मनोरञ्जन क्षेत्रमा मेरा पाइला



–कुसुम (नाम परिवर्तन)
जुरुक्क उठेँ, ओहो ! आजबाट त काममा जानुपर्छ, भन्दै हतार हतार तयार हुन थालें। गुलाबी टिर्सट र कालो पाइन्ट लगाएर म घरबाट निस्केँ । ठमेलको एउटा मसाजमा मेरो कदम गएर रोकिन्छ । मसँगै भएको दिदिले, ‘यहि हो हामी काम गर्ने ठाँउ’ भन्नुभयो । अनि भित्र पसेर हामीले त्यहाँ भएको दुईवटा कोठा सफा गर्यौं । काम सकेर सोफामा बसेर दिदीहरुको गफ सुन्दै थिएँ, सर्ट पाईन्ट, स्टकोट र ढाका टोपी लगाएको करिब ६० वर्ष जतिको देखिने मान्छे ढोकाबाट भित्र छिर्यो । उसले म सँगै बस्नुभएको दिदीहरुलाई ‘के छ खवर ?’ भन्दै गर्दा तिर्खाएको नयन म तिर देखिन्थ्यो । उसले १००० रुपैयाँ निकालेर, ‘लौ एक घन्टा मसाज गरुम, यो बहिनीलाई पठाईदिनु’ भन्दै अर्का कोठातिर लम्कियो । त्यहाँको साहुनीले मलाई हिडँ भन्दै एउटा तेलको भाँडो लिएर अर्को कोठामा लगिन् । म भने खुट्टा कमाउदै पछिपछि त्यस कोठाको ढोकामा पुगें । भित्रबाट ‘नयाँ बहिनी आउँदैनन’ भनेको आवाज मेरो कानमा गुञ्जियो । केहि छिनमै ‘मलाई नडराई जाउँ भन्दै’ साहुनीले भित्र पठाइन ।

एउटा कोठालाई तिन ठाँउमा घेरेको, पर्दा लगाएर अँध्यारो भएको देख्दा मुटु बेस्सरी धड्किन थाल्यो र खुट्टाको पाइला चुम्बकले तानेको जस्तो भयो । मन नभई नभई पाइला अगाडि बढेँ । सेतो तन्ना ओछाएको, अग्लो खाटमा पछ्यौराले बेरेर हजुरबुबा उमेरको मान्छे पल्टेको देख्दा शरीरमा काँडा नै उम्रियो । ‘आउ, आउ’ भन्दै उसले मलाई बोलायो । मेरो मन ढक्क फुल्यो, आवाज नै हरायो । उ भने पछाडी फर्केर डङरङ लम्पसार पदैं ‘ल मसाज सुरु गर’ भन्दैथ्यो । डराएर कापेका मेरा यी कलिला हात उसको खस्रो छालामा थिच्न पुगेँ । उसले पिएको रक्सीको गन्ध कोठामा चारैतिर भरियो । सास फेर्न नै गाह्रो हुने यो कोठामा एक घण्टा कसरी बिताउने भनेर पिर पर्नथाल्यो ।

बिस्तारै उसको फलाम जस्ता हातले मेरा हातहरु सुम्सुम्यायो । अचानक एकदमै चर्का घाममा बसेर पसिनै पसिनाले भिजेको जस्तो भयो मेरो अनुहार । अनि झटार्दै उसको हात मेरा शरीरबाट हटाएँ । फेरी, अगाडि फर्केर मलाई तान्दै ‘यता आउ’ भन्यो। मैले ‘मसाज गर्न आएको होइन किन यस्तो गरेको’ भन्दै प्रश्न गरें । ‘भर्खरै नयाँ रहेछौ, यहाँ त यस्तै हुन्छ’ भन्दै फेरी कमरमा छुन थाल्यो । म निशब्द थिए, एक्कासी मेरा आँखाबाट आँसु झरे । भोलिबाट त म यस्तो ठाँउमा आउँदिन भन्दै सोच्दै थिए, मोबाइलको रिङ्गटोन टिर्रटिर्र बज्न थाल्छ । बुबाको मधुरो आवाज, आफ्नै बाध्यता र विवस सुनिन्थ्यो । भुकम्पले भत्किएको घर बनाउन आएको पैसा पनि सबै छोरीको बिहेमा सक्यो, अब के गर्ने होला ? भन्दै बुबा घर छोडेर जान्छु भनेर रुदै हुनुहुन्छ । फेरी आमाले सधै खाने औषधि किन्ने पैसा पनि छैन । फोनबाट आएका ति आवाजले मलाई झन अलमल्ल  पार्यो । अहिले केही काम नपाएको बेला घरको तनावग्रस्त कुराले मलाई त्यस अन्धकारमा ढल्न बाध्य बनायो ।

