यस्तो छ‘कोरोना भाइरस राहत वितरण मापदण्ड’ कसले पाउँछन् राहत ?



काठमाडौँ । ‘कोरोना भाइरस (कोभिड–१९) सम्वन्धि राहतवितरण मापदण्ड–२०७६’ स्वीकृत गर्दै काठमाडौँ महानगरपालिकाले ४३ औं कार्यपालिका बैठक सम्पन्न गरेको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यको अध्यक्षतामा सोमबार राष्ट्रिय सभा गृहमा बसेको बिशेष बैठकले यो मापदण्ड स्वीकृत गरेको हो ।

कोरोना भाइरसको संक्रमणलाई फैलन नदिन र यसको रोकथाम– नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउनबाट अत्यावश्यक सेवा बाहेक सबै बन्द गरेको, मानिसहरुलाई घर बाहिर निस्कन रोक लगाइएको अवस्थामा महामारी नियन्त्रणका कामलाई मानवीय संवेदनामा आधारित बनाउन यसप्रकारको निर्णय गरिएको प्रमुख शाक्यको भनाइ छ । काठमाडौँ महानगरपालिका भित्र वसोवास गर्दै आएका असहाय, अति विपन्न र दैनिक ज्यालादारी गर्ने व्यक्तिहरु यसबेला खाना, खाजा नपाएर समस्यामा पर्नुभएको छ । यस्ता बर्गको पहिचान गरेर सबैलाई समान प्रकारको राहत उपलब्ध गराउन यस्तो मापदण्ड पारित गरिएको हो, प्रमुख शाक्यको भनाइ छ ।

बैठकले पारित गरेको मापदण्डअनुसार अभिभावक नभएका, आफ्नो आय श्रोत नभएका, अनाथ आश्रम, बृद्धाश्रम, संरक्षण गृह, मन्दिर गुम्बा, मस्जिद जस्ता आश्रम स्थलमा रहेका अरुको सहयोग एवं सहारामा बाँचेका व्यक्तिहरु असहाय हुन् । आम्दानीको कुनै स्थायी श्रोत नभएका, दैनिकी गुजारा गर्न धौधौ भएका र सम्वन्धित वडाले अति विपन्न भनी प्रमाणित गरेका व्यक्ति वा परिवारलाई अति बिपन्न परिवारमा राखिएको छ । त्यसैगरी, संगठित संस्थामा काम गर्नेबाहेक काठमाडौँ महानगरमा विगतदेखि दैनिक रुपमा ज्याला मजदुरी गर्दै आएका काठमाडौँमा घर–जग्गा नभएका भरियालगायतलाई दैनिक ज्यालादारीमा काम गर्ने व्यक्ति भनी मापदण्डले उल्लेख गरेको छ ।

हालै विदेश भ्रमण गरी महानगरपालिकामा बस्दै आएका व्यक्तिहरुको विवरण संकलन गर्ने कामलाई वडाले यस अघि नै थालिसकेको छन् । यसरी गरिने बिववरण संकलन कार्यलाई एकरुपता दिन बैठकले ढाँचा उपलब्ध गराएको छ । ‘महानगरले गर्ने कामसँगै काठमाडौं उपत्यकामा भएका कामलाई एउटै मापदण्ड तथा समान महत्वका साथ अघि बढाउन जरुरी छ ।,’ प्रमुख शाक्यले भने, — ‘अहिले मानव स्वास्थ्यको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर बाँकी कामलाई क्रमशः सम्पादन गर्दै जानु पर्ने बेला आएको छ । यो जनप्रतिनिधिको नेतृत्व क्षमता देखाउने बेला पनि हो ।’

‘लकडाउनपछि अहिले खाद्यान्न, ग्याँसलगायतका सामाग्रीको अभाव हुने हो कि भन्ने धेरैमा आशंका उत्पन्न भएको छ,’ प्रमुख शाक्यले भन्नुभयो, ‘आजको बैठकले यस्तो समस्यालाई समेत हल गर्न र भीडभाड कम गराउन सुरक्षाकर्मी, जनप्रतिनिधिलगायतको सहयोगमा घर–घरमा खाद्यान्न पु¥याउने, आपूर्ति ब्यवस्थालाई सहज बनाउन सम्वन्धित निकायसँग छलफल गरी अघि बढ्ने पनि बैठकले निर्णय गरेको छ ।’

