फणीन्द्रलाई सर्वोच्चको राहत, कारबाहीको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश
काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेश सभाका सदस्य फणीन्द्र देवकोटाको रिटमा अन्तरिम आदेश जारी गरेको छ ।
सोमबार सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले देवकोटालाई कारबाही गर्ने नेकपा माओवादी केन्द्र र सभामुख कृष्णप्रसाद धितालको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो । देवकोटाले आफूमाथि गरिएको कारबाही बदरको माग गर्दै सर्वोच्चमा असार ६ गते रिट दायर गरेका थिए ।
रिटमा उनले आफू नेपाल समाजवादी पार्टीकै सांसद रहेको दाबी गर्दै माओवादीले कारबाही गर्नै नसक्ने उल्लेख गरेका थिए । गत निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितको गठबन्धनबाट देवकोटाले चुनावमा भाग लिएका थिए ।
प्रदेशसभा निर्वाचनमा देवकोटासहित नेपाल समाजवादी पार्टी (नेसपा)का प्रतिनिधि माओवादी केन्द्रको चिह्नबाट प्रतिस्पर्धा गरेका थिए । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेको पक्षमा विश्वासको मत दिएपछि माओवादी केन्द्रले उनलाई कारबाही गरेको थियो ।
माओवादी केन्द्रले पार्टीको ह्विप उल्लङ्घन गरेको भन्दै कारबाही गरेको थियो । पाण्डेलाई विश्वास दिएपछि उनी गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा नियुक्त भएका छन् ।