स्वर्ग, नर्क, पाप-पुण्य हुन्छ कि हुँदैन ?
-डा. गोविन्दशरण उपाध्याय ।
दर्शनशास्त्रको कसौटीमा ईश्वर भेटिन्छ कि भेटिन्न, आत्मा भेटिन्छ कि भेटिन्न, स्वर्ग, नर्क, पाप–पुण्य वा पुनर्जन्म सिद्ध हुन्छ कि हुँदैन ? आज पनि निकै विवादको विषय हो । आधुनिक विज्ञानको विकासले मान्छेभित्रको धार्मिक आस्था रोकिएको छैन । सैद्धान्तिक रूपमा धर्म र धार्मिक प्रतिमानहरूमा (Paradigm) कत्ति पनि विश्वास नगर्ने माक्र्सवादीहरूले पनि ‘सांस्कृतिक–निरन्तरता’ भन्दै धार्मिक कर्महरू गरिनैरहेका छन् । सैद्धान्तिक रूपमा विश्वास नगर्नेहरूले व्याबहारिक रूपमा विश्वास गर्छन् ।
चिन्तन, भाव र कर्म : मानव जीवनका अनिवार्य अङ्ग हुन् । चिन्तनले दर्शनशास्त्रको, भावले मनोविज्ञानको र कर्मले विज्ञान र व्यवहारको प्रतिनिधित्व गर्छन् । वैदिक सांख्यदर्शनले सत्व, रज र तम – तीनगुणहरूका आधारमा आधुनिक पाश्चात्य दर्शनको संज्ञान (Cognitive) भाव (Assertive) र कर्म (Connotative) प्रतिनिधित्व गर्छ । मान्छेलाई संज्ञान प्रधानमात्र ठान्नु र भावहीन ठान्नु उचित हुँदैन । संज्ञान, भाव र कर्मको समग्रता नै मान्छेको मनुष्यत्व हो । यही मनुष्यत्वले ज्ञानका आधारमा विज्ञान तथा तर्कको, भावका आधारमा सम्बन्ध र काम, क्रोध, लोभ, मोह, भक्तिआदिको र कर्मका आधारमा व्यबहारको निर्माण गरेको हो ।
केवल ज्ञानप्रणालीमा आधारित विज्ञानप्रति अन्धविश्वास भएको मान्छेले ‘भावपूर्ण, प्रेमपूर्ण, खुसीपूर्ण जीवनको आनन्द प्राप्त गर्न सक्दैन । जतिसुकै ज्ञानी भए पनि रोबटले आमाको माया र शत्रुको घृणालाई बुझ्न सक्दैन । ईश्वर, आत्मा, परमात्मा, पुनर्जन्म, स्वर्ग–नर्क, संस्कारजस्ता प्रतिमानहरू ज्ञानका सृजना हुन् तर यिनको व्यबहारगत विशिष्टता (Behavioral identity) भावजगतभित्र अभिनिर्मित भएको हुन्छ । सत्व, रज तथा तम होस् वा ज्ञान, भक्ति र कर्म नै किन नहोस् अथवा संज्ञान, भाव र व्यबहार नै किन नहोस्, एकआपसमा अभिन्न रूपले जोडिएका छन् । आमाको माया प्राप्त गर्दा होस् वा ईश्वरको हात आफ्नो शिरमा छ भन्ने विश्वास नै किन नहोस्, सम्बन्धसंग जेलिएका मान्छेले विश्राम प्राप्त गर्छ । यसका लागि विज्ञानको ल्याबले ईश्वरलाई प्रमाणित गर्नुपर्छ भन्ने हुँदैन ।
आधुनिक विज्ञानका तीनबटा मापनप्रणाली हुन्छन्ः निरीक्षण (Observation) प्रयोग (Experimentation) र प्रमाणिकरण (Verification) तर यी तीनै मापनप्रणालीको आधार भनेको प्राक्कल्पना (Hypothesis) र कार्यकारणको नियम (Causality ) हुन्छन् । कार्यकारण आफैमा प्राक्कल्पनाकै सृजना मान्नुपर्छ किनभने डेभिड–ह्युमले भनेझैं कार्य र कारणलाई जोड्ने कुनै प्रत्यक्ष (Empirical Link) हुँदैन । दर्शनशास्त्रको मापनप्रणाली वा कार्यपद्धतिमा विज्ञानको जस्तो कठोर सीमा (Limitation) नहुने हुँदा स्थापित विश्वासका नियमहरूलाई चुनौती दिंदै अतिभौतिकतत्व (Metaphysical world) को विषयमा जानकारी दिन्छ ।
