कोरोना संक्रमणबाट नेपालमा थप तीन जनाको मृत्यु, मृतकको संख्या ४८ पुग्यो
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पर्साको वीरगंज बस्ने भारतीय नागरिकको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मुटु र मधुमेहका विरामी ६५ वर्षीय भारतीय नागरिकको आइतबार मृत्यु भएको हो । त्यसैगरी धनुषाको डुमरीयाका ३६ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट आइतबार मृत्यु भएको छ ।
जनकपुरबाट थप उपचारका लागि धरान लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो । त्यस्तै बाराको फेटा गाउँपालिकाका ६० वर्षका पुरुषको कोरोना संक्रमणबाट सोमबार मृत्यु भएको मन्त्रालयले जनाएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । उनी निमोनिया र मिर्गौला पीडित थिए । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ४८ पुगेको मन्त्रालयले जनाएको छ ।