अग्रगामी एजेन्डामा जानुको विकल्प छैन, पछाडि फर्कने तर्फ कसैले सोच्छ भने परिणाम राम्रो हुन्नः अध्यक्ष प्रचण्ड
बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सत्ता गठबन्धनले भ्रष्टाचारी र विचौलियाको पक्षमा गरिरहेको गतिविधिका कारण जनतामा निराशा र असन्तुष्टि बढ्दै गएको बताएका छन् ।
बुधबार मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालको छैटौँ राष्ट्रिय सम्मेलनको बुटवलमा उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले सरकारको कार्यशैली देखेर इतिहासको रछ्यानमा मिल्काइएका प्रतिगामी तत्त्वहरूले धमिलो पानीमा माछा मार्न खोजेको बताएका हुन् ।
उनले प्रतिगामी र प्रतिक्रियावादी शक्तिको षड्यन्त्रविरुद्ध लाखौँ जनता सडकमा उतारेर खबरदारी गरिने बताए । उनले आफ्नो पार्टीले गणतान्त्रिक व्यवस्थाको रक्षा र सुदृढीकरणका लागि सबै परिवर्तनकारी शक्ति र जनतालाई लिएर जस्तोसुकै संघर्ष गर्न पनि तयार रहेको बताए ।
अब प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली जस्ता अग्रगामी एजेन्डामा जानु रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले पछाडि फर्कने तर्फ कसैले सोचे राम्रो नहुने चेतावनी दिए ।
अध्यक्ष प्रचण्डले राजनीति परिवर्तनमा उत्पीडित समुदायको ऐतिहासिक र निर्णायक भूमिका रहेको स्पष्ट गर्दै जातीय क्षेत्रीय मोर्चा र समाजवादी क्रान्तिको सम्बन्धबारे पार्टीले पहिलोपटक धारणा तय गरेको जानकारी दिए ।