जनअधिकार सङ्कुचित बनाउने कुनै राजनीतिक पद्धति स्वीकार्य हुँदैनः अध्यक्ष नेपाल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा लामो जनसङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्प नरहेको बताएका छन् ।
पार्टी निकट आदिवासी जनजाति महासङ्घद्वारा आइतबार आयोजित कार्यक्रममा अध्यक्ष नेपालले जनताको अधिकार संरक्षण गर्दै आर्थिक तथा सामाजिक रूपान्तरणका लागि गणतन्त्रात्मक शासन व्यवस्था उत्तम रहेको बताए ।
निरङ्कुश शासन व्यवस्था पुनः स्थापनाका लागि प्रतिगामी शक्ति क्रियाशील रहेको भन्दै अध्यक्ष नेपालले जनअधिकार सङ्कुचित बनाउने त्यस्तो राजनीतिक पद्धति कुनै हालतमा स्वीकार्य नहुने बताए ।
उनले जनताका मागलाई जोडेर जनसङ्घर्षकै माध्यमबाट पार्टी निर्माण, पार्टीको साङ्गठनिक सुदृढीकरणमा जनपरिचालनको महत्व तथा अन्तर्राष्ट्रिय अभ्यासबारे सम्बोधन गरे ।
उनले कार्यदिशा र सिद्धान्तमा एकरुपता नभएसम्म कुनै पार्टीसँग पनि एकताको सम्भावना नरहेको बताए ।