हामी अमेरिकाको पैसा खाएर कम्युनिष्ट हुने बेइमान छौं



डा. युवराज संग्रौला ।
हामी हरेक दिन विदेशीलाई नेपाली राष्ट्रमा अराजकता फैलाएर ‘विदेशी नियन्त्रित अस्थिरता’को पक्षपोषण गरिरहेका छौं । नागरिकको कर्तव्य राष्ट्रको संरक्षण गर्नु हो।

१. नेपालमा उपनिवेशी शासन त कहिले पनि रहेन, तर १८१६ मा हाम्रो देशको भूमि बृटिस साम्राज्यवादले लुट्यो, काठमाडौंमा उसको प्रतिनिधि राखेर हाम्रा मुख्तियारहरु लखन थापा, भिमसेन थापा, माथवर सिंह, फत्ते र गगनको हत्या गरायो, कोत पर्व, जङ्ग बहादुर र रणोद्विपको वंश हत्या गरायो । नेपालका शासकलाई घुस खुवाएर उपनिवेशी दिमागका पुत्ला बनायो । सन् १९२३ को सन्धीद्वारा नेपालको विदेश नीतिमा नियन्त्रण गर्यो, सन् १९४७ को तृपक्षिय सन्धीद्वारा भारत र बेलायतलाई भाडामा सेना दिनुपर्ने असमान सन्धी थोपर्यो । स्वतन्त्र भारतले हामी माथी छलकपट्द्वारा १९५० को सन्धी थोपर्यो, त्यसपछि महाकाली सम्झौता, राजा वीरेन्द्रको हत्या, १२ बुँदे सम्झौता र अहिले एमसीसीको कानुन माथिको सम्झौता थोपरिएको छ।

२. हाम्रो देशले उपनिवेशबाट मुक्तिको लडाइँ त लड्नु परेन तर हाम्रो इतिहास २०० वर्षदेखि विदेशीको अधिनमा छ । हाम्रो ‘आत्मनिर्णयको अधिकार विदेशीका नियन्त्रणमा छ।’ देशमा विदेशीको सेवा गरेर शासन गर्ने र शासन गर्न चाहने पुत्लाहरुको नाटक छ । रापट्रको अर्थतन्त्र केही धनी नेता र राजनीति नेताको अधिनमा छ । आज जनताले विदेशी हस्तक्षेप वा प्रभुत्वका विरुद्ध आत्मनिर्णयको अधिकारका लागि लड्नु पर्ने बाध्यता छ। लुटतन्त्रका विरुद्ध जनसमृद्धिका लागि लड्नु पर्ने अवस्था छ। हाम्रो ७० वर्ष प्रभुत्ववादले समाप्त पारिदियो ।

३. शासन गर्ने दलहरू विचारहीन अनैतिक राजनीति गर्छन् । नेताको देवत्वकरण भएको छ, व्यापारी, माफिया र नेताको राजनीतिमा गठजोड भएको छ । कुनै त्यस्तो क्षेत्र छैन जहाँ कमिसन, घुस र लुट छैन । यो व्यवस्था आज लुटतन्त्रमा परिणत भएको छ ।

४. संविधानमा ‘हामीले पुग्ने गन्तव्य समाजवादउन्मुख समाजको निर्माण हो’ भनिएको छ, तर अर्थतन्त्र एकाधिकारवादी, वित्तपूँजीवादको प्रवर्द्धन गर्ने रामशरणतन्त्रीय नवउदारवाद छ । कसरी चल्छ राज्य संविधान विरोधी अर्थतन्त्र राखेर । १०/१२ जना व्यापारीका हातमा सबै बैंक, बीमा, वित्तीय संस्था, आयात निर्यात कम्पनी, व्यापार, उद्योग, अस्पताल र स्कुल कलेज छन् । यिनै व्यापारी राजनीतिक दललाई चन्दा दिन्छन् र राजनीति पनि गर्छन् । देशभक्त उद्यमीको नास भैसक्यो ।

