लेखा समितिका काम किन नतिजामुखी हुन सकेनन् ?
काठमाडौँ। सार्वजनिक लेखा समितिका सदस्यले समितिको काम प्रभावकारी र नतिजामुखी बनाइनुपर्नेमा जोड दिएका छन् ।
समितिको मंगलबारको बैठकमा सांसदले महालेखापरीक्षकको प्रतिवेदनले औँल्याएको बेरुजु फर्छ्यौट तथा सम्परीक्षण र उजुरी माथिको छानबिन प्रभावकारी हुन नसकेको बताएका हुन् ।
सभापति ऋषिकेश पोखरेलले समितिलाई थप प्रभावकारी र नतिजामुखी बनाउन विभिन्न नौ वटा उपसमिति बनाएर काम गरिरहेको बताए ।
महालेखापरीक्षक कार्यालयको प्रतिवेदन माथिको छलफल र समितिमा परेका उजुरीलाई फर्छ्यौट गर्नका लागि उपसमिति गठन गरिएको र हालसम्म समितिबाट भए गरेका कामलाई समावेश गरी प्रतिवेदनको मस्यौदा तयार पारिएको उनको भनाइ छ । समितिमा हालसम्म परेका एक सय १४ वटा उजुरी माथि छानबिन हुन सकेको छैन ।
आजको बैठकमा समिति सदस्य जनार्दन शर्माले महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनमाथि छलफल हुन नसकेको बताए । त्यसैगरी समितिमा परेका उजुरीहरुको प्राथमिकीकरण गरी चाँडै टुङ्गोमा पुर्याइनुपर्नेमा उनले जोड दिए ।
सांसद रामकृष्ण यादवले समितिका काम नतिजामुखी हुन नसकेको बताए । नियमित बैठक बस्न नसकेको, समितिले दिएका निर्देशन सम्बधित निकायबाट कार्यान्वयन नभएकोलगायतका विषय उनले उठाए ।
सांसद प्रेमबहादुर आलेले राज्यको सम्पत्ति दुरुपयोग भएको विषयमा लेखा समितिले निष्पक्ष र प्रभावकारी ढङ्गले छानबिन गर्न सक्नुपर्ने बताए ।
डेडिकेटेट र ट्रङ्कलाइनको महशुल बक्यौता विवाद चाँडो टुङ्ग्याउनुपर्ने र गौतमवुद्ध अन्तरराष्ट्रिय विमानस्थल, पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा आर्थिक घोटाला भएको विषयमा पनि छानबिन थाल्नुपर्ने उनको भनाइ थियो ।
सांसद मनिष झाले समितिका बैठक नियमित बस्नुपर्ने र समितिबाट भएका निर्देशन सम्बन्धित निकायले पालना गरे–नगरेको बारे सोधखोज गरिनुपर्ने बताए । समितिका निर्णयको कार्यान्वयन र प्रभावकारिता कति छ भनेर समितिले हेर्न सक्नुपर्ने उनको भनाइ छ ।
यसअघि समितिले सिमेन्ट र फलामे डण्डीको मूल्यवृद्धि बारे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई दिएको निर्देशन कार्यान्वयन हुन नसकेको बताए । एकातर्फ उपभोक्ता पीडित भइरहने र अर्कोतर्फ समितिको निर्देशनसमेत पालना नभएको अवस्थामा यसको जवाफ खोजिनुपर्ने उनको भनाइ थियो ।
सांसद राजेन्द्रकुमार केसीले पनि सिमेन्ट र ड्ण्डीको मूल्य वृद्धि बारे समितिले दिएको निर्देशनको नतिजा शून्य रहेको बताए । पोखरा र भैरहवा विमानस्थलमा भएको भनिएको घोटलाको विषयमा लेखा समितिले अध्ययन र छानबिन गर्नुपर्नेमा उनले जोड दिए ।