बैठकले पशुपंक्षी, चराचुरुङ्गीलगायतको बाँच्न पाउने अधिकार सुनिश्चित गर्नका लागि वडामा पठाइएको रकमबाट खर्च गर्ने गरी उनीहरुलाई आहाराको व्यवस्था गर्ने निर्णय गरेको छ ।’ प्रमुख शाक्यले भने, ‘राहत वितरणलगायतका लागि ठूला वडालाई चार, मझौला वडालाई तीन र साना वडालाई थप निकासा दिएका छौँ । आवश्यक पर्यो भने पुनः थप गर्ने निर्णय भएको छ ।’

बैठकले ५ सय जनासम्मलाई राख्न मिल्ने ‘क्वारेन्टाइन’को व्यवस्थापनका लागि ठाउँ खोजी गर्ने निर्णय गरेको छ । कोरोनाको संक्रमणमाथि निगरानी बढाउन हिजो सार्वजनिक गरिएको प्रबिधिमा आधारित प्रणालीलाई प्रभावकारी बनाउने बैठकले गरेको अर्को निर्णय हो ।
कार्यपालिका बैठकमा अहिलेको परिस्थितिमा वडा कार्यालयले सामना गर्नुपरिरहेका समस्याका बारेमा कार्यपालिका सदस्यहरुले अनुभव बाँड्नु भएको थियो ।

बैङ्कि क्षेत्र बन्द भएपछि पैसा भए पनि खाद्यान्न नपाएको, धारामा नियमित पानी पठाउन नसकिएको, ग्याँस तिवरण प्रणाली नियमन गर्ने संयन्त्र आवश्यक भएको, भित्री सहरी क्षेत्रमा चहलपहल कम गराउन थप कडाइ गर्नुपर्ने सुझाव आएका थिए । बैठकमा वडा ३ का अध्यक्ष दीपक के. सी. ४ का अध्यक्ष मोहन विष्ट, ७ का अध्यक्ष शुद्धकुमार डंगोल, ११ का अध्यक्ष हीरालाल तण्डुकार, १३ का अध्यक्ष धु्रबनारायण मानन्धर, १६ का अध्यक्ष मुकुन्द रिजाल, १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जन, २५ का अध्यक्ष नीलकाजी शाक्य र कार्यपालिका सदस्य मनोज लामाले धारणा राखेका थिए ।

यस क्रममा नियमित डाइलोसिस गराउनु पर्ने मृगौलाका बिरामीले नियमित डाइलोसिस गर्न नपाएर समस्या हुन थालेको, खाद्यान्न पसल सञ्चालन गर्ने बिषयमा स्थानीय प्रशासन र जनप्रतिनिधिले गर्न खोजेको काममा समन्वय नभएको जस्ता बिषयमा अवगत गराउँदै यस्ता क्षेत्रका काममा पनि एकरुपता कायम गराउन प्रयत्न गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यपालिका सदस्यबाट प्राप्त सुझाव र सुधारको अपेक्षालाई सम्बोेधन गर्दै मेयर शाक्यले जटिल परिस्थितिको सामना गर्दा साना समस्यालाई धेरै महत्व नदिन र सामुहिक हितमा ध्यान दिन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हाम्रो नेपाली पार्टीले मन्त्री बज्राचार्यलाई कारवाही गर्ने

हेटौंडा । हाम्रो नेपाली पार्टी (हानेपा)ले बागमती प्रदेशका नवनियुक्त मन्त्री शैलेन्द्रमान बज्राचार्यलाई कारबाही

डोटीमा कुलो खन्न गएकी महिलाको जलेर मृत्यु

डोटी । वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ

प्रधानमन्त्रीज्यूको सुशासनको हुटहुटी यसले पनि पुष्टि हुने नै छ

शारदाप्रसाद त्रिताल । महालेखा परीक्षकलगायत केही संवैधानिक पदाधिकारीको नियुक्तिको लागि सिफारिस गर्न १९

दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डका तीन पुल निर्माणको अन्तिम चरणमा

खोटाङ  । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने तीन वटा खोलामा निर्माणाधीन ‘मोटरेबल’ पक्की