तीज पर्व आजदेखि शुरु हुँदैछ ।

विशेषगरी नेपाली नारीले मनाउने तीजको पहिलो दिन दर खाइन्छ । माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा भए पनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण धेरै महिला घरमै छन् । बुधबार मध्यरातदेखि काठमाडौँ उपत्यकामा निषेधाज्ञा एवं देशका मुख्यमुख्य शहरमा कोरोनाबाट बच्न बन्दाबन्दी जारी गरिएकाले धेरैले कर्मघरमै दर खाएर तीज मनाउँदै छन् ।

तीजको व्रत बस्न सक्नेहरु निराहार हुने भएकाले आज बर्तालुहरु मीठामीठा शक्ति प्राप्तिका लागि आडिलो परिकार दरका रुपमा खाई शुक्रबारको व्रतका लागि पूर्व तयारी गर्छन् । विशेषगरी माइती एवं दाजुभाइले छोरी, चेली एवं दिदीबहिनीलाई बोलाई दर खुवाउने गर्छन् । दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने शास्त्रीय विधान रहेको छ ।

महिलाले वर्षदिनभर आफूलाई परेका दुःख, पिर र मर्कालाई पोख्ने पर्वका रुपमा समेत तीजलाई उपयोग गर्ने गरेका छन् । तीजका अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाले सार्वजनिक गर्छन् । जन्मघरबाट कर्मघरमा गई बस्दा पाएका दुःखमर्कालाई नारीले पोख्ने गरेका छन् ।

बिहीबार दर खाएपछि औपचारिक रुपमा शुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेशको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तर्षिको पूजा गरी तीज समापन हुन्छ ।

यस वर्ष गणेशको उत्पत्ति भएको विश्वास गरिने गणेश चौथी यही भदौ ६ गते र ऋषिपञ्चमी पर्व भदौ ७ गते मनाइने समितिले जनाएको छ । गणेश चौथी प्रातःकालमा तिथि परेका दिन मनाइन्छ । ऋषिपञ्चमी भने मध्याह्नकालमा पञ्चमी परेका दिन मनाउनुपर्ने शास्त्रीय विधि छ ।
तीजको आगमनसँगै नेपाली महिलामा उत्साह जाग्ने गरेको छ । पुराणअनुसार सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर महादेव पति पाउने वरदान पाएकी थिइन् । पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि उनले साथीहरुलाई आफ्नो समस्या सुनाइन् । पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् ।

यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिकाको व्रत लिने प्रचलन शुरु भएको धर्मशास्त्रीय मत रहेको छ ।

तीजका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा लाखौँ महिलाको भीड लाग्ने गरेकामा यस वर्ष कोरोना फैलन थालेपछि धेरै मन्दिर चैतदेखि नै बन्द गरिएको छ । पशुपतिनाथ मन्दिर गत चैत ११ गतेदेखि नै बन्द छ । राजधानीमा निषेधाज्ञासमेत जारी गरिएकाले तीजका बर्तालुले घरमै देवादिदेव महादेवको विधिपूर्वक पूजाराधना गरी यो पर्व मनाउँदैछन् । तीज शुरु भएसँगै रेडियो एवं टेलिभिजनले पनि ‘तीजको रहर आयो बरी लै’ गीत बजाइरहेका छन् । यस वर्ष भने कोरोनाबाट बच्न भीडभाड नगरी घरघरमै परिवारका सदस्यबीच तीज मनाउनुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कमलपोखरी परिसरमा ढकमक्क ज्याकाराण्डा (फोटोफिचर)

काठमाडौँको कमलपोखरी परिसर छेउमा ढकमक्क फुलेको ज्याकाराण्डा फूल । यतिबेला काठमाडौँ उपत्यकाका धेरै

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

गोरखामा भएको मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

गोरखा । पृथ्वीराजमार्गअन्तर्गत पर्ने गोरखा–आँबुखैरेनी सडकखण्डमा शुक्रबार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको

सुर्खेतको बुलबुले तालमा अब मोटरबोट सेवा

    काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा  मोटरबोटको परीक्षण सेवा सुरु भएको