‘वेमौसमी बाजाको कर्कस धुन कसैलाई प्रिय हुँदैन’
शंकर पोखरेल ।
पार्टी एकताको चुड्न लागेको डोरी अध्यक्षद्वयले जोड्ने र त्यसमा अन्य सबै कमरेडहरुको सकारात्मक साथसहयोग रहने विश्वासका साथ म आजै कार्यक्षेत्रमा(वुटवल) फर्किएको छु । पार्टी एकतालाई दुर्घटनामा पर्नवाट जोगाउदै सम्वादको प्रकृयालाई अघि वढाउन भूमिका खेल्नुहुने सबै धन्यवादको पात्र हुनुहुन्छ ।
पार्टी एकताले नै आजको शक्ति आर्जन भएको हो र पार्टी एकताको रक्षावाट नै उज्यालो भविष्य सुनिश्चित हुन्छ । पार्टी एकताको रक्षाका लागि एकताको मुलमर्म र भावनाको अनुशरण गरौ। निषेध र उपेक्षाले पार्टी एकताको रक्षा हुन सक्दैन ।
नेपालभारत बीचको सिमाविवाद समाधानगर्ने उद्देश्यकासाथ नेपालका सबै भूभाग समेटिएको नक्सा प्रकाशन पछि मुलुक सम्वेदनशील मोडमा उभिएको छ । सबै राजनीतिक दलको समर्थनमा संविधानको अनुसूचीमा त्यसलाई समावेश गरिएको छ ।
यो ऐतिहासिक कदम नेपाली स्वाभिमान र अखण्डताको रक्षाको राष्ट्रिय संकल्प हो । छिमेकी भारत त्यसवाट आक्रोसित बनेका वेलामा त्यसको नेतृत्वगर्ने प्रधानमन्त्रीलाई सिंगो राष्ट्र एकभएर साथ दिनेवेलामा पार्टीमै विवाद देखिनु राम्रो होइन । यसप्रति सबैको ध्यान अवश्य गएको हुनुपर्छ ।
यतिवेला जनता कोभिड १९ र वाढी पहिरोको त्रास र पीडामा छन् । उनीहरुको सेबागर्नु हामी सबैको कर्तव्य हो । अध्यक्षद्वयले परिस्थितिको गंभीरतालाई मननगरी चालु वैठकलाई एक साताका लागि स्थगन गर्नुभएको छ । यसलाई सदुपयोग गर्दै धर्ना,जुलुस र वादप्रतिवादका सबैखाले गतिविधिहरु स्थगन गरेर पीडमा रहेका जनताको सेवामा जुटौ ।
वेमौसमी बाजाको कर्कस धुन कसैलाई प्रिय हुँदैन ।