मुटुको शल्यक्रिया गर्न एक करोड खर्च गरी २६ घण्टा एयर एम्बुलेन्स चढेर अमेरिकाबाट चेन्नई



आपत्कालीन शल्यक्रिया आवश्यक भएकी एक महिलालाई यसै साता अमेरिकाबाट विमानमा राखेर भारत ल्याइएको छ । त्यसलाई एउटा लामो ’एरोमेडिकल’ उद्धार मानिएको छ । उनको उडान २६ घण्टा लामो थियो र उडानका क्रममा विमान बाटोमा तीन पटक रोकियो । उक्त जहाज अमेरिकाबाट उडेपछि सुरुमा आइसल्यान्डमा र दुई पटक टर्कीमा रोकिएको थियो। त्यसपछि मङ्गलबार बिहान दक्षिणी भारतीय सहर चेन्नई पुग्यो । ती महिला अहिले चेन्नईको अपोलो अस्पतालमा शल्यक्रियाको पालो कुरिरहेकी छन् ।

अहिले उनको अवस्था स्थिर रहेको अस्पतालका प्रवक्ताले बताएका छन् । अस्पतालका एक अधिकारीले भने, ‘मुटुको भल्भमा समस्या देखिएपछि उनलाई अमेरिकामा आईसीयूमा भर्ना गरिएको थियो। उनको परिवार जुलाई ५ देखि हाम्रा मुटुरोग विशेषज्ञ डा. साई सतीशसँग सम्पर्कमा थियो। उनीहरू मुटुको भल्भको उपचार गराउन यहाँ आएका थिए।’

ती ६७ वर्षीया महिलाको पहिचान खुलाइएको छैन । उनी अमेरिकाको ओरेगनस्थित पोर्टल्यान्डमा आफ्ना छोराछोरीसँग बस्थिन्। त्यसैबेला उनमा मुटुको समस्या देखिएको बताइएको छ । परिवारका सदस्यले उनको घरमै उपचार गर्दा राम्रो हुने महसुस गरे ।

त्यसपछि दक्षिणी भारतीय सहर बैङ्गलोर (बेङ्गलुरु) मा रहेको एयर एम्बुलेन्स सेवा इन्टरनेशनल क्रिटिकल–केअर एअर ट्रान्सफर टीम आईसीएटीटीलाई सम्पर्क गरे । ती बिरामी महिला पनि सोही क्षेत्रकी हुन्।
लामो यात्रा
आईसीएटीटीकी सहसंस्थापक तथा निर्देशक डा. शालिनी नलवाड भन्छिन्, ‘हामीले उनलाई चेन्नईसम्म ल्याउने उडानका लागि विमानस्थलहरूमा अनिवार्य इन्धन र मर्मतसम्भार समय कम गर्न दुईवटा विमान प्रयोग गर्यौँ।’

उनलाई भारत ल्याउन लागेको उडान समयले यसअघि दक्षिण अफ्रिकाको जोहानेसबर्गदेखि चेन्नईसम्म एकजना क्यान्सर रोगीलाई ल्याउन लागेको १८ घण्टाको कीर्तिमान् तोडेको उनी बताउँछिन् ।

यसअघि दक्षिण अफ्रिकाबाट ती बिरामीलाई कोभिडका कारण उडानहरू हुन नसकेका बेला सन् २०२० मा भारत ल्याइएको थियो । एयर एम्बुलेन्स बजार भारतमा अझै पनि प्रारम्भिक चरणमै छ । यद्यपि उद्योगबारे जानकारहरू यस्तो व्यवसाय हरेक वर्ष लगभग छ प्रतिशतले बढिरहेको बताउँछन् । र, त्यसको विस्तारको सम्भावना उच्च छ।

अधिकांश भारतीयहरू निजी एयर एम्बुलेन्सको उच्च मूल्य तिर्न असमर्थ छन् । तर सञ्चालकहरू यस्तो सेवाको माग बढ्दै गएको बताउँछन् । गत मे महिनामा एकजना सङ्घीय मन्त्रीले भारतको संसद्लाई देशमा ४९ वटा एयर एम्बुलेन्सहरू रहेको बताएका थिए। ती १९ वटा सञ्चालकद्वार सञ्चालित हुन् ।

विगत तीन वर्षमा भारतमा करिब ४,१०० बिरामीलाई एयर एम्बुलेन्सबाट एक स्थानबाट अर्को स्थानमा लगिएको छ । पछिल्लो घटनामा आईसीएटीटीको एउटा मेडिकल टोली व्यवस्थापन र बिरामीलाई तयार पार्न निर्धारित उडानको दुई दिनअघि पोर्टल्यान्ड पुगेको थियो । उक्त टोलीमा क्रिटिकल केयर फिजिसियन र दुईजना मुटु र फोक्सोसम्बन्धी उपकरण चलाउन जान्ने प्राविधिक थिए ।

