कहिले अमेरिकी साम्राज्यवादसँग जुध्यो, कहिले भारतीय विस्तारवादसँग सुरुङ युद्ध लड्यो, केही नभए पूर्वराजासँग !
नारायण गाउँले ।
विश्वभर ट्रम्पको ‘ट्यारिफ’ले भूकम्प ल्याएको छ । चीनदेखि युरोप र क्यानडासम्म सोझै प्रभावित हुने देश त चिन्तामा हुने नै भए, यो व्यापार युद्धले निम्तिने पराकम्पले सानाठूला सबै देशलाई छोएको छ । सम्भावित मूल्यवृद्धिदेखि आर्थिक अनिश्चिततासम्मको हिसाबकिताब र तयारीमा हरेक देश व्यस्त छ । तर हामीलाई त्यसले के छोओस् ? व्हाट्स फादर, ह्वाट भिटामिन । प्रधानमन्त्रीचाहिँ आँखा सन्काई सन्काई, छाती फुलाई फुलाई, आत्मविश्वासका साथ आफूबाहेक अरूलाई मरीचको रूख ठूलो हुन्छ भन्ने थाहा नभएको दाबी गर्दै छन् । त्यो पनि ठाउँ न कुठाउँ ! साला मरीचको रूख ठूलो होस् कि सानो होस्, के फरक पर्छ र !
अर्का को–पाइलटवाला पूर्व प्रधानमन्त्रीचाहिँ भीडलाई भड्काउने नियत राखेर पूर्वराजालाई चोर र हत्यारा भन्दै भाषण गर्दै छन् । आफैं पटकपटक प्रधानमन्त्री भएर चोरलाई कारवाही नगर्नु ठूलो अपराध हो भन्नेसम्म पनि हेक्का छैन । अझ अपराधलाई बार्गेनिंग चिप बनाउनु त हदैसम्मको अपराध हो ।
अवस्था कस्तो छ भने विश्व ब्याङ्कले एक प्रतिशत ब्याज बढायो भने हामीसँग शिक्षक र डाक्टरलाई खुवाउने तलब बच्दैन । ठूलो देशले मिलिजुली राष्ट्रिय सुरक्षा भन्दै छिमेकी माटो निल्दै जाने यो महामारीले हामीजस्ता साना देश निदाउन नसकेको स्थिति छ ।
विश्व व्यापार सङ्गठनको नियमअनुसार कुनै एक देशलाई मात्रै कर बढाउन मिल्दैन । आज चीनलाई लाग्ने कर घुमीफिरी हामीलाई पनि लाग्ने नै हो । तर, त्यत्ति टाढा सोचेर कसले टाउको दुखाउनु । फेरि बेच्न पर्ने पो के छ र हामीलाई ? ल्याउने हो, खाने हो ।
गर्न केही नपर्ने । एउटा काल्पनिक भए पनि शत्रु बनाउने, त्यसैको खेदो खन्ने र दिन कटाउने अद्भुत कला छ हामीसँग । कहिले अमेरिकी साम्राज्यवादसँग जुध्यो, कहिले भारतीय विस्तारवादसँग सुरुङ युद्ध लड्यो । केही नभए पूर्वराजासँग लड्यो ! जे जानेको छ, सबैले गर्ने त्यही रहेछ ।