कोरोनाभाइरसमा भएका परिवर्तनले खोप विकासमा कस्तो असर पर्ला ?



संसारमा पहिलोपटक एकैदिन अढाइ लाख मानिस सङ्क्रमित भएको कीर्तिमानले यो भाइरस चीनमा देखा परेयता कसरी निरन्तर फैलिरहेको छ भन्ने देखाउँछ । अहिले संसारभर फैलिरहेको कोरोनाभाइरस चीनमा देखा परेको कोरोनाभाइरस जस्तै स्वरूपको भने होइन । कोभिड १९ रोग गराउने सार्स कोभ टु नामक यो कोरोनाभाइरस फैलँदै गर्दा आफैँ पनि स्वरूप परिवर्तन गर्दैछ । वैज्ञानिकहरूले उक्त भाइरसको जीनमा हजारौँ थरी म्युटेसन वा परिवर्तनहरू भएको पाएका छन् तर त्यसमध्ये हालसम्म एउटा परिवर्तनले चाहिँ भाइरसको व्यवहार नै बदलिदिएको ठानिएको छ ।

परिवर्तनको प्रभाव कस्तो?
यो परिवर्तनबारे महत्त्वपूर्ण प्रश्न यसले भाइरसलाई थप सङ्क्रामक वा थप घातक बनाएको छ कि छैन भन्ने हो । र यो परिवर्तनले भविष्यमा बनाइने खोपको सफलतामा प्रभाव पार्छ कि पार्दैन ? अन्य फ्लुजस्ता भाइरसको तुलनामा कोरोनाभाइरसमा वास्तवमा सुस्त गतिमै परिवर्तन भइरहेको बताइन्छ । मानव जनसङ्ख्यामा यसप्रति न्यूनस्तरको प्राकृतिक प्रतिरोधात्मक क्षमता, खोपको अभाव तथा थोरै प्रभावकारी उपचारको उपलब्धताका कारण भाइरसलाई खासै परिवर्तित हुनुपर्ने खाँचो पनि परेको छैन । अहिले महत्वपूर्ण देखापरेको म्युटेसन जसलाई D614G नाम दिइएको छ त्यसले भाइरसको स्पाइक वा बाहिरी तीखो भागमा रहेको प्रोटिनमा परिवर्तन गरेको छ। यही भागको प्रयोग गरेर भाइरस मानिसको कोषभित्र पस्छ । यो परिवर्तन वुहानमा प्रकोप भएको केही समयपछि इटलीमा सङ्क्रमण फैलिरहेको समयमा देखा पर्न थालेको हो । अहिले विश्वमा फैलिएको कोरोनाभाइरसको ९७ प्रतिशत यही परिवर्तित स्वरूपको पाइएको छ ।
विकासक्रमको प्रभाव
हावी भएको पाइएको यो परिवर्तित स्वरूपले भाइरसलाई कुनै फाइदा पुर्याएको छ वा यो केवल सम्भावनाको खेलमात्र हो भन्ने प्रश्न उठेको छ । भाइरसहरूले कुनै महान् योजना बनाउँदैनन् । ती निरन्तर स्वरूप परिवर्तन गरिरहन्छन् । कुनै परिवर्तनले तिनलाई आफ्नो सङ्ख्या बढाउन मद्दत पुग्छ भने कुनैले पुग्दैन। अन्य कतिपय परिवर्तन तटस्थ प्रकारका हुन्छ । जुन परिवर्तन अहिले व्यापक बनेको छ त्यो हावी हुनुको कारण शायद त्यो प्रकोपको सुरुमै देखापरेकाले हुनसक्छ ।

युनिभर्सिटी कलेज लण्डनकी डा लुसी भान डोर्प यस्तै ठान्छिन् । तर बढ्दो सङ्ख्याका भाइरसविज्ञहरूले भने यो परिवर्तनमार्फत् भाइरसलाई उसको विकासक्रममा फाइदा पुगेकोले यही हावी भएको ठान्छन् । तीमध्ये एक हुन् युनिभर्सिटी अफ शेफिल्डका डा. थुसन डि सिल्भा । उनका अनुसार यो परिवर्तित स्वरूपको भाइरस थप सङ्क्रामक भएको पर्याप्त प्रमाण नभएपनि यो तटस्थ भने नभएको बताउँछन् । प्रयोगशालामा गरिएका परीक्षणमा यो परिवर्तित भाइरस मानवकोषमा पस्न ज्यादा सक्षम भएको पाइएको फ्लोरिडाका स्क्रिप्स युनिभर्सिटीका प्राध्यापकद्वय हेर्युन चो तथा माइकल फार्जानले बताए । यसको स्पाइक प्रोटिनमा भएको परिवर्तनका कारण यो मानव कोषमा थप सहजताका साथ टाँसिन र थप प्रभावकारी रूपमा काम गर्न सक्ने देखिएको छ ।

