सत्ता गठबन्धनको निष्कर्षः सरकारको विकल्प खोज्ने बाटो संसद र नयाँ जनादेश नै हो, सडकबाट होइन
काठमाडौं । सत्ता गठबन्धनले सडकबाट सरकारको विकल्प खोज्ने कुरा स्वीकार्य नभएको बताएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सडकबाट लोकतान्त्रिक व्यवस्था र सरकारको विकल्प खोज्ने कुरा कुनै पनि अर्थमा स्वीकार्य हुन नसक्ने बताएको हो ।
बैठकले सरकारको विकल्प खोज्ने बाटो संसद र नयाँ जनादेश भएको बताएको छ । बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ’सडकबाट लोकतान्त्रिक व्यवस्था र सरकारको विकल्प खोज्ने कुरा कुनै पनि अर्थमा स्वीकार्य हुन सक्दैन । लोकतन्त्रको विकल्प अझ उन्नत स्तरको लोकतन्त्र हो र सरकारको विकल्प खोज्ने बाटो संसद र नयाँ जनादेश नै हो । त्योभन्दा भिन्न तरिकाबाट अघि बढ्ने प्रयास लोकतन्त्रको मूल्य र मान्यताविपरीत छ ।’
बैठकले अराजकतालाई प्रोत्साहन गर्ने, राजनीतिक अस्थिरतालाई बल पुर्याउने तथा सुशासन र विकासको नेपाली जनताको आकांक्षालाई असर पुग्ने गरी विभिन्न नाम र स्वरुपमा हुने अवाञ्छित गतिविधि उचित नभएको निष्कर्ष पनि निकालेको छ ।