के नेपाल हिन्दूराष्ट्र बन्न सक्छ ?



–रुक्मिणी पौडेल
के नेपाललाई हिन्दूराष्ट्र बनाउन सम्भव छ ? एक जना राजनैतिक कर्मीले मसंग प्रश्न गरे । मैले प्रष्टसँग भने ‘यदि कुनै नेपाली नेताले आफ्नो विचार र व्यबहारबाट जनतालाई भोट–बक्ससम्म डोर्याउन र भोट हाल्न प्रेरित गर्न सफल भयो भने हिन्दूराष्ट्र असम्भव हुँदैहोइन । ८०% हिन्दू भोटर भएको देश हिन्दू–राष्ट्र नबन्ने कुनै सम्भावना नै छैन । विश्वको कुनै पनि देशमा २०% जनसंख्यामा रहेको अल्पमतले सरकार बन्न सक्दैन । गणित यही हो । म कुनै राजनैतिक व्यक्ति होइन न ममा कुनै राजनैतिक चाहना नै छ । एउटा नेपाली नागरिकको रूपमा जे–जति राजनैतिक चेतना चाहिन्छ, त्यो छ तर मैले त्यसको सदुपयोग पनि गर्छु । राजनीतिको झण्डा नबोक्ने मान्छेले आफ्नो राजनैतिक आस्थाको चिनारी दिनु पर्दैन तर एत्ति भन्नु म स्वतन्त्रताको पक्षधर हुँ ।
नेपाल सरकारले हरेक १० वर्षजातिमा जनगणना गर्छ । २०७८ सालमा सम्पन्न भएको गणनामा नेपालमा हिन्दूहरूको जनसंख्या ८०% छ । एउटा राजनैतिक चेत भएको साधारण मान्छेले पनि यदि ८०% जनसंख्याको केवल ५०% संख्यालाई हिन्दूराष्ट्रका पक्षमा भोट खसाल्न तयार पार्न सक्ने राजनैतिक शक्ति सजिलैसंग सत्तामा पुग्न सक्छ भन्ने तत्थ्य सर्वसाधारणले पनि बुझ्नुपर्छ । हिन्दू राष्ट्रका पक्षमा राजनीति गर्नेले आफ्नो विचार तथा योजनाआदिका माध्यमबाट जनतालाई भोट खसाल्ने बनाउनु पर्छ । भोट नै खसेपछि तथाकथित धर्मनिर्पेक्षरतावादी वा हिन्दू राष्ट्रका विरोधी सबै छेऊ लाग्न बाध्य हुन्छन् । प्रजातन्त्रको सबैभन्दा डरलाग्दो र लोभलाग्दो खुवी भनेको नै यसमा जनताले आफ्नो अभिमत प्रकट गर्न पाउँछ र, त्यही अभिमतअनुसार सरकारको दिशा तय गर्न पाउँछ ।

नेपाललाई हिन्दूराष्ट्रका रूपमा स्थापित गर्न कमसेकम प्रचण्डका भाषामा ‘क्रमभंग’ गर्न सक्ने ‘जुन जोगी आए पनि कानै चीरेको’ भन्ने परम्परागत नकारात्मक बुझाईलाई चिर्न सक्ने विचारसंग नेतृत्व गर्ने व्यक्तिको उदय हुनुपर्छ । विश्वको भूराजनैतिक शैली नेपाललाई हिन्दूराष्ट्र बनाउनेहरूका विरुद्ध होला तर जतिसुकै विरुद्ध भए पनि जनताले भोट दिएपछि तिनको केही लाग्दैन । अनन्तः ती सबै जनताको अभिमत स्वीकार गर्न बाध्य हुने छन् । क्रमभंगको अर्थ हो – अहिले नेपालमा चर्चामा रहेक हिन्दूराष्ट्रवादीहरूलाई जनताले पत्याएनन् । निर्वाचन आयोगमा दर्ता भएर चुनावमा भाग लिएका हिन्दूवादीहरूको नेतृत्वलाई जनताले पत्याएनन् वा नेताहरूका विचार र योजनालाई विश्वास गरेर जनताले भोट खसालेनन् । धर्मनिरपेक्षतावादमा खस्ने जनभोट हिन्दूराष्ट्रवादमा खसाउन तयार पार्ने विचार र व्यबहार भएको नेतृत्व अहिलेको आवश्यकता हो ।