दर्शनशास्त्रले भौतिक प्रतिमानका सीमाहरू काट्दा धेरै भौतिकविज्ञानी (Material Scientist) र भौतिकवादीहरूलाई (Materialist) चित्त बुझ्दैन । तर्कका अनेकौं काम मध्ये तार्किकतवरले चित्त बुझाउनु र कसैको चित्त बुझे पनि नबुझे पनि सत्यउजागर गर्छ । सत्य लोकतान्त्रिक, गणतान्त्रिक, राजतान्त्रिक वा कुलीनतन्त्रमा आधारित हुँदैन । निरीक्षण, अनुभूति तथा तार्किक सम्भावनामा आधारित हुन्छ । उदाहरणका लागि वैदिक दर्शनहरू मध्ये सांख्यदर्शन र बैशेषिक दर्शनले सर्ग (Creation) र विसर्ग (Salvation) को जुन वैचारिक आधारभूमि तयार गरेका छन्, आधुनिक विज्ञानसँग यसको कुनै विकल्प छैन । सृष्टि र तत्वसंग असहमति व्यक्त गर्न सक्छ तर कार्यकारणमा आधारित सर्ग र विसर्ग तथा तत्वका सवालमा असहमति हुनैसक्दैन । स्वरूप र सङ्ख्याको असहमति धेरै दार्शनिकहरूका बीचमा छँदैछ ।
आधुनिक विज्ञान निकै उपयोगी छ तर उपयोगिताको खोज गर्दैगर्दा आधुनिक विज्ञानले मान्छेका लागि ‘जानकारी’ बाहेक जीवनका लागि कुनै प्रकारको उपयोग नहुने खोज पनि गरिरहेको छ । हालै, हब्बल टेलिस्कपले पृथ्वीभन्दा तीन करोड प्रकाशवर्ष टाडा एउटा पानीको वादल देखेको कुरा सार्वजनिक गर्यो । एक प्रकाश वर्ष टाडारहेको तारामण्डलमा पुग्न नसक्ने मान्छेका लागि तीनकरोड़ प्रकाशवर्ष दुरीमा रहेको पानीको महासागरको कुनै उपयोगिता हुने छैन त्यसमा पनि अब्बल–टेलिस्कपले पठाएको त्यो फोटो तीन करोड़ वर्ष पुरानो हो । अव त्यो महासागर जीवित छ कि छैन ? कसैले भन्न सक्दैन । विज्ञानका यस्ता खोजहरूले ब्रह्माण्डको विशालता वारे जानकारी दिन्छ तर मान्छेको भावनाभित्र ईश्वरप्रतिको प्रेम र समर्पणले खुसी दिन्छ भन्ने तत्थ्य हब्बलले फोटो खिचेर पठाउन सक्दैन । दर्शनशास्त्रले भौतिक नियमहरूको सीमाभन्दा वाहिरका तत्थ्यहरूको सम्भावना वारे जिज्ञासा राखेर मान्छेलाई १३.४ खर्ब वर्ष पहिलाको बिगब्यांगको कल्पना गर्न अभिप्रेरित गरेको हो । दर्शनशास्त्रको विज्ञान यसैलाई भन्नुपर्छ ।
संज्ञानको अर्थ संस्कृतमा संस्कार (Refined) भएको अनुभूति हो भने आधुनिक मनोविज्ञानका अनुसार पनि इन्द्रिय संवेदीहरू मध्ये सबैभन्दा परिस्कृत र आवश्यक डाटानै संज्ञान हो । यसरी वैदिक दर्शनशास्त्र, पाश्चात्य दर्शनशास्त्र तथा आधुनिक सुक्ष्मतान्त्रिक मनोविज्ञान (Neuro–psychology) ले भनेको तत्थ्यमा अचम्मको साम्यता छ । त्यसैले ज्ञान, विज्ञान स्वदेश तथा विदेशका नभएर सबैका साझा हुन्छन् । वैदिक दर्शनशास्त्रीय संरचना आत्मकेन्द्रीत भएको हुनाले अन्तर्मुखी सभ्यासबाट अथवा साधनबाट प्राप्ति हुने ब्रह्म, आत्मा, अमरता, पुनर्जन्म, कर्म