कोरोना संक्रमणबाट पहिलो मृतकका शिशुसहित परिवारका सदस्य अस्पतालबाट डिस्चार्ज
बनेपा । कोरोना भाइरसको सङक्रमणबाट नेपालमा पहिलो मृत्यु भएकी महिलाको परिवारका सदस्य अस्पतालबाट डिस्चार्ज भएका छन् । धुलिखेल सामुदायिक अस्पतालमा उपचारत उनीहरूको अवस्था सामान्य रहेपछि अस्पतालले उनीहरुलाई शुक्रबार डिस्चार्ज गरेको हो ।
धुलिखेल अस्पतालका प्रशासकीय अधिकृत डा. रमेश माकजूले मृतकको शिशु, श्रीमान र सासूलाई डिस्चार्ज गरिएको जानकारी दिएका छन् । नवजात शिशुमा जण्डिस भएपनि बाल रोग विशेषज्ञबाट उपचार गराएपछि निको भएको माकजूले जानकारी दिए ।
महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएपछि उनीहरूको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएकोमा सबै जनाको रिपोर्ट नेगेटिभ आएको थियो । पछि पुनः बालकको स्वाब परीक्षण गरिएको र त्यसमा पनि रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको धुलिखेल अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सिन्धुपलाञ्चोकको बाहृबिसे नगरपालिकाकी महिलाको उपचारका क्रममा जेठ १ गते मृत्यु भएको थियो । सुत्केरी महिलाको मृत्युपश्चात कोरोना परीक्षण गर्दा उनीमा कोरोना भाइरसको पोजेटिभ देखिएको थियो ।
मृत्युपछि परिवारलाई आसोलेसन वार्डमा राखेर उपचार गराएको थियो भने मृतकको उपचारमा संलग्न चिकित्सक, नर्स, पारामेडिकलगायत गार्डलाई समेत क्वारेन्टिनमा राखिएको थियो ।