विचरा पूर्वहरु !
शारदाप्रसाद त्रिताल ।
एक जना कर्मचारी नेताज्यूले “पूर्व सचिवज्यूहरुले सुशासन र सेवा प्रवाह बारेमा सुझाव दिएको सुन्दा मलाई किन खित्का छुटेको होला नि ??” भनेर प्रश्न राख्तै स्टाटस लेख्नु भएछ ।
उहाँलाई खित्का छुटेर हाँस उठ्नुका कारण शायद यस्ता हुन सक्छन्-
१ युनियन / संगठनसम्बद्ध खर्दार सुब्बा साबहरुले आफ्नो मातृ पार्टीको मन्त्रीको गोप्य कोठामा मन्त्रीका अगाडि उपरखुट्टी लाएर बस्तै आफु र आफ्ना चम्चेहरुलाई मालदार महाशाखा वा शाखा वा कार्यालयमा पदस्थापन वा सरुवा गर्न सचिव सहसचिवलाई दवाव दिने र सचिव सहसचिवले लुरुक्क परेर मन्त्रीको निर्देशन पालना गरेको सम्झेर / देखेर होला ।
२ मालदार ठाउँमा पदस्थापन वा सरुवा भए पनि युनियनसम्बद्ध खर्दार सुब्बा साहेबहरुले सिटमा नबसी नियमित भाग पाउने र सरुवा गराइदिनेलाई पनि भाग पुर्याइ दिने गरेको सम्झेर / देखेर होला ।
३ युनियनको कामको नाममा देश विदेशको भ्रमण गर्न मन्त्री मार्फत दवाव दिएर सयर गर्न पाउने खर्दार सुब्बा साहेबको मस्ती सम्झेर / देखेर होला ।
४. कानुन र पद्धतिको आधारमा मिल्दैन भनी मन्त्रीले भनेको काम नगर्ने सचिव सहसचिवलाई अर्को पार्टीको विल्ला लगाएर सरुवा गराउन सफल हुने युनियन सम्बद्ध खर्दार सुब्बाको ताकत सम्झेर / देखेर होला ।
५ . बुँदा ४ मा उल्लेख भएका सचिव सहसचिवले त्यस्ता सुब्बा खर्दारहरुलाई केही गर्न नसक्ने अवस्था सिर्जना गरेको बहादुरी सम्झेर / देखेर होला ।
विचरा यस्तो भोगाइबाट उम्केर ‘पूर्व’ भएकाहरुमा सुशासन र सेवा प्रवाह सम्बन्धी ज्ञान र सीप हुने कुरै भएन । यस्ताहरुले के भनेर सुझाव दिंदा हुन् ?
अनि कर्मचारीका नेताज्यूलाई किन खित्का नछुटोस् ।