उपर्युक्त विचारसँग असहमत हुनेहरूले पनि स्वीकार गर्नुपर्छ कि ८०% हिन्दूहरू मध्येबाट नै भोट खसेर वर्तमान धर्मनिरपेक्षतावादी सरकारहरू निर्माण भएका हुन् । यसको सरल अर्थ के हो भने धर्मको महलमा हिन्दू लेख्नेहरूले समेत धर्मनिरपेक्षतावादीहरूलाई समर्थन गरे । एउटा जादुई नेताले आफ्नो विचार र योजनाका माध्यमबाट हिन्दूहरूले धर्मनिरपेक्षतावादीहरूलाई खसाल्ने भोट, धर्मसापेक्ष हिन्दूराष्ट्रका पक्षमा खसाल्ने बनाउनु पर्ने छ । धर्मको महलमा हिन्दू लेख्ने तर भोटचाहिं हिन्दू धर्म, संस्कृति तथा परम्पराका विरोधी राजनैतिक शक्तिलाई दिने विरोधाभाषपूर्ण मानसिकतालाई चिर्ने नेतृत्व भएको दिन नेपाल हिन्दूराष्ट्र बन्छ ।

स्वाभाविक रूपमा हिन्दूधर्म र संस्कृतिका अनुयायीहरू अब्राहमिक तथा कम्युनिस्टजस्ता कट्टरपन्थी र जडवादी छैनन् । यही मानसिक उदारतामा खेलेर विदेशीहरूले धर्मनिरपेक्षताका नाममा आफ्ना अनुकुल राजनैतिक व्यक्तित्वहरू नेतृत्वमा ल्याउँछन् । र, सम्भावना के पनि छ भने यस्तो तत्थ्य नेतृत्वलाई पनि थाहा नहुन सक्छ । प्रयोग हुँदैजाँदा यतिविध्न बाध्य हुन्छन् कि जानेर पनि विरोध गर्न सक्दैनन् । स्थिति एस्तो हुन्छ कि उदारतावादका नाममा राष्ट्रनै ध्वस्त भएको पनि अस्वीकार गर्छन् । विदेशी प्रतिमानको भक्तिमा राष्ट्र डुब्दा पनि तिनलाई कुनै पीडाबोध हुँदैन । देशका ८०% हिन्दुभोटको अपमान गर्दै उनीहरू विदेशी कित्तामा उभिने बढी सम्भावना हुन्छ ।

नेपाललाई हिन्दूराष्ट्रका रूपमा स्थापित गर्न ८०% जनताको प्रचण्ड बहुमत छ, त्यसैले ‘हिन्दूराष्ट्र सम्भव छैन’ भन्नेहरू गणितीयरूपमा सही छैनन् । तर हिन्दूराष्ट्रको पक्षमा उभिने नेतृत्व क्रमभंग, निराशावाद र विदेशी भक्तिबाट मुक्त भएको र निर्भिक हुनुपर्छ । क्रमभंगको उदाहरण काठमाडौंका मेयर हुन् । उनले ४ बटा सांसदको भोट एक्लै पाएका हुन् । यसको सीधा गणित के हो भने जनताले कांग्रेस, कम्युनिष्ट र समाजवादीहरूको प्रचारप्रसार गरे तर भोटचाहिं बालेनलाई नै दिए । बालेन क्रमभंग गर्ने व्यक्ति हुन् । हिन्दू राष्ट्र वा सनातन धर्मसापेक्ष राष्ट्रका पक्षमा उभिने व्यक्ति क्रमभंग गर्ने बैचारिक र व्याबहारिक क्षमता भएको हुनुपर्छ । सायद, हिन्दूराष्ट्रको परम्परागत राजनीति गर्ने पार्टी वा व्यक्तिसँग यस्तो क्रमभंग गर्ने क्षमता भएन, तेसैले हिन्दूराष्ट्रका पक्षमा पर्याप्त मत प्राप्त भएनन् ।

नेपाललाई हिन्दूराष्ट्र बनाउने सङ्कल्प लिएको नेतृत्वले नेपालका परम्परागत राजनैतिक शक्तिहरूको आवश्यकता भन्दा बढी आलोचनाबाट जोगिनु पर्ने छ । नेपाली जनताहरूका लागि कम्युनिस्ट हुनु कांग्रेसआदि हुनु ‘धर्म’माने सरह नै हो । आफुले परम्परागत रूपमा भोट दिएको पार्टी विरुद्ध हजारौं असन्तुष्टी होलान् तर भोट खसाल्ने बेलामा कांग्रेस–धर्म र कम्युनिस्ट धर्म पालन गरिरहेका हुन्छन् । त्यसैले परम्परागत पार्टीको कडा आलोचना गर्दा आस्थाको भोटरउपर राम्रो संदेश जाँदैन । नेतृत्वको उद्देश्य हिन्दू लेख्नेहरूले हिन्दुराष्ट्रका पक्षमा भोट खसाल्नु भन्नेमात्र हुनुपर्छ । भारतीय राजनीतिमा हिन्दूहरूको बर्चश्व हुँदा नेपाली हिन्दूहरूमा हिन्दूराष्ट्रका पक्षमा सकारात्मक दृष्टिकोण स्थापित गर्न सजिलो छ । सायद, राजनीतिले यही भन्छ ।