र कर्मफलजस्ता विषयहरूका सवालमा बस्तुगत निर्णय (empirical judgement) गर्नु केटाकेटीपना ठहरिन्छ । मान्छेले सम्पूर्ण जानकारीको ५% जानेको छ भन्ने परिस्थिति बनेको छैन । ब्रह्माण्डको विशालतालाई बुझ्न मल्टीभर्सको उठान हुँदैगर्दा एउटा विज्ञानको विद्यार्थीले ‘ईश्वर छैन’ भन्नु विज्ञानकै नियमहरूको उल्लंघन हुन्छ । त्यसैले दर्शनशास्त्र एउटा यस्तो विज्ञान हो जसले आधुनिक विज्ञानलाई ‘तर्क–सत्य र अनुभूतिजन्य खोजप्रति सत्यनिष्ट र व्याबहारिक रहन अभिप्रेरित गर्छ ।
दर्शनशास्त्र, जसलाई अङ्ग्रेजीमा फिलोसोफी (Philosophy) भनिन्छ, ज्ञानको खोजी गर्ने, अस्तित्वको प्रकृति बुझ्ने, र मानव अनुभवको अर्थ खोज्ने प्रयास हो। यसले संज्ञानको विज्ञानको रूपमा विभिन्न तरिकाले काम गर्दछः
ज्ञानको प्रकृतिः दर्शनशास्त्रले ज्ञानको प्रकृति, यसको स्रोत, र यसको सीमाहरूको जाँच गर्दछ। यसले ‘हामी कसरी जान्दछौं?’ भन्ने प्रश्नहरूको जवाफ खोज्दछ, र ज्ञानको विश्वसनीयता र वैधताको मूल्याङ्कन गर्दछ। ज्ञानमीमांसा (Epistemology) दर्शनशास्त्रको एउटा शाखा हो, जसले ज्ञानको सिद्धान्तको अध्ययन गर्दछ। तर्क र विवेचनाः दर्शनशास्त्रले तार्किक तर्क र विवेचनाको प्रयोग गरेर जटिल प्रश्नहरूको विश्लेषण गर्दछ। यसले स्पष्ट सोच, आलोचनात्मक विश्लेषण, र तर्कसंगत बहसलाई बढावा दिन्छ। तर्कशास्त्र (Logic) दर्शनशास्त्रको एक महत्त्वपूर्ण उपकरण हो, जसले वैध तर्कको नियमहरू प्रदान गर्दछ।
मानव मनको अध्ययनः दर्शनशास्त्रले मानव मनको प्रकृति, चेतना, र संज्ञानको प्रक्रियाहरूको अध्ययन गर्दछ। यसले ‘मन र शरीर कसरी सम्बन्धित छन् ?’, ‘चेतना के हो?’, र ‘स्वतन्त्र इच्छा सम्भव छ ?’ जस्ता प्रश्नहरूको खोजी गर्दछ।
मनोविज्ञानको दर्शन (Philosophy of Mind) दर्शनशास्त्रको एक शाखा हो जसले यी बिषयमा अध्यन गर्दछ।
मूल्य र नैतिकताः दर्शनशास्त्रले नैतिक मूल्यहरू, नैतिकता, र सही र गलतको अवधारणाको जाँच गर्दछ। यसले ‘के सही हो ?’, ‘के गलत हो?’, र ‘हामीले कसरी नैतिक निर्णयहरू गर्नुपर्छ?’ जस्ता प्रश्नहरूलाई सम्बोधन गर्दछ। नीतिशास्त्र (Ethics) दर्शनशास्त्रको एक शाखा हो, जसले नैतिक सिद्धान्तहरूको अध्ययन गर्दछ।
अस्तित्वको अर्थः दर्शनशास्त्रले अस्तित्वको अर्थ, जीवनको उद्देश्य, र मानव अस्तित्वको प्रकृतिबारे प्रश्न गर्दछ। यसले ‘जीवनको अर्थ के हो?’, ‘हामी किन यहाँ छौं?’, र ‘मृत्युको अर्थ के हो?’ जस्ता प्रश्नहरूको जवाफ खोज्दछ। तत्वमीमांसा (Metaphysics) दर्शनशास्त्रको एउटा शाखा हो, जसले अस्तित्वको आधारभूत प्रकृतिबारे अध्ययन गर्दछ। संक्षेपमा, दर्शनशास्त्रले संज्ञानको विज्ञानको रूपमा ज्ञान, तर्क, मन, मूल्य, र अस्तित्वको गहिरो अन्वेषण गरेर मानव बुझाइलाई फराकिलो बनाउँछ।