स्वास्थ्य क्षेत्रका लागि ९० अर्ब बजेट बिनियोजन



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७–७८ को बजेट संघीय संसदमा पेश गरेका छन् । बिहीबार संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले समग्र आर्थिक सूचकहरु सकारात्मक रहेको दाबी गरेका छन् । खतिवडाले फागुनसम्म आर्थिक सूचकहरु सकारात्मक रहेको भन्दै कोरोनाका कारण अब चुनौति बढेको बताए । उनले विदेशी मुद्रा सञ्चिति ११ खर्ब ५६ अर्ब पुगेको बताए । त्यसैगरी निर्यात १२.९ प्रतिशतले बढेको बताउँदै खतिवडाले आयात घटेको उल्लेख गरे ।

चालु आर्थिक वर्षमा लगानी बोर्डमार्फत १४ खर्ब ३५ अर्बको लगानी प्रतिवद्धता प्राप्त भएको अर्थमन्त्रीले बताए । बिमामा पहुँच पुग्नेको संख्या ५६ लाखबाट बढेर ७० लाख पुगेको उनले बताए ।

सामाजिक र आर्थिक क्षेत्रको प्रगति उत्साहजनक रहेको भन्दै खतिवडाले विद्यालयमा भर्नादर बढेको दाबी गरे । कुल ग्राहस्थ उत्पादनको अनुमानमा कुल लगानी ५० प्रतिशत हाराहारी रहेको उनले बताए । नेपालीको जीवन बचाउने, अर्थतन्त्रमा आशा देखाउने र समृद्धितर्फ केन्द्रित हुने अर्थमन्त्री खतिवडाको भनाइ छ ।

स्वास्थ्य बजेट
सरकारले काठमाडौं उपत्यकामा तीन सय शैय्याको सरुवारोग अस्पताल बनाउने भएको छ । आर्थिक वर्ष २०७७–७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो घोषणा गरेका गरेका हुन् । त्यस्तै उनले सबै प्रदेशमा दुई सय शैय्याको अस्पताल बनाइने बताए । स्वास्थ्य सेवामा खटिएका स्वास्थ्यकर्मीलाई उत्प्रेरित गर्न प्रोत्साहन भत्ता दिने घोषणासमेत अर्थमन्त्री खतिवडाले गरे ।

उनले स्वास्थ्यकर्मीलाई पाँच लाखको निःशुल्क स्वास्थ्य बिमा गरिने बताए । हरेक प्रदेश राजधानीमा सरुवारोग अस्पताल बनाउने घोषणा गर्दै सरकारले प्रत्येक स्थानीय तहमा १५ बेडसम्मको अस्पताल निर्माणका लागि बजेट विनियोजन गरिएको छ । मन्त्री खतिवडाले कोरोना भाइरसलगायत संक्रामक रोग र अरु रोगसँग लड्दै जनजीवन सामान्य अवस्थामा पुर्याउने उद्देश्य रहेको बताए ।

उनले स्वास्थ्य जोखिमबाट सुरक्षित राख्न स्वास्थ्य क्षेत्रको दायर विस्तार गर्ने, जनशक्ति विस्तार गर्ने, संक्रमण रोकथाम नियन्त्रणका लागि चालिएको कदम बढाउने उद्देश्य सरकारको रहेको प्रष्ट पारे । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई बजेट ९० अर्ब ६९ करोड छ्ट्टाएको छ ।

जेष्ठ नागरिक र रोजगारका लागि बजेट
सरकारले ज्येष्ठ नागरिकलाई दिइँदै आएको सामाजिक सुरक्षा भत्ता निरन्तर रहने जानकारी दिएको छ । आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सामाजिक सुरक्षाका लागि ६७ अर्ब ५० करोड रुपैया विनियोजन गरेको बताए । कोरोनाबाट अर्थतन्त्र आहात बने पनि सामाजिक सुरक्षा भत्तामा कटौती नगरिएको अर्थमन्त्रीले घोषणा गरे । वृद्ध, अशक्त, एकल महिला लगायतले सामाजिक भत्ता पाउनेछन् ।