नेपाली जनताको मानसिकता चरम निराशावादी बनेको छ । हाल प्रचलनमा रहका कुनै पनि राजनैतिक पार्टी र तिनको नेतृत्वप्रति विश्वास छैन । भोट दिंदैमा विश्वास हुन्छ भन्ने तर्कना सही हुँदैन । लेखकका यी अभिव्यक्तिलाई प्रमाणित गर्नु छ भने पांचजना मान्छे बसेको चिया पसलमा छिरे हुन्छ । त्यहाँ नेपाली राजनीति र नेतृत्वको आलोचना, अविश्वास र अनैतिक व्यबहारको चर्चा हुन्छ । यसको अर्थ हो – हिन्दूराष्ट्रको पक्षमा राजनीति गर्ने व्यक्तिका विषयमा चियापसलहरूमा निराशाजनक अभिव्यक्तिहरूको अन्त्य हुनुपर्छ । जुनजोगी आए पनि कानै चीरेको भन्ने प्रतिमान “यो जोगीले पक्कै गर्छ“ भन्ने प्रतिमान स्थापित हुनुपर्छ । राजनैतिक महत्वाकांक्षीले आफ्नो विचार, बोली र गराईबाट जनमानसमा उपरोक्त विश्वास र आस्था जगाउन सक्नुपर्छ ।

हिन्दूहरूलाई भ्रमित गर्न अनेकौं प्रपन्चहरू हुन्छन् । उदाहरणका लागि ‘हिन्दू हुनु विभेदकारी हुनु हो. हिन्दू हुनुभनेको अन्धविश्वासी हुनु हो, हिन्दू हुनु भएको यथास्थितिवादी हुनु हो, हिन्दू हुनु भनेको प्रगति विरोधी हुनु हो, हिन्दु हुनु भनेको परिवर्तन विरोधी हुनु हो र हिन्दूहरू शरणार्थी हुन्ज’स्ता लज्जास्पद भाष्यहरू तयार गरेर मिलोमतो पूर्वक नै हिन्दू समुदायलाई ‘हीनताबोध’को गहिरो खाडलमा खसालिएको छ । एउटा कट्टरपन्थी मुस्लिम वा इसाईलाई धर्मनिरपेक्षतावादी मान्ने र उदारवादी हिन्दू संस्कृतिका विन्रमअनुयायीलाई कट्टरपन्थी मान्ने मनोविज्ञान रोपिएको छ । दक्ष हिन्दु राजनैतिक दृष्टिकोण भएको व्यक्तिले बलियोसंग उपर्युक्त भाष्यलाई अस्वीकार गर्नु पर्छ र हिन्दू भएकोमा गौरव गर्ने परिवेश र मनोविज्ञानको सृजना गर्नुपर्छ ।
अन्त्यमा, नेपालको ८०% जनसंख्या हिन्दू भएको हुँदा हिन्दूराष्ट्र कुनै सपना होइन, निश्चित, विवेकपूर्ण र बास्तविकता हो । परम्परागत शैली र नेतृत्वले नेपाली जनताको विश्वास गुमाएको हुँदा समालोचनात्मक दृष्टिकोण भएको, विचार, बोली र कर्ममा जादुई एकता भएको, वैदिक हिन्दू संस्कृतिमा गौरव गर्ने र गर्न सिकाउने नेतृत्व विकासतिर सबै हिन्दूहरूको ध्यान केन्द्रीत हुनुपर्छ । धेरै पार्टी हुनु नराम्रो होइन तर धेरै पार्टी भएर पनि एउटा अविजित नेतृत्व तयार गर्न नसक्नु र हिन्दू जनतालाई हिन्दूराष्ट्रको पक्षमा मतदान गर्न तयार पार्न नसक्नु उचित होइन । हिन्दू एकताको कुरा होइन एकता गरौँ, हिन्दू राष्ट्रको कुरा होइन ८०% हिन्दूहरूको अभिमत भोटपेटीमा खसाउन अभिप्रेरित गर्ने नेतृत्व विकासतिर केन्द्रित हौँ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सशस्त्र प्रहरी जवान १६ वर्षमा अवकाशमा जान पाउने प्रावधानलाई कानुनमा समावेश गर्छौंः गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सीमाको सुरक्षा र अवैध गतिविधि रोकथाम, विपद् व्यवस्थापन

रविलाई परिवारको जिम्मा लगाउन आदेश, थुनछेक बहस बिहीबार

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अदालतले बिहीबार उपस्थित हुने सर्तमा

एमसीसीले अहिले फाइदा गरिरहेको छ भन्नेकुरा सबैले देखेः सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना(एमसीसी) राम्रो रहेको कुरा

‘सामाजिक सञ्जालको प्रयोग तथा नियमन’सम्बन्धी विधेयक संसदमा पेश गर्ने सरकारको निर्णय(मन्त्रिपरिषदको निर्णयसहित)

काठमाडौं । सरकारले ‘सामाजिक सञ्जालको प्रयोग तथा नियमनसम्बन्धी विधेयक २०८१’ लाई संसदमा पेश