राजनीतिको राममन्दिर
डा. गोविन्दशरण उपाध्याय ।
अयोध्यामा राम मन्दिरको निर्माण र उद्घाटन दुवै भारतको आन्तरिक मामिला हो तर श्रीराम वैश्विक हुन् । मन्दिर नै बनाएपछि मन्दिरमा पूजा गरिने अर्चा–विग्रहको वैदिक विधिअनुसार प्राणप्रतिष्ठा हुनुपर्छ । यदि विधि पुग्ने परिस्थिति छैन भने मन्दिरको उद्घाटन गर्न मिल्छ । प्राणप्रतिष्ठा रिती पुर्याएर पछि गर्दा पनि हुन्छ । राम मन्दिर र आचार्यहरूलाई विवाद र अश्रद्धाको विषय बनाउनु हुँदैन । आचार्य र सन्तका सवालमा सन्यासी विद्वान् Raman Swami को सुझाव मनन योग्य छ ।
हाल राममन्दिरको मुद्दाले सनातनका महान् आचार्यहरू शंकराचार्यले ‘प्राणप्रतिष्ठा’ शास्त्रीय विधानअनुसार हुनुपर्छ भन्ने अभिव्यक्ति दिएका छन् भने सत्ता निकटरहेका केही वैष्णवआचार्यहरूले (दृष्टिविहिन रामभद्राचार्यसहित केहीले) प्राणप्रतिष्ठाको लागि समय उचित रहेको जिकिर गरेका छन् । भारतीय राजनीति बुझ्नेले रामभद्राचार्य सत्ता निकट व्यक्ति हुन् भन्ने बुझेका छन् । भारतीय सरकार, सरकारी सन्तले चाहँदैमा शास्त्रीय विधानहरू परिवर्तन हुँदैनन् । सत्य के हो ? त्यो तत्थ्य ज्योतिषी तथा कर्मकाण्डका गुरूहरूले बुझेका छन् । धर्मध्वजको पक्ष लिनु भएको नर्कको ढोका आफै खोल्नु हो । मेरो आसय, कसैलाई आक्षेप गर्ने नभएर वैदिक सत्यको पक्षपाती हुनुपर्छ भन्ने हो ।
–राजनीतिको लक्ष सत्ता प्राप्ति र सत्ताको उपयोग हुन्छ । भारतीय जनता पार्टीले हिन्दुत्वलाई आधार बनाएर सत्ता प्राप्ति गरेको हो । त्यसले राम मन्दिरको उद्घाटनलाई आफ्नो सत्ताको साँचो ठान्नु कुनै अनौठो होइन । भारतीय जनता पार्टीले राम मन्दिरको मुद्दासंग हिन्दुत्वको राम्रो जागरण गरेको छ । यसको प्रशंसा गर्नुपर्छ । साथै, सनातन धर्मका महान् शंकराचार्यहरूको मान मर्दन गर्नु हुँदैन । आचार्यहरूले शास्त्रकै आधारमा सत्य बोलिरहेका छन् भन्ने तत्थ्यमा मेरो शंका छैन । शंकराचार्यहरूको सयुक्त भावना बुझ्दा उहाँहरूले राममन्दिरको निर्माण तथा उद्घाटनलाई सनातन धर्मको गौरवका रूपमा स्वीकार गरेका छन् । विमति केवल “प्राणप्रतिष्ठा“संग हो, उद्घाटनसँग होइन ।
आजको मितिमा नवनिर्मित राम मन्दिरको उद्घाटन प्रकरणमा आचार्यहरूको मत विभाजन हुँदा सरकारी सन्त, पण्डित तथा अभियन्ताहरूले शंकराचार्यहरूको कठोर आलोचना गर्दै ‘हिन्दू विरोधी शक्ति’का रूपमा प्रचारित गर्दैछन् । यो हिन्दू संस्कृतिका अनुयायीहरूका लागि आत्मघाती चरित्र हो । शंकराचार्यहरू सहित सबै आचार्यहरू धर्मका व्याख्याता र केही अर्थमा धर्मका विग्रह नै हुन् । राम मन्दिरको प्राणप्रतिष्ठाका विषयमा अभिमत प्रकट गर्दैमा उहाँहरूको एतिबिध्न आलोचना हुनुहुँदैन ।
