अर्को जुनी-चरी जीवन



अर्को जुनी – चरी जीवन

जीवनदेखि थकित हुँदा प्रश्न आउँछ –
पुनर्जीवन पाए के हुने ?
अनि सोच्दै नसोची उत्तर निस्कन्छ –

चरी बन्न मन छ
जहाँ मन लाग्यो त्यही पुग्न मन छ
खुला आकाशमा पँखेटा फैलाएर
स्वतन्त्र र स्वच्छन्द जीवन बाँच्न मन छ

अधूरो जीवनको अनुभूतिलाई
चरी भएर पूरा गर्न मन छ
त्यसैले, अर्को जुनी त म चरी भएर जन्मिने …

आकाशमा काँवा खाँदै
पँखेटा फैलाएर उड्ने
चरी जीवनको आकांक्षामा रमाउँदै
सारा संसार नियाल्ने कल्पनामा
आफूले पुनर्जन्ममा पाएको चरी जीवनतर्फ नियाल्छु –

गुँडमा बसेको बेला
मलसाप्रो, सर्प र बाजले खाइदेला भन्ने पीर
हुरी चल्दा – गुँड उडाइदेला भन्ने पीर
चट्याङ पर्दा – जीवन सिद्धिन्छ भन्ने पीर

आँधी आउँदा – बसेको रुख ढलाइदिने पीर
वर्षा आउँदा – रुखको डाली भाँचिदिने पीर …
आकाशमा उडिरहँदा –

मानव शिकारीको गुलेलीले
कतिबेला शरीर छेडिने हो
पत्तो नहुने जीन्दगी
शौखिन शिकारीको बन्दुकबाट गोली निस्केर

कतिबेला शरीर उडाउने हो
थाहै नहुने जीन्दगी …
प्रार्थना गरेर पाएको पुनर्जन्म हेर्दा –

सोचेजस्तो त रैनछ चरी जीवन
न्यास्रो लाग्दै गएपछि
अब के गर्ने त भनी सोच्दा
झल्याँस्स पूर्वजन्मको स्मृति भयो –

एक्लै छाडेर गएकी संगिनी खोज्दै उडिरहेँ
उनी त फेरि पूर्वजन्मको दोष मेटाउन
मानव जीवनमै आएकी रहिछन्
म उनकै आँगनीको रुखमा बसेर हेर्दछु –

उनले आँगनीमा बिस्कुन सुकाउँदै
अनाज केलाएको नियाल्छु
उनले पानी थाप्ने धारोमै पानी पिउँछु
फलफूलको दाना चुच्चोमा लगी

उनका बगैँचा र खेतबारी सजाउँछु
उनी हिँड्ने बाटोका काँडालाई
चुच्चोले तोडेर फाल्छु
उनका मार्गका विषालु बिच्छी र सर्पलाई

चुच्चोले ठुँगेर धपाइदिन्छु …
आफ्नो आँगनीको अनाज खान आयो ठानेर
उनले ढुंगा बर्साइदिन्छिन उनी –
त्यही ढुंगाले पँखेटामा लागेको चोटमा

चुच्चोले मुसार्दै घाऊ ओभाउँदछु …
रुखका फलफूल खाला कि भनी
झटारो बर्साएर घाइते बनाउँछिन् उनी …

पूर्वजन्मकै जस्तो स्वभावकी छिन् उनी –
म लुकेर आवाजले संगीत बोल्दा
उमंगित हुन्छिन् उनी
तर म जब प्रकट हुन्छु
तब ढुंगा बर्साउन थाल्छिन् उनी …

सुनसान रातमा
उनको झ्यालबाट चियाउँछु
उनी आनन्दित निदाएको देखेपछि
रुखको डालीमा उनीलाई सम्झेरै टोलाउँछु …

प्रेमी बन्नु मेरो भाग्य थियो
प्रेम नपाउनु पनि मेरो नै भाग्य
संसार डुल्ने पँखेटा भएर पनि

उनकै छेउछाउ रहिरहनु
मेरो जीवनको नियति थियो …
अब फेरि अर्को जुनीमा –

भो म त चरी नहुने
भो म त आकाशमा नउड्ने
प्रस्थान गरिसकेको
अनन्त आकाशमै बिलिन हुने …

डा. प्रदीप ढकाल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वसुन्धराश्री र मानश्री पुरस्कार डा. थापा र शाहलाई अर्पण

  काठमाडौँ । विसं २०८१ को वसुन्धराश्री र मानश्री  पुरस्कार वरिष्ठ कूटनीतिज्ञद्वय डा

पौडेल र मालीलाई ‘स्रष्टा चैत्र ३०’ सम्मान

  काठमाडौँ  । लोकतान्त्रिक जनआन्दोलनमा साहित्यिक क्षेत्रको योगदानलाई स्मरण गर्दै ‘स्रष्टा चैत्र ३०’

हामीले आफूलाई चौकीदारको भन्दा माथिल्लो हैसियत नै देखेनौं

डा. युवराज संगौला । २०४२ साल । भारतको पटना विश्वविद्यालयको कानुन संकायमा हामी

प्रहरी नायब निरीक्षकको जागिर छोडेर गाउँमै दुग्ध व्यवसाय सुरु गरेका वियश राई

सोलुखुम्बु । ‘सीप र जाँगर भए कसैसँग हात फिँजाउन पर्दैन’ नेपाली यस भनाइलाई