सरकारी ठगलाई कारबाही गर्ने कि सडकमा सहकारी पीडित कुट्ने ?
डा. युवराज संग्रौला ।
७२ लाख मानिस सहकारी पीडित छन्, सडकमा । तिनै पीडित मानिस दमनका शिकार भएका छन् । नेपाली जनताले आफूले कमाएको सबै आम्दानी सहकारीहरु घोटालामा सकियो । छोराछोरीको पढाइ तहसनहस भयो, अनि विद्यार्थी विदेश पलायन नभए के गर्छन् ? मानिसले औषधि गर्न पाएका छैनन् । तर किन सरकार यो समस्या समाधान गर्न चाहँदैन ? ७२ लाख मानिसलाई गरीबीको चंगुलमा धकेलेर देशको विकास हुन्छ ?
१. यो समस्याको समाधान गर्न सरकारको गुहार गर्दा, सडकमा पीडित कुटेर लोकतन्त्र जिउँदो रहन्छ ? कसले चलाइरहेको छ यो देश ? हामीलाई थाहा छ देशमा पूर्णतः माफियातन्त्रको अधीन कायम भएको छ । यी माफियालाई किन सरकार कारबाही गर्दैन ?
२. सडक आज सनक र चटकको अधिनमा छन् । अनेक जासुस र विदेशी स्वार्थ बोकेका मानिसका एजेन्ट पनि सडकमा छन् । यो देशका माफियाहरुले समाजमा अराजकता निर्माण गर्न पनि मानिस सडकमा प्रयोग गरेका छन् । देशलाई अराजक बनाएपछि सहकारी माफिया, जग्गा प्लटिङ्ग गर्ने माफिया, व्यापारका नाममा प्रज्ञापन तलमाथि गर्ने माफिया, नेपालको उत्पादन समाप्त गर्न नागरिक श्रम निर्यात गर्ने माफियाले देशको अर्थतन्त्र अधिनमा राखेका छन् । अतः देशमा अनैतिक अराजकता निर्माण भएको छ । यसको फाइदा लिएर राज्य कब्जा गर्ने माफियाको दाउ पनि सडकमा पोखिएको छ । इमान्दार युवा पनि सडकमा छन्, तर उनीहरुलाई राज्यको विकास होइन विद्रोह मात्र चाहिएको छ।
३. सडक अराजक भएको छ । देशलाई विचारबाट नयाँ अर्थतन्त्रतर्फ लैजाने कुनै योजना सडकमा कुद्नेहरुसँग छैन । हिजो सरकारका पदमा बसेर आज पेन्सन खाने मान्छे, हिजो विश्वविद्यालयमा बसेर आज पेन्सन लिनेहरु, अदालतमा भ्रष्टका मुद्दामा वकालत गर्ने र एम्बेसीमा भात खात खान जानेहरू आज सडकमा राजनीति, सामाजिक र आर्थिक न्यायका कुरा गर्दछन् । उनीहरुले हिजो के गरे त ? यदि देशमा समस्या थिए भने किन नबोलेको हिजो ? उनले उनका संस्था बनाउन के के गरे ? देश बिग्रेको देखेपछि राजीनामा किन नदिएको हो त ?
४. आज समग्र नेपालको राजनीति विचारक्षय भएका शक्ति र विचारहीन मानिसहरुको रणमैदान बनेको छ । देशलाई ‘सामाजिक नागरिकतन्त्र’ को बाटोमा लैजाने दृष्टिकोणप्रति बहस हुनु नै सही बाटो हो । देशको उत्पादन प्रणालीलाई स्थापित गर्न र देशलाई उद्यमतर्फ लैजानु आवश्यक छ । अतः
१. सहकारी माफियामाथी तत्काल कारबाही हुनुपर्छ ।
२. उद्योगहरुलाई बचाउने योजना ल्याउनु आवश्यक छ। आज चिनी, सिमेन्ट, पोल्ट्री सबै उद्योग विसर्जनको संघारमा छन् ।
३. पर्यटनमा योगदान गर्ने ठूला होटलको ‘कोठा दररेट छैन।’ विदेशी सामान बेचेर ५०/६० डलरमा कोठा बेच्ने व्यापार छ । देशी सामान बेच्ने होटलको व्यापार घाटा छ ।
४. देशको अर्थतन्त्र देशभक्त उद्यमीका हातमा छैन । माफियाको सेवामा सरकार काम गर्छ । यो बन्द हुनुपर्छ।
राजनीतिलाई नैतिक र उत्पादनमूलक रणनीतिको माध्यमबाट संचालन गर्नुपर्छ। समताको निर्माण नै राजनीतिको लक्ष हो ।