थप एक जनालाई कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या १०२ पुग्यो
काठमाडौं । नेपालमा थप १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा थप एकजनामा कोरोना पोजेटिभ देखिएको हो । नयाँ थपिएका कोरोना संक्रमितमा १६ वर्षीय पुरुष रहेको डा देवकोटाले जानकारी दिए ।
उनका अनुसार हाल नेपालमा कोरोना संक्रमितको संख्या १ सय २ पुगेको छ । जसमा ७४ जना पुरुष छन् भने २८ जना महिला रहेका छन् । डा विकास देवकोटाका अनुसार कुल संक्रमित मध्ये कोरोना निको हुनेको संख्या ३० जना पुगेको छ । उनले कोशी अस्पतालमा उपचारत ८ जना निको भएर शुक्रबार डिस्चार्ज भएपछि नेपालमा कोरोना निको हुनेको संख्या ३० पुगेको जानकारी दिए ।
देवकोटाका अनुसार पीसीआर विधिबाट हालसम्म १५ हजार ४ सय ९२ वटा नमूना परीक्षण गरिएको छ । यस्तै आरडीटी विधिबाट ५४ हजार ५ सय ३१ वटा नमूना परीक्षण भएको छ ।