सरकारलाई अध्यादेश घाँटीमा अड्केको हड्डीजस्तै भएको छः उपमहासचिव शर्मा
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले भ्रष्टाचारको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्न माग गरेका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा उपमहासचिव शर्माले शक्तिशाली आयोग गठन गरी भ्रष्टाचारको छानबिन गर्न माग गरेका हुन् ।
अहिले सदनमा एकले अर्कालाई दोषी करार गर्नुभन्दा पनि शक्तिशाली आयोग बनाएर सबै भ्रष्टाचारको छानबिन गर्न माग गरे । उनले क्यान्टोनमेन्टको होस् वा अरु कुनै कुराको सबैको छानबिन गर्न आग्रह गरे ।
उनले भने, ‘शक्तिशाली आयोग बनाऔं । कसले गरेको भन्ने कुरा त्यहाँ पुष्टि हुन्छ । यो गर्न किन आँट नगर्ने ? क्यान्टोनमेन्टको होस् वा अरु कुनै कुराको होस्, छानिबन गरेर अघि बढौं । छानबिनको लागि कसैले छेकेको छैन।’
उनले सरकारले अध्यादेश ल्याएर जनतामा आतंक मच्याएको आरोप लगाए । उनले विपक्षी दलहरुसँग छलफल नगरी अध्यादेश ल्याएकाले यसको विरोध भएको बताए ।
उनले भने, ‘अध्यादेश घाँटीमा अड्केको हड्डीजस्तै भएको छ। त्यसलाई निकाल्नुपर्यो। हाम्रा कुराहरू छँदैछन्। यहाँ छलफल गरौँला नि। राम्रोलाई राम्रो भनौंला, नराम्रोलाई नराम्रो भनौंला।’