न्यूयोर्क युनिभर्सिटीका जिनोम टेक्नोलोजी सेन्टरका डा. नेभिल सन्जनाको टोलीले उनको प्रयोगशालामा परिवर्तित स्वरूपको भाइरस र वुहानमा देखा परेको सुरुको प्रकारको भाइरसको तुलना गरे । परिणामले पुरानोभन्दा परिवर्तित भाइरस थप सङ्क्रामक पाइएको उनले बताए । प्रयोगशाला बाहिर यो परिवर्तित भाइरस थप सङ्क्रामक रहेको केही अप्रत्यक्ष प्रमाण मिलेका छन् । दुईवटा अध्ययनमा यस किसिमको भाइरसले सङ्क्रमित बिरामीहरूको स्वाब नमुनामा धेरै परिमाणमा भाइरस रहेको भेटियो। अर्थात्, उनीहरूले अरूलाई सार्ने सम्भावना पनि बढी छ । तर ती मानिस तुलनात्मक धेरै बिरामी भएको वा लामो समय अस्पतालमा बस्नु परेको प्रमाण भने पाइएन । सामान्यतया, धेरै सङ्क्रामक हुनुको अर्थ धेरै घातक हुनु होइन । वास्तवमा तिनको विपरीत सम्बन्ध हुने गर्छ । त्यसैले यो कोरोनाभाइरसको परिवर्तनले मानिसहरूलाई धेरै वा थोरै बिरामी गराइरहेको बारे प्रमाण छैन । यस्ता कुरा पत्ता लगाउन नियन्त्रित ट्रायल अध्ययन गर्न जरुरी हुन्छ ।

खोप विकासमा कस्तो असर?
अहिले समग्रमा हेर्दा नयाँ परिवर्तित भाइरस नै जताततै पाइएको छ। अर्थात् कोरोनाभाइरसको D614G स्वरूप नै अहिले महामारीको कारक बनिरहेको छ । के यसले हाल भइरहेको खोप विकासमा असर पार्ला त ? ढुक्क बनाउने विषय के छ भने प्रायः वैज्ञानिकहरूले खोप विकास गर्ने क्रममा भाइरसको स्पाइकको अर्कै भागमा (न कि परिवर्तित देखिएको भागको) ध्यान दिइरहेका छन् । साथै परिवर्तित भाइरस पनि एन्टीबडीप्रति उत्तिकै सम्वेदनशील पाइएको छ । ती एन्टीबडीले या त खोपमार्फत् या त रोग लागेका कारण शरीरलाई प्रतिरोधी क्षमता दिलाउँछ । जेहोस् भाइरसको स्वरूपमा भइरहेको वा हुनसक्ने परिवर्तनप्रति भने वैज्ञानिकहरू चनाखो छन् ।

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लेबनानको सीमामा हिजबुल्लाह र इजरायली सेनाबीच झडप

बेरुत । हिजबुल्लाहले इजरायली सेनासँग लेबनानको सीमा क्षेत्रमा जारी झडपमा सक्रिय रहेको शनिबार

इरानको तेल साइटमा आक्रमण नगर्न इजरायललाई राष्ट्रपति बाइडेनको चेतावनी

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई इरानको तेल साइटहरुमा आक्रमण नगर्न सल्लाह

चीनले शेन्झाउ–१९ नामक नयाँ चालक दलसहितको अन्तरिक्ष यान प्रक्षेपण गर्ने

बेइजिङ । चीनले अक्टोबरको अन्त्यमा शेन्झाउ–१९ चालक दलसहितको अन्तरिक्ष यान प्रक्षेपण गर्ने र

मङ्गल ग्रहबाट पृथ्वीमा सङ्केत पठाउँदै नासाको ‘साइकी मिशन’

लस एन्जलस । नासाको ‘साइकी मिसन’ले मङ्गल ग्रहको कक्षबाट पृथ्वीमा सङ्केत पठाएको छ