आन्दोलनरत शिक्षकका मागमा प्रधानमन्त्री र सरकारमा बसेका साथीहरु गम्भीर हुनुपर्छः गगन थापा(भिडियो)
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आन्दोलनरत शिक्षकका मागलाई संवादका माध्यमबाट सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन् ।
शनिबार समाजिक संजालमार्फत भिडियो सन्देश जारी गरी महामन्त्री थापाले आन्दोलनरत शिक्षकलाई कक्षाकोठामा फर्काउन प्रधानमन्त्री र सम्बन्धित मन्त्रीले जिम्मेवारी बोध गर्नुपर्ने बताएका हुन् ।
उनले शिक्षकको आन्दोलन लम्बिँदै जाँदा शैक्षिक सत्र प्रभावित हुने उल्लेख गर्दै जतिसक्दो चाँडो मन्त्रिपरिषद्को बैठक राखेर उनीहरुको माग सम्बोधन गर्न सरकारसँग आग्रह गरे ।
उनले भने, ‘पछिल्लो समयमा शिक्षकले राखेका कतिपय माग कानुन नबनाइ हल गर्न सकिन्न, शिक्षकको मर्यादाक्रम, स्वास्थ्य उपचार, दरबन्दी मिलान, विद्यालय कर्माचारीका कुरा, राहतको बिदा सञ्चितिजस्ता विषय हामीले गर्नैपर्छ ।’ महामन्त्री थापाले कानुन निर्माणको विषयमा सरकारले चाँडै संसद अधिवेशन बोलाउनुपर्ने बताए ।
शिक्षकको मुख्य माग शिक्षा ऐन जारीको विषयमा महामन्त्री थापाले आगामी बर्खे अधिवेशनको सुरुमै विधेयक पारित गर्ने गरी समझदारी गर्न सरकारलाई सुझाव दिएका छन् ।
यसले विश्वासको वातावरण बन्ने र विधेयक फास्टट्रयाकबाट पारित गर्नुपर्ने उनले बताए । उनले शिक्षकहरूलाई पनि अहिलेको समयको संवेदनशीलतालाई बुझ्दिन आग्रह गरेका छन् ।
विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने, अस्थायी प्रकृतिका शिक्षक, विद्यालय कर्मचारी, बालकक्षाका शिक्षक, स्थायी शिक्षकको बढुवा, तलब र ग्रेड वृद्धि, स्थायी आन्तरिक प्रतिस्पर्धा, निवृत्तिभरण व्यवस्था, अस्थायी सेवा अवधिको गणना, माथिल्लो तहमा स्थायी हुँदा पाउने तलब लगायतका मागसहित यही चैत २० गतेदेखि शिक्षकहरु आन्दोलनरत छन् ।