“तिमी यति राम्री भर्खर कै भएर मैले रोजेको, अब मेरो मुड अफ नगर भन्दै मलाई आफुतिर तान्यो । ‘बरु कति पैसा लिन्छौ भन म दिन्छु’ भनेर मलाई शिकार गर्न हिँडेको शिकारी जस्तै गर्यो । म केही बोल्न सकिनँ । उसका हातहरु अझै मेरा शरीरका अंगहरुमा नाच्न थालेँ । के गरौ कसो गरौं भन्दै डाको छोडेर रुन थालेँ । ‘कस्तो मुड नै अफ भयो, अर्का चोटी आँउदा चाँही यस्तो गर्ने होइन है’ भन्दै शरीरमा लुगा लगाएर बाहिर निस्कियो । म केहीबेर  अझै रुँदै मनमा आफुले आफैलाई ‘के साँचिकै मैले सधै यस्तो गर्नुपर्ने हो’ प्रश्न गरिरहें  ।

अब मेरा दिन त्यहाँ भएको झिलिमिलि संसारको अन्धकारमा डुब्न थाल्यो । विभिन्न ठाँउबाट आएर रम्ने यहाँ म पनि भित्र हराउँदै छु । यो हल्लामा मेरो मनको व्यथा सुनिदिने कोही छैन । कसैसंग पनि म आफु कहाँ काम गर्छु भन्ने आँट छैन । संगै काम गर्ने दिदीहरुलाई आफ्नो पिडा भन्दा चुट्किला झै हाँसेर उडाउनुहुन्छ । चलिआएको परम्पराले गर्दा होला परिवारलाई भन्न खोज्दा आफ्नै चरित्रमा औँला उठ्ने डरले मेरा शब्द बिलाउदै जान्छ । हरेक दिनका ति तुच्छ शब्दले म भित्रका आत्मसम्मान र आत्मबल मर्दै छ । म यसरी अरुलाई खुसी दिन आफु यस दलदलमा बाँच्नुलाई बाध्यताको लागि जन्मेको प्रश्नले भित्रभित्र छुरा हानिरहेको छ ।

मेरो मर्म बुझ्ने कोही नभएको प्रश्नले मस्तिष्क भरिरहन्छ । कोही आएर मलाई देख्ला र के भन्ला भन्ने डर मनमा रहिरहन्छ र ढोकामा कसैको छाँयाबाट नै पनि मन झस्किरहन्छ । म कोही आफन्तको आँगनमा पाइला राख्ने र कसैसंग आँखा जुधाएर बोल्ने हिम्मत गर्न सक्दिन । मेरो बाध्यताको फाइदा लुट्ने व्यक्तिहरु भन्दा म कसरी गलत भए भन्ने प्रश्नले मलाई आफुलाई नै घृणित नजरले हेर्छ । मैले वर्षौ दुख गरेर अध्ययन गरेरपाएका ति सर्टिफिकेटहरु आज यहि दिनका लागि रहेछ, शिक्षक र साथीहरुको अगाडि भबिष्यमा राम्रो डाक्टर बन्ने लक्ष्य बताउने मसबै आशा र चाहना हावा जसरी उड्दै गएको महशुस गर्दछु । साँच्चिकै अब मेरो केहीे अस्तित्व नभएको महशुस हुन्छ र एकान्तमै रोएर मेरा दिनहरु बित्छन् । मेरा हरेक सास अरुलाई बचाँउन र रमाउन मै जादैँछ । यसरी बाध्य भएर मेरा जीवनका अमुल्य ३ बर्ष पीडादायीरुपमा बिताउँदै थिएँ ।

सधैँ झै टोलाएर बसिरहेको बेला एक्कासी मिठो स्वरमा “नमस्ते” को आवाज ढोकाबाट भित्र आउँछ । हरेक ति तुच्छ स्वार्थले भरिएको पुरुषका आवाज गुन्जिरहने ठाँउमा, हामी जस्तै दिदीको आवाज सुन्दा मन आफैमा रमाउन थाल्छ । उहाँहरु एउटा संस्थाबाट आउनुभएको रहेछ । उहाँले मेरो बारेमा सोध्दै “मोबाइल काउन्सेलिङ क्याम्प गर्न लागेका छौं आउनु है, तपाईहरुको लागि सहयोग पुग्ने खालको कार्यक्रम हो” भनेर उहाँले भनिरहदा कोही आफन्तआएर बोलाइरहेको जस्तो महशुस भयो । फेरी उहाँले मलाई हेरेर मुस्कुराउदै ‘आउनु है अफिसमा’ भन्दा मनमा आन्नदको हावा छिरेको जस्तै भयो र जन्जीरमा बाँधिएका मेरा पाइलालाई त्यहाबाट कोही आई निकाल्दै छन् भन्ने आभास हुँदैगयो ।

