बलात्कारालय ?



डा. प्रदीप ढकाल ।

मानव सभ्यताको कोठरीमा बसी
आफ्ना अंग बेच्न विवश चेलीहरू
अनि यिनै चेलीहरूको रक्षार्थ खटिएकी
एक मित्र सोध्छिन् –
चेलीहरूको भोजनका लागि
अलिकति चामल छ कि ?
उपचारका लागि औषधी छ कि ?

उनको प्रश्न र मेरो जवाफ दुवैले
असह्य पीडा दिन्छन् …..

नियालिरहेछु –

मेसोपोटामिया, एनातोलिया, एथेन्स,
हेनान, बेनिन र पर्सियाका दरबार
माया र गंगा सभ्यताका प्राचीन द्वार होउन् वा
अमेरिका, एशिया, युरोप र अफ्रिकाका
आधुनिक युगका आँगन –
यत्रतत्र सर्बत्र त्रासदीमा बाँचिरहेका अनुहारहरू
शासक र यौनपिपासुका वासनायुक्त नजरबाट घाइते हृदयहरू
चिथोरिएका अनुहारका घाउहरू
शरीरका नीलडामहरू लिएर
कहराइरहेछन् बिक्षिप्त नारीहरू
हेरिरहेछन् आशाका नजरले
कुनै कालमा मानव सभ्यता व्युँझिन्छ कि ?

समाजको आँगनमा बलात्कृत सानी चेली
अस्पतालको शैयाबाट कहराउँदै
निन्याउरो अनुहार लगाएर सोध्छिन् –
के यही हो सभ्यता ?
के यही हो मानव चेतनाको उच्चतम विकास ?

नाजवाफ म घोरिन्छु –
सभ्य र सुसंस्कृत भनेको समाज
खुला बलात्कारालय बनेको छ
अर्कोतर्फ वेश्यालय नाम दिएर
यौनको व्यापार गरिरहेको छ …
सृष्टिका करोडौँ प्राणीमध्ये
आफ्ना प्राकृतिक अङ्गकै व्यापार गर्ने
एकमात्र प्राणी बन्दै
निकृष्ट व्यापारी बनेको छ मानव ….

एक निर्दोष नारीलाई आन्तरिक रूपमा मारेर
श्वास मात्र जिउँदो राखी
मुर्दा शरीरमा खेल्नका लागि
आफूलाई सभ्य नै छु भन्ने देखाउन
दैत्य गुणको पुरुषप्रवृत्तिले दिएको
उपमा मात्र हो वेश्यालय ….

एउटी विवश नारीमाथि,
उनको सम्पूर्ण मानवीय सम्मानमाथि,
म हुँ भन्ने भावनामाथि

यही सृष्टीको एक प्राणी हुँ भन्ने बोधमाथि
बलात्कार गरेर
स्वयंले स्वयंलाई नीच प्राणीको रूपमा
नामाकरण नगरी
स्वयं भ्रममा रहिरहनका लागि
सभ्यताको जामा पहिराएर
बेश्यालय नामाकरण गरेको हो
यथार्थमा त त्यो बलात्कारालय हो ….

सम्पूर्ण बलात्कारालयहरू
मानव सभ्यताका कलंक हुन्
चेतनायुक्त समाजकै सदस्य हुँ भन्ने
लाज पनि अधुरो छ
सभ्यताको हिमायती हुँ भन्ने
गर्व पनि बाँकी छैन
मानवताले भरिएको सभ्य मानव हुँ भन्ने
भाव पनि जीवन्त छैन
त्यसैले
भत्काऊ सम्पूर्ण बलात्कारालयहरू
अनि चिरिदेऊ बलात्कारीका अङ्गहरू
ती धर्तीमा ठडिनका लागि लायक छैनन्
गाडिदेऊ चिहानमा
जलाइदेऊ मसानघाटमा …

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वसुन्धराश्री र मानश्री पुरस्कार डा. थापा र शाहलाई अर्पण

  काठमाडौँ । विसं २०८१ को वसुन्धराश्री र मानश्री  पुरस्कार वरिष्ठ कूटनीतिज्ञद्वय डा

पौडेल र मालीलाई ‘स्रष्टा चैत्र ३०’ सम्मान

  काठमाडौँ  । लोकतान्त्रिक जनआन्दोलनमा साहित्यिक क्षेत्रको योगदानलाई स्मरण गर्दै ‘स्रष्टा चैत्र ३०’

कथाः ब्रेकअप

अन्जु शर्मा । लोकसेवा पास भएर म पहिलो नियुक्ति पत्र बोकेर देशको सुदूरपूर्वी

‘बौहिनिया’ लिएर आए साहित्यकार पोखरेल

काठमाडौं । गुणराज पोखरेल नाटककारको परिचय लिएर साहित्य आकाशमा उदाएका छन् । साहित्य