उनीहरूले पहिलो पटक च्यालेन्जर–६०५ विमानमा उडान गर्दै थिए । उक्त विमानलाई “विमान आईसीयू“ का रूपमामा रूपान्तरण गरिएको छ । उक्त जहाज आइसल्यान्डको रेक्याभीकमा पुग्यो। त्यहाँ विमानमा इन्धन भरियो । त्यसपछि उनीहरू टर्कीको इस्तानबुल पुगे। त्यहाँबाट बिरामीलाई अर्को विमानमा सारियो । उक्त विमानमा चालक दलका नयाँ सदस्यहरू थिए ।

त्यसपछि उनीहरू चेन्नईका लागि उडान सुरु गर्नुअघि टर्कीको दीयार्बाकरमा इन्धन भर्नका लागि फेरि रोकिए । डा. नलवाडका अनुसार हरेक पटक इन्धन भर्न विमान रोक्दा अनिवार्य जाँचको लागि लाग्ने समय कम गर्नका लागि विमान परिवर्तन गरिएको हो ।

‘आठ घण्टा उडान गरेपछि पाइलटहरूले आराम गर्नु अनिवार्य हुन्छ त्यसैले चालक दल पनि परिवर्तन गरिएको हो,’ उनले भनिन् । सन् २०१७ मा स्थापना भएको उक्त संस्थामा २५ जना चिकित्सकहरू र २५ जना मुटु तथा फोक्सोसम्बन्धी उपकरणहरू चलाउन जान्ने प्राविधिकहरू छन् । उक्त कम्पनीसँग भारतमा दुईवटा विमान छन्।

त्यसमध्ये एउटा प्रायः दक्षिणी सहरमा राखिन्छ भने अर्को पश्चिम बङ्गालको कोलकातामा हुने गर्छ । पहिले राजधानी दिल्लीमा राख्ने गरिएको विमानलाई पछि कोलकातामा राख्न थालिएको हो । नलवाडका अनुसार पूर्वोत्तर भारतबाट माग उच्च भएपछि त्यसो गरिएको हो ।

पूर्वोत्तर भारतका धेरैले दक्षिणी राज्यका अपस्पतालहरूमा जानका लागि यस्तो सेवा धेरै प्रयोग गर्छन् । दक्षिणी राज्यका अस्पतालहरूमा चिकित्सा पूर्वाधार र सेवा राम्रो भएकाले उनीहरूले त्यसो गरेका हुन् । कोलकातामा जहाज राख्न थालेपछि लागत घटेको उनी बताउँछिन्।

पहिले कोलकाताबाट दक्षिणी सहरमा उडान गर्न बिरामीले १४ लाख भारतीय रुपैयाँ तिर्थे । अहिले उनीहरूले त्यसको आधा खर्चमा यस्तो सेवा लिन सक्छन् । हालै अमेरिकादेखि चेन्नईसम्म भएको उडानको भाडा भने ‘महँगो रहेको’ उनले बताइन् ।

तर उनले त्यो कति थियो भन्ने खुलाइनन् । तर उक्त यात्रामा करिब एक करोड रुपैयाँ खर्च भएको खबरहरू आएका छन् । आईसीएटीटीले हरेक दिन करिब दुई/तीन बिरामीलाई ’एयरलिफ्ट’ गर्ने गर्छ । उनीहरूले प्रत्यारोपणका लागि अङ्गहरू र शल्यक्रियाका लागि सामग्रीहरूको पनि ’एयरलिफ्ट’ गर्ने गर्छन्।

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ट्रम्प र नेटो प्रमुख रूटबीच ‘विश्वव्यापी सुरक्षा’ बारे छलफल

ब्रसेल्स । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो)

ईयूद्वारा नाइजरबाट आफ्ना दूत फिर्ता

ब्रसेल्स । सत्तारूढ जुन्टाले पश्चिम अफ्रिकी देशलाई सहयोग पुर्याउने तरिका माथि प्रश्न उठाए

पाँच महिनामा ५५ गर्भवती तथा सुत्केरीको हवाई उद्धार

काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पछिल्लो पाँच महिनामा दुर्गम क्षेत्रमा ज्यान

कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै

बागलुङ । कालीगण्डकी करिडोर भारतलाई चीनसँग जोड्ने छोटो मार्ग हो। राष्ट्रिय गौरवको आयोजनाका