उहाँले बोलाउनु भए अनुसार म त्यस संस्थाको कार्यक्रममा जान थाले । उक्त संस्थाको नाम छोरी रहेछ । त्यहाँ जाँदा उहाँहरुको बोलीचाली र ब्यवहारले साच्चै हामी जस्तै छोरीहरुको लागि काम गर्ने संस्था जस्तो अनुभुति भयो । जब छोरी अफिसको घण्टी मेरो फोनमा बज्छ अनि मन्द मुस्कान मेरो अनुहारमा झल्किन थाल्छ । म्यामसंग गरेका ति एक घण्टाको गोप्य भालाकुसारीहरुले अहिले सम्झिँदा पनि एउटा रमाइलो याद भर्छ । बिहानको किरणसंगै उज्यालो म भित्र पसेको र आफै भित्र जिउने इच्छा जाग्दै गएको महशुस हुन्छ । छोरी संस्थाको म्यामहरुले दिनुभएको  ७ दिने शसक्तिकरण तालिमले म भित्र नयाँ जोस र जाँगर पलाउदैँ गयो । अब त्यो अन्धकार र दलदलबाट निस्कने आँट बढ्दै गयो । आफुलाई घृणाले हेर्न नजर गर्वले हेर्न थाल्दै गयो । अब साँच्चिकै म को हु भन्ने प्रश्नको जवाफ पाएको अनुभुति भयो । म अरुको लागि होइन मेरा लागि बाँच्छु,साथै अब मेरो गल्ती बिना समाजबाट नभाग्ने मनोबल बढेको छ । जीवन जिउने एउटा बलियो डोरी हो छोरी मेरो लागि किनकि छोरीको कारण आज म मेरा आवाज निडरका साथ व्यक्त गर्न सक्छु ।

त्यो दलदलमा ३ वर्ष काम गरेपछि संस्थासंग जोडिन पुगे र त्यो नर्कजस्तो जिवनबाट मुक्त पाए । आफु त्यसठाउँबाट मुक्त भएपनि मजस्ता अझै कति दिदीबहिनी त्यहि रुमलिनु भएको छ जसको दुख पोख्ने ठाउँ छैन, व्यथा सुनिदिने विश्वासिलो व्यक्ति छैन । अब त मलाई आफु भन्दा बढि ति दिदिबहिनीका अनुहारका सम्झनाले सताँउछ र कत्ति गाह्रो  भएको होला भन्ने महशुस हुन्छ ।

जीवनमा साथ पाए जस्तो सुकै काम गर्न पनि सकिन्छ । केही गर्न गाह्रो छैन जस्तो लाग्दै छ । संस्थाले मलाई अर्को बाटो देखाइदिनु भयो । कुनै दिन आफु हराएको त्यै अन्धकार ठाँउका दिदिबहिनीहरुको लागि एउटा आगोको झिल्का बन्ने अवसर पाएकी छु । सामाजिक कार्यकर्ताको रुपमा उहाँहरुका लागि एउटा बलियो खम्बा र सहयोगी हात भएर उभिएकी छु । उहाँहरुको समस्या पहिचान गर्दै र आफ्नो आवाजमा उहाँहरुकै आवाज मिसाएर लड्दै छु । आफ्नो जीवन के हो भनेर चिनाउनुको साथै त्यस दलदलबाहेक जीवन जिउने अरु बाटो देखाउदै छु । आफु उहाँहरुका लागि एउटा प्रेरणाको स्रोतका साथै साथी, छोरी र दिदिबहिनी बन्ने प्रयास गर्दैछु । आफै माथि गर्व र माया गर्न सिक्दै र सिकाउदै छु र हामी हिंसा सहनका र मर्नका लागि जन्मेको होइन बुझाउदै छु ।आज धेरै जनालाई मेरो नि कोही छ भन्ने महशुस गराउन सक्दा र उनीहरुको हिम्मत बन्न सकेको देख्दा आत्म सन्तृष्टि प्राप्त हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युवती बेपत्ता भएको घटनालाई लिएर नवलपरासीमा एक जनाको मृत्यु

बुटवल । पश्चिम नवलपरासीको पाल्हीनन्दनमा दुई समुहबीच भएको झडपमा घाइते भएका एकजनाको मृत्यु

यस्तो छ मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुले गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्थामा लचकता अपनाएको छ

काठमाडौंमा भारतीय सेनाका पूर्वस्थल सेनाध्यक्षको लावालस्कर

काठमाडौँ । नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवको अवसरमा

महाशिवरात्रिको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओली पशुपति मन्दिर पुग्दा…

काठमाडौं । महाशिवरात्रिको पूर्वसन्ध्यामा आरतीमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार पशुपतिनाथ