प्रमुख सचेतक घिमिरेद्वारा आफूले व्यक्त गरेको अभिव्यक्तिप्रति आत्मसमीक्षा गर्दै क्षमा याचना
काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले संसद् आफूले व्यक्त गरेको अभिव्यक्तिप्रति आत्म समीक्षा गर्दै क्षमा याचना गरेका छन् ।
प्रतिनिधि सभाको बुधबारको बैठकको आकस्मिक समयमा उनले यही चैत ३ गतेको बैठकमा व्यक्त गरेको विचारप्रति क्षमा याचना गरेका हुन् । उक्त दिन प्रमुख सचेतक घिमिरेले यौन व्यवसायलाई कानुनी मान्यता दिनुपर्ने धारणा व्यक्त गरेका थिए ।
उक्त अभिव्यक्ति आफूले प्रतिनिधित्व गरेको नेपाली काँग्रेस र संसदीय दलको नभएको तथा त्यो आफ्नो व्यक्तिगत धारणा भएको स्पष्ट गरे । मेरा विचारले ‘सम्मानित संसद्का सदस्य र अन्य जनसमुदायमा केही नकारात्मक प्रभाव परेको भए उहाँहरूको सम्मान गर्दै क्षमा याचना गर्न चाहन्छु’, सांसद घिमिरेले भने ।