सिंगापुरमा कोरोना महामारीका बेला बच्चा जन्माउन प्रोत्साहित गर्न पैसा दिइने



कोरोनाभाइरस महामारी फैलिएको भए पनि मानिसहरूलाई बच्चा जन्माउन प्रोत्साहित गर्न सिङ्गापुर सरकारले एक पटकका लागि भत्ता दिने प्रस्ताव गरेको छ ।

आर्थिक सङ्घर्ष गर्नुपर्ने र जागिर गुमाउने नागरिकहरूले सन्तान पाउने योजना स्थगित गरिरहेकोमा सरकारलाई चिन्तित बनाएको छ । महामारीमा बच्चा जन्माउन चाहने अभिभावकलाई कति रकम उपलब्ध गराइनेछ भन्नेबारे विस्तृत विवरण चाहिँ सार्वजनिक भएको छैन ।

बच्चा जन्माउन प्रोत्साहनस्वरूप सिङ्गापुर सरकारद्वारा दिँदै आइएको बोनसबाहेक अतिरिक्त रकम दिन लागिएको हो । सिङ्गापुरमा संसारकै कममध्ये जन्मदर छ जसलाई बढाउन दशकौँदेखि सरकार सङ्घर्षरत छ ।

कोरोनाभाइरस महामारीलाई लिएर गरिएको लकडाउनका बेला फिलिपिन्स र इन्डोनेशियाजस्ता छिमेकी देशमा गर्भवती हुनेहरूको सङ्ख्यामा व्यापक वृद्धि हुनसक्ने बताइँदै गर्दा सिङ्गापुरमा त्यसको विपरीत अवस्था देखिएको छ ।

सिङ्गापुरका उपप्रधानमन्त्री हेङ स्वी कीटले कोभिड १९ का कारण बच्चा पाउन चाहने कतिपय अभिभावकले त्यो योजनालाई स्थगित गर्न चाहेको आफूहरुले प्रतिक्रिया पाएको बताए ।

महामारीका बेला बच्चा पाउन चाहने अभिभावकलाई कति र कसरी रकम उपलब्ध गराउने विषयमा पछि जानकारी गराइने उनले बताए । सिङ्गापुर सरकारले हाल ‘बेबी बोनस सिस्टम’ अन्तर्गत योग्य अभिभावकलाई १० हजार अमेरिकी डलरसम्म उपलब्ध गराउँदै आएको छ ।

सन् २०१८ मा सिङ्गापुरमा प्रजननदर आठ वर्षयताकै सबैभन्दा कम अर्थात् प्रतिमहिला १.१४ थियो । धेरै एशियाली मुलुकले प्रजननदरमा यस्तै समस्याको सामना गर्दै आएका छन् र कोरोनाभाइरस महामारीका बेला यो समस्या झन् दयनीय हुन सक्ने बताइन्छ ।

यसै वर्षको आरम्भतिर चीनमा प्रजननदर ७० वर्षअघि चिनियाँ जनगणतन्त्र स्थापना भएयताकै सबैभन्दा न्यून बिन्दुमा झरेको थियो । निकै आलोचित ’एक सन्तान’ नीतिमा खुकुलोपन ल्याइए पनि त्यस्तो समस्या देखिएको हो ।

तर सिङ्गापुरका केही छिमेकी देशमा उल्टो खालको समस्या देखिएको छ । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका अनुसार फिलिपिन्समा यदि महामारी नियन्त्रणका लागि हिँडडुलमा प्रतिबन्धहरू यो वर्षको अन्त्यसम्म कायम रहे पाँच लाखदेखि २५ लाखसम्म अनिच्छित गर्भ रहनेछ ।

दक्षिणपूर्वी एशियाली मुलुकमध्ये फिलिपिन्सको जनसङ्ख्या दोस्रो ठूलो अर्थात् १० करोड ८४ लाख छ । फिलिपिन्स यो क्षेत्रकै कोरोनाभाइरसबाट सबैभन्दा नराम्ररी प्रभावित हुने मुलुकमा पर्छ । त्यहाँ हालसम्म ३,०७,००० जना व्यक्ति कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डेनमार्कले गर्भपतनको कानूनी सीमा १८ हप्तासम्म बढाउने

डेनमार्कले गर्भपतनको कानूनी सीमालाई १२ हप्ताबाट १८ हप्तामा विस्तार गर्ने योजना बनाएको स्वास्थ्य

दुबईमा पुनः भारी वर्षा, उडानहरू रद्द, विद्यालय र कार्यालय बन्द

संयुक्त अरब इमिरेट्स (युएई) ले अप्रिलमा असामान्य बाढीको सामना गरेको केही दिनपछि पुनः

चीनमा पाँच लाखभन्दा बढी अपाङ्गता भएका व्यक्ति नयाँ रोजगारीमा संलग्न

चीनमा सन् २०२३ मा सहरी क्षेत्रमा एक लाख ५२ हजार र ग्रामीण क्षेत्रका

राष्ट्रसङ्घद्वारा सन् २०२६ लाई महिला कृषकको अन्तर्राष्ट्रिय वर्ष घोषणा

संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०२६ लाई अन्तर्राष्ट्रिय महिला कृषक वर्षको रूपमा मनाउने घोषणा