४. तर शहरीया युवा देशले केही दिएन भन्दै विदेशिन्छन् । गाउँका युवा अरब गएर रेमिट्यान्स ल्याउँछन् । उनीहरुले ल्याएको विदेशी मुद्रा शहरीया धनीका छोराछोरी विदेश लैजान्छन् । विदेशी विश्वविद्यालयका नेपालमा खुलेका कलेजले वर्षमा ५० अर्ब विदेश पठाउँछन् र विदेश पढ्न जानेले १ खर्ब लान्छन् । उनीहरु विदेश गएर देशमा राजनीतिको विकल्प खोज्छन् तर विचार र योजनाका पोख्त मान्छे होइन, पारखी अभिनेता खोज्छन् ।

५. देशको ज्ञान सचेतना र वैज्ञानिक जागृतिमा होइन, नवउपनिवेशवादले हाम्रो दिमागमा कोचेको ढाँटशास्त्र (स्युडो नोलेज) द्वारा निर्देशित छ। त्यसैले विज्ञान, समृद्धि, उद्योग, खोज, आविष्कार र उन्नति होइन, कसैलाई राजा, कसैलाई मोदीवाद, कसैलाई आदित्यवाद र विदेशीका एजेन्टलाई यशुवाद चाहिएको छ । कोही गाई काटेर कोही गाई बचाउन अब युद्धको तयारीमा छन् ।

६. राज्यले चाहेको उन्नति हो, समतामूलक देशभक्त एकाधिकारवादी तथा वित्त पूँजीवाद विरोधी पैसाले बस्तु उत्पादन गरेर घन कमाउने अर्थतन्त्र हो, पैसाले पैसा कमाउने गरीब बिरोधी अर्थतन्त्र होइन । तर त्यससो हुन विदेशीले दिँदैनन् । यो देशको भूराजनीति उनलाई चाहिएको छ । साम्राज्यवादले अझै बाँचेर हामीलाइ घोडा चढ्न बाँकी नै छ । हामी को सहयोगी र को पीडक हो छुट्याउन सक्दैनौ । हामी त टपर्टुंइयाँ मसिहा खोज्न माहिर छौं ।

७. हामी हल्लाखोर छौं, हामी अमेरिकाको पैसा खाएर कम्युनिष्ट हुने बेइमान छौ, हामी समाजवादका नाममा साम्राज्यवादका खोल ओढ्ने दोग्ला छौँ, हामी घर अँध्यारो पारेर बिजुली भारतलाइ बेच्ने देश घाती छौं, हामी सापका टाउकामा पसिना आएको देखेर पुजाका लाइनमा बस्ने पाखन्डी छौँ, हामी दिमागमा आग्रह राखेर परिवर्तन रोक्ने र विचार होइन मान्छे खोज्ने अनाडी छौं ।

८. देशको उन्नतिको लागि विज्ञानको खोजी गरौं । उत्पादनमा स्वनिर्भरता खोजौं, शिक्षामा विज्ञता र व्यावसायिकता खोजौं, घर्ममा मानवीयता खोजौं, संस्कृतिमा मौलिकता खोजौं र जिम्मेवारीमा देशभक्ति खोजौं । देश राजनीतिक खेलले होइन नागरिकको उद्यमशिलता र इमानदारीले बन्छ भन्ने विश्वास गरौँ।

देशलाइ सद्भाव होइन द्वन्द्वमा लाने जुनसुकै हरकतलाई समर्थन नगरौं । अपराधीलाई सजाय दिन माग राखौं, कानुन हातमा लिने होइन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
युवती बेपत्ता भएको घटनालाई लिएर नवलपरासीमा एक जनाको मृत्यु

बुटवल । पश्चिम नवलपरासीको पाल्हीनन्दनमा दुई समुहबीच भएको झडपमा घाइते भएका एकजनाको मृत्यु

यस्तो छ मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुले गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्थामा लचकता अपनाएको छ

काठमाडौंमा भारतीय सेनाका पूर्वस्थल सेनाध्यक्षको लावालस्कर

काठमाडौँ । नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवको अवसरमा

महाशिवरात्रिको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओली पशुपति मन्दिर पुग्दा…

काठमाडौं । महाशिवरात्रिको पूर्वसन्ध्यामा आरतीमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार पशुपतिनाथ