कुनै होटलमा २०/३० जना जम्मा भएर गरिने होहल्लाले एनआरएनको अभियानलाई के मद्दत गर्ला र ?



नारायण गाउँले ।

दशैँ र तिहारको बीच पारेर एनआरएनएको महाधिवेशन काठमाडौँमा हुन्थ्यो । विश्वभरबाट २५ सय बढ़ी त प्रतिनिधि नै काठमाडौँ ओर्लिन्थे । तिनका परिवार, पर्यवेक्षक, पत्रकार, इष्टमित्र र अन्य सहभागी गरेर पाँच हजार बढ़ी मान्छे त्यहाँ पुग्थे । अधिवेशन सकेर ती गाउँ-गाउँसम्म पुग्थे । प्रत्येक सहभागीले गर्ने खर्च त अलग भयो, इभेन्टमैं करोडौं खर्च हुन्थ्यो । त्यो स्थानीय बजारमा पुग्थ्यो ।

छालाको रङ्ग हेरेर मात्रै पर्यटक ठान्ने हाम्रो मनोविज्ञान अलग भयो, तर पाँच हजार मान्छे विदेशबाट सहभागी हुने ‘इभेन्ट’ कुनै पनि देशका लागि लोभलाग्दो इभेन्ट मानिन्छ । वैदेशिक मुद्रा आर्जनदेखि स्थानीय अर्थतन्त्रलाई त्यस्ता इभेन्टले जीवन दिन्छन् । अन्तर्राष्ट्रिय स्तरका इभेन्ट म्यानेजमेन्टमा देशको अनुभव र आत्मविश्वास वृद्धि हुन्छ ।

शिक्षादेखि रोजगारीसम्मका विविध कारणले बाहिरिएको पहिलो पुस्तामात्रै होइन, विदेशमा जन्