नेपालगञ्जका २१ जना कोरोना संक्रमित निको भएर घर फिर्ता
नेपालगञ्ज । नेपालगञ्जका २१ जना कोरोना संक्रमित निको भएर शुक्रवार घर फर्किएका छन् । बाँकेको खजुरा गाउँपालिकास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचारत उनीहरुको लगातार दोस्रो रिपोर्ट पनि नगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो । डिस्चार्ज हुनेहरुमा ७ वर्षीया बालिकादेखि ६० वर्ष उमेरसम्मका छन् ।
कोरोनालाई पराजित गर्ने २१ जनालाई अस्पतालको हाता भित्र भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापालगायतका स्वास्थ्यकर्मीहरुले फुलको गुच्छा दिएर विदाई गरेका थिए । उनीहरुलाई अझैपनि केही दिन घरमा गएर एकान्तवासनै बस्न आग्रह गरिएको छ । देशमै पहिलोपटक एकै पटक ठूलो संख्यामा कोरोना भाइरस पोजेटिभ निको भएर घर फर्किएका हुन् ।
अस्पतालमा रहेका नेपालगञ्जका २५ जना मध्ये ३ जनाको रिपोर्ट पोजेभिटनै आएको र एकजनाको समय नपुगेकोले ४ जना अझै एक साता अस्पतालमा रहने र त्यसपछि परीक्षण गरेर नगेटिभ आएमा घर पठाइने अस्पतालले जनाएको छ ।
सो अस्पतालमा अब सात जना उपचाररत छन् । बाँकेमा गत वैशाख १९ गते पहिलोपटक नेपालगञ्ज उपमहानगरपालिकाका ६० वर्षीय बृद्धमा कोरोना पोजेटिभ पाइएको थियो । त्यसपछि उनको सम्पर्कमा आएका थप २४ जनामा संक्रमण देखिएको थियो ।