उनले ज्येष्ठ नागरिकका लागि एकलाख रुपैयाँसम्मको उपचार खर्च सरकारले व्यहोर्ने घोषणा गरे । त्यस्तै ४ लाख विपन्न परिवारले निःशुल्क रुपमा स्वास्थ्य बिमा गराउनेगरी बजेटको व्यवस्था गरेको बताए । गरिब परिचयपत्र वितरण आगामी आर्थिक वर्षभित्रै सम्पन्न गर्ने समेत उनले जानकारी दिए । त्यस्तै उनले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ११ अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गरेको बताए । प्रधानमन्त्री रोजगार कार्यक्रमको दायरा विस्तार गर्दै यस कार्यक्रमबाट दुई लाख रोजगारी सिर्जना गर्ने बताए ।

अर्थमन्त्री खतिवडाले कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि अवलम्बन गरिएको कारण दैनिक जनजीवनमा परेको प्रतिकूल प्रभावलाई सहज तुल्याउन सरकारले ल्याएको तत्काल राहत कार्यक्रमलाई संक्रमण जोखिम रहँदासम्म निरन्तरता दिने उनले बताए । घरेलु साना तथा मझौला उद्यम तथा कोरोना प्रभावित पर्यटन व्यवसायका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालनका लागि ५ प्रतिशत ब्याजमा कर्जा उपलब्ध गराउन ५० अर्बको छुट्टै कोष खडा गर्ने व्यवस्था गरेको उनले जानकारी दिए । राष्ट्र बैंकमार्फत सञ्चालन हुने यो कोषमा सरकार र सरकारी स्वामित्वका सार्वजनिक संस्थान र दातृनिकायबाट प्राप्त हुने रकम रहने अर्थमन्त्री खतिवडाले बताए ।

बजेटमा कृषि
सरकारले कृषि वाली तथा पशुपक्षी बीमाको दायरा थप विस्तार गरि जोखिम न्यूनिकरण गर्न बीमा प्रिमियम अनुदान रकममा बृद्धि गरेको छ । आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बाली बीमा गर्दा प्रिमियम बापत कृषकले तिर्नुपर्ने रकम बाली उत्पादन भए पछि तिर्ने सुविधा उपलब्ध गराइने जानकारी दिए । गत आर्थिक वर्ष बाली तथा पशुपंछी विमा कार्यक्रम अन्तर्गत लाग्ने विमा शुल्कको ७५ प्रतिशत अनुदान दिने व्यवस्था गरिएको थियो ।

आगामी आर्थिक वर्षमा यसको दायरा थप गरिएको खतिवडाले बताए । उनले कृषि अनुदान पुनरावलोकन गरी संघ प्रदेश र स्थानीय तहमा दोहोरो नपर्ने गरी दिने व्यवस्था गरेको बताए । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले उखु उत्पादकलाई अनुदान दिन ९५ करोड बजेट छुट्याइएको जानकारी दिए ।

त्यस्तै सरकारले फलफूलका विरुवा उत्पादन गर्न १ करोड ५ लाख, सबै स्थानीय तहमा एक कृषि र एक पशु प्राविधिक व्यवस्था गर्न ५० करोड बजेट छुट्याएको छ । अर्थमन्त्री खतिवडाले ३ सय स्थानीय तहमा भूमी बैंक स्थापना गरिने बताउनुभयो । भूमि बैंकमा सेयर लगानी गर्न ५० करोड बजेट विनियोजन गरिएको उनले बताए ।

सरकारले महाकाली सिँचाइ आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा सूचीकृत गर्ने जनाएको छ । यस आयोजनालाई सरकारले आगामी आगामी आर्थिक वर्षमा १० अर्ब २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यस्तै सुनकोशी मरिन सिँचाइ आयोजनाका लागि २ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रियसभा उपाध्यक्ष अर्याललले दिइन् पदबाट राजीनामा

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् । उनले बिहीबार

निराशा चिर्ने र भरोसा जगाउने चुनौती छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा बजेट मागिरहने तर पुँजीगत

राप्रपाले इलाम-२ मा लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इलाम क्षेत्र नम्बर २ मा लक्ष्मी

अध्यक्ष भनेपछि भगवान्, भगवान् चाहिँ प्रश्नभन्दा माथिः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ भनिएका पार्टीहरू प्रश्नभन्दा माथि रहन