प्रधानमन्त्रीलाई भारतले छिट्टै बोलाएको खण्डका दुई देशबीचको सम्बन्ध अझ सुधार हुन्छः सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजावादी आन्दोलनमा भारतको कुनै समर्थन नरहेको बताएका छन् ।
गणेशमान सिंह फाउण्डेशनले सोमबार काठमाडौंमा आयोजना गरेको नेपाल भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्व प्रधानमन्त्री चन्द्रशेखरले पुर्याएको योगदान विषयक गोष्ठीमा सभापति देउवाले राजावादी आन्दोलनमा योगी आदित्यनाथको फोटो प्रदर्शन भएपनि भारतीय नेताहरूको राजावादी आन्दोलनमा कुनै समर्थन नरहेको बताएका हुन् ।
नेपालको गणतन्त्रमा आफ्नो पूर्ण समर्थन रहेको र आफू नेपालको संविधान र व्यवस्थाविरुद्ध नरहेको भनी योगी आदित्यनाथले गरेको प्रतिवद्धताप्रति उनले धन्यवाद दिए । सभापति देउवाले नेपाल–भारतबीचको सम्बन्ध निकै प्रगाढ र राम्रो रहेको बताए ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतले छिट्टै बोलाएको खण्डका दुई देशबीचको सम्बन्ध अझ सुधार हुने बताए ।
कार्यक्रममा उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल–भारतबीच सम्बन्ध सुदृढ बनाउनमा भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरको भूमिका महत्त्वपूर्ण रहेको स्मरण गरे ।
उनले भने, ‘चन्द्रशेखर र गणेशमानबीच निकै घनिष्ठ सम्बन्ध थियो । उहाँहरूले नेताको रूपमा राजनीतिक परिवर्तनमा खेल्नुभएको भूमिका महत्त्वपूर्ण छ । ०४६ सालको जनआन्दोलनलाई सफल बनाउन चन्द्रशेखरज्यूले खेल्नुभएको भूमिका स्मरणीय छ ।’
उनले चन्द्रशेखरको प्रेरणाले नेपाल–भारतको सम्बन्ध झन् बलियो बनाएको बताए । नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महतले पनि नेपालमा २०४६ मा भएको जनआन्दोलनलाई सफल बनाउनमा चन्द्रशेखरको भूमिकाको स्मरण गरे ।
‘“भारतमा प्रधानमन्त्री हुँदा नेपाललाई निकै सहयोग गर्नुभयो उहाँले । बिपी कोइरालासँगको सम्बन्ध पनि राम्रो थियो’, उनले भने, ‘२०४६ सालको आन्दोलनमा उहाँ नेपालमै आएर गणेशमान सिंहको घरमा भाषण गरेर महत्त्वपूर्ण योगदान गर्नुभएको थियो ।’