भारत सरकार, राममन्दिरको संचालक समिति, राममन्दिरको प्राणप्रतिष्ठालाई समर्थन गर्नेहरूले शंकराचार्यहरूका प्रश्नको समुचित उत्तर दिनुपर्छ । अन्यथा, भारतीय जनता पार्टीले पनि हिन्दूहरू बीच विभाजनलाई सहयोग गरेको आरोप सिद्ध हुन्छ । प्राणप्रतिष्ठा वैदिक र तान्त्रिक विधिले गर्नु पर्ने निर्देश शास्त्रहरूले यत्रतत्र दिएका छन् । रिक्ता तिथिमा प्राणप्रतिष्ठा गर्न मिल्दैन भन्ने प्रष्ट शास्त्रीय विधान छ । यदि कुनै शास्त्र विधिले उपर्युक्त परिवेशमा पनि प्राणप्रतिष्ठा गर्न मिल्ने बताएको छ भने सर्वसाधारणका विचमा सप्रमाण आउनु पर्छ । यसले माथिल्लोतहमा विभाजन भए पनि जनता विभाजित हुँदैनन् ।
‘सात वर्षपछि पोइ आएको, म जोइलाई ज्वरो आएको’ भनेझैं बल्लबल्ल हिन्दू गौरवको राम मन्दिरले मूर्त रूप लिंदै गर्दा हिन्दुहरूमा विभाजन आउनु वा आफ्नै संस्थाका आचार्यहरूप्रति घृणा, उपेक्षा तथा असम्मान देखिनु उचित होइन । नेपालमा पनि उपरोक्त आसयका बहस चलिरहेका छन् । नेपालको एउटा समुदायले त झन् ‘भारतीय अयोध्या कपोल कल्पित हो, असली अयोध्या नेपालको ठोरीको हो’ भन्ने सप्रमाण दावी गरिरहेको छ । यो कुरालाई सुन्ने हो भने अयोध्या र त्यहाँ नवनिर्मित राममन्दिर सांस्कृतिक अर्थमा हिन्दु गौरवका प्रतिक भए पनि सैद्धान्तिक अर्थमा भारतीयहरूको बल मिचाई हो । केपी ओलीले ठोरीमा राम, सीता, लक्षण र हनुमानकको मूर्ति पुर्याएर ‘अयोध्या नेपालमा छ’ भन्ने तथ्य्य प्रमाणित गर्न खोजेका हुन् । धेरै नेपालीले उपर्युक्त कुरा पत्याएनन् । धेरै नेपालीहरू भारतीय अयोध्यामा अभ्यस्त छन् ।
मैले बुझेको र जानेको कुरा के हो भने अयोध्याको नवनिर्मित राममन्दिर पवित्र धार्मिक थलोमात्र नभएर राममन्दिर लगायतका हिन्दूहरूको गौरवलाई महत्व दिएर भारतीय सत्तामा पुगेको भारतीय जनता पार्टीको राजनैतिक उन्नयनको प्रमुख प्रतिमान पनि हो । राम मन्दिरको उदघाटनले भारतीय जनता पार्टीको अभिष्ट पूरा हुन्छ । वैदिक विधिअनुसार सबै रितिथिति मिलाएर प्राणप्रतिष्ठाको विधि पछि गर्दा सबैको विजय हुन्छ ।
राम सबैका हुन् । त्यसैले यस विषयमा चासो हुनु, सार्वजनिक वहस गर्नु स्वाभाविक हो । भगवान् रामको काम गर्दा शास्त्रको मर्म विपरित हुनुहुँदैन किनभने राम साक्षात धर्ममूर्ति, मर्यादा पुरुषोत्तम हुनुहुनुहुन्छ । राम मन्दिर उद्घाटनको स्वागत गर्दै शास्त्रीय विधिअनुसार प्राणप्रतिष्ठा गर्न निवेदन गर्नुपर्छ । नेपालबाट यो भन्दा बढी केही गर्न/भन्न मिल्दैन । रामाय रघुनाथाय रामचन्द्राय बेधसे । रघुनाथाय नाथाय सीतायाः पतये नमः ।