जन्म मिति सच्याएर जागिर खाएका डिएसपीविरुद्ध विशेष अदालतमा मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) रमेशबहादुर सिंहविरुद्ध बिशेष अदालतमा मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनसन्धान आयोगले नागरिकताको जन्म मिति सच्चाएर झुठा विवरण उल्लेख गरी प्रहरी निरीक्षकमा भर्ना भएको ठहर गर्दै मंगलबार सिंहबिरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार इस्पेक्टरको दर्खास्त दिन जिल्ला प्रशासन कार्यालय, बझाङबाट निकालेको नेपाली नागरिकताको प्रमाण–पत्रमा उल्लिखित जन्म मिति सिंहले सच्चाएका थिए । र, जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट झुठो विवरणसहितको प्रतिलिपि निकालेका थिए ।
त्यसैगरी भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारका प्रमुख मालपोत अधिकृत उपसचिव गोविन्द प्रसाद अधिकारीसहित ७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । मालपोत अधिकृत रघुवंश कंडेल, नायव सुब्बाद्वा उद्वव सापकोटा, नारायण प्रसाद पोखरेल, नवराज घिमिरे, गोपाल खड्का र खरिदार दीपक खनाललाई सेवाग्राहीबाट आठ लाख पचास हजार घुसररिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिई अनुसन्धान भइरहेको थियो ।