राजावादीलाई संविधानमाथि प्रश्न उठाउने दुस्साहस नगर्न प्रचण्डको चेतावनी
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजामहाराजालाई नेपाली जनताले इतिहासको विषय बनाइसकेको बताएका छन् ।
मंगलबार २७औं सांस्कृतिक प्रतिरोध दिवसको अवसरमा आयोजित सहिद परिवार अभिनन्दन तथा जनसांस्कृतिक राष्ट्रिय सम्मान समारोहमा उनले पहिलेका राजामहाराजाहरुलाई इतिहासको विषय बनाइसकेको नेपाली जनता, नेपाल र नेपालको संविधानले फेरि अर्को मुर्खता गर्न नहुने भन्दै यस्तो काम भएमा निकै ठूलो मूल्य चुकाउनुपर्ने बताए ।
जनतालाई सार्वभौम अधिकार सम्पन्न बनाएको संविधानमाथि प्रश्न उठाउने प्रयास र दुश्साहस भएको पनि उनको भनाइ छ ।
उनले भने, ‘नेपालको संविधानले पहिलो पटक इतिहासमा नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न गरेको छ । यो सबैभन्दा ठूलो ऐतिहासिक उपलब्धी हो । जसले जनतालाई व्यक्ति, राजामहाराजा र तानाशाहको हातबाट खोसेर सार्वभौम अधिकार जनताको हो भन्ने मान्यता स्थापित गरेको छ ।’
उनले लामो संघर्ष र बलिदानपछि, संविधान सभामार्फत संघीय लोकतान्त्रिक गणतन्त्र घोषणाको ठाउँसम्म आइपुगेको भन्दै यसैको बलिदानको फलको रुपमा नयाँ संविधान बनेको पनि उल्लेख गरेका छन् ।