अर्थको अनर्थ अर्थात् अर्थवाद
डा. गोविन्दशरण उपाध्याय ।
जसरी जुन संस्कार वा पर्व मानिन्छ वा मनाइन्छ, त्यसको बास्तविक अर्थ, प्रयोजन र उद्देश्य तेसैले प्रष्ट पारिरहेको हुन्छ । आधुनिक विज्ञानसंग जोड्ने नाममा (विज्ञानसम्मत देखिने रहरमा) अर्थको अनर्थ नगरौं । भगवती दुर्गाको बास्तविक अस्तित्व छ । उहाँको आराधना गरे पनि नगरे पनि विश्वको कल्याण गर्नुनै हुन्छ । नवरात्रको उपासनालाई अमुर्त अर्थवादको भुमरीमा अनर्थ नगरौं । यी अनर्थहरुले भ्रमको सृजना गर्छन् ।
वैदिक सनातनीहरूले जानेर वा नजानेर आधुनिक विज्ञानसंग जोड्ने चक्करमा संस्कार तथा पर्वहरूमा गरिने उपासना र संस्कारहरूको अमूर्त अर्थ गरिरहेका हुन्छन् । आगो पनि उर्जा नै हो, विजुली पनि उर्जा नै हो तर उपासना तथा आराधनाबाट प्राप्त हुने “फल“को तुलना यी भौतिक उर्जासंग हुँदैन । भौतिक उर्जाको प्रयोजन भौतिक संसारसम्म सीमित हुन्छ भने तपस्याबाट प्राप्त हुने उर्जा आराध्यदेवको कृपाले प्राप्त हुन्छ र यो विशिष्ट हुन्छ ।
अर्थववादीहरू हरेक धर्म, संस्कृति तथा परम्परामा हुन्छन् । अर्थवादीहरू बडो धूर्त हुन्छन् । हरेक पर्व र ती पर्वका संस्कारहरूलाई ‘आफ्नो अर्थ’ दिएर स्वार्थपूरा गर्न काममा यी बडो चतुर हुन्छन् । उदाहरणका लागि रामनवमी, कृष्णाष्टमी, नवरात्रजस्ता वैदिक, तान्त्रिक तथा स्मार्त पर्वहरू कसरी मनाउने भनेर शास्त्रहरूमा उल्लेख छ तर तिनै अर्थहरूलाई अर्थवादमा रुपान्तरित गरेर जन्माष्टमीलाई ‘महाफिली’ बनाएर वर्षभरि खर्चको जोहो गर्नेहरू अर्थवादी हुन् भने शास्त्रका बचनहरूलाई आफ्नो अनुकुल व्याख्या गर्नेहरू पनि अर्थवादी नै हुन् । आजभोली मात्र होइन, इतिहासमा पनि अर्थवादीहरूको अनर्थ राइछाई थिए र अहिले पनि छन् । सामूहिक ब्रतबन्ध, सामुहिक विवाह, एक महिना पहिले देखिनै तीजको दरखाने चकन यी सबै अर्थवादका उदाहरण हुन् ।
अर्थवादको इतिहास निकै पुरानो छ । शास्त्रहरूले स्थापित गरेका पर्व, संस्कारआदिमा आफ्नो अनुकुल अर्थ लगाएर आफ्नो स्वार्थपूर्ति गर्ने व्यक्ति र समुदाय धेरै छन् । उदाहरणका लागि योगकै कुरा गरौँ । महर्षि पतंजलिको योग (यम, नियमआदि) र अष्टचक्र सिद्धान्तहरूलाई आधार बनाएर अनेकौं ‘योगा’हरू विकसित गरिएका छन् । यसरी विकसित गरिएका ‘योगा’को मनोमानी प्रयोग हुन्छ । यदाकदा सम्बन्धित सिद्धान्तकारले आफुलाई महर्षि पतंजलि भन्दा पनि श्रेष्ठ भएको घोषणा गर्छन् । यस्तै अर्को अर्थवादको उदाहरण हो – भगवान् श्रीकृष्ण र उहाँले उपदेश दिएको गीता । गीतालाई मान्ने तर कृष्णलाई नमान्नेहरू अर्थवाद (अनर्थवादी) नै हुन् । गीताको श्लोकहरूको मनोमानी व्याख्या गर्दै ‘आफू नै गीताको सही अर्थ जान्ने व्यक्ति भएको’ उद्घोष गर्ने थुप्रै छन् । यदि कसैले कृष्णलाई मान्दिन तथा गीताचाहिं मान्छु भन्छ, त्यो भक्ति र त्यसका सम्पूर्ण अनुयायीहरू अर्थवादी हुन् ।
नवरात्रको अवसरमा जमरा राख्ने देखि लिएर दशैंका दिन टीका–आशिर्वाद ग्रहण गर्ने कार्यहरू भौतिक रूपमा नै सम्पादन हुन्छन् । त्यसैले यी संस्कारहरुको अर्थवाद आवश्यकता छैन । अर्कोकुरा, शास्त्रहरूले प्रष्ट रूपमा यी पर्वहरूको प्रयोजन अर्थ र उद्देश्य बताएकै छन् । अध्यात्म होस् वा विज्ञान मानवको पहुँच अत्यन्त थोरै छ । पर्व र संस्कारका सवलमा शास्त्रहरूले स्थापित गरेका अर्थहरूलाई जस्ताको तस्तै स्वीकार्दा पर्वहरूको उद्देश्य सिद्ध हुन्छ ।
हरेक पर्वको इतिहास हुन्छ । कुनै पनि पर्व इतिहास विना बन्दैनन् । दशैं, तिहास, होली, तीजआदि सबै पर्वको इतिहास छ । त्यो इतिहासले सम्बन्धित पर्वको निर्माण, उद्देश्य तथा परिणाम सबै बताएको हुन्छ । हो, समय तथा ठाउँअनुसार एकै प्रकृतिका पर्व र संस्कारहरू पनि फरक तवरले मनाउन सम्भावना हुन्छ तर मूलार्थमा कुनै भिन्नता हुँदैन । नवरात्र जसरी मनाए पनि महादेवी दुर्गाकै उपासना हुन्छ । उदाहरणका लागि नेपाल र बङ्गालकामा महाअष्टमीका दिन पशुपक्षीको बलि दिने चलन छ भने उत्तरभारत जसमा दिल्ली, उत्तरप्रदेश, मध्यप्रदेश, महाराष्ट्रआदिमा पशुबलि दिने कुनै प्रचलन छैन । पशुपक्षीको बलि दिने र केवल अन्नफलको बलि दिने दूवै चलन वैदिक संस्कृतिका अङ्ग हुन् । तर पशुपक्षीको बलि दिंदा पालन गर्नु पर्ने नियम निकै कडा छन् । देवीलाई पशुपक्षीको बलि दिन तम्सिन सजिलो छ तर नियमहरू पालन गर्न निकै कठीन छ । विधिविधान पूर्वक पशुबलि दिन नसक्नेहरू नर्कमा पर्छन् ।