सरकारविरुद्धको आन्दोलन नियन्त्रण गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई गृह मन्त्रालयको निर्देशन
काठमाडौँ । गृह मन्त्रालयले सार्वजनिक स्थलमा भेला भएर आन्दोलन तथा विरोधका कार्यक्रम रोक्न ७७ वटै जिल्ला प्रशासन कार्यालय र मातहत सुरक्षा निकायहरुलाई निर्देशन दिएको छ । बिहीबार गृह मन्त्रालयले विज्ञप्ति जारी गरी लकडाउन उल्लंघन गर्ने, संक्रमणको जोखिम बढाउने र सामाजिक सद्भाव खलबल्याउने गरी कुनै पनि गतिविधि गर्न नदिन प्रशासन कार्यालय र सुरक्षा निकायलाई निर्देशन दिएको हो ।
काठमाडौं, विराटनगर, पोखरालगायतका सहरी क्षेत्रका सरकार विरोधी आन्दोलन सुरु भएपछि गृह मन्त्रालयले आन्दोलन नियन्त्रण गर्न निर्देशन दिएको हो । मंगलबारदेखि प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्न सुरु भएको आन्दोलन अहिले देशव्यापी बन्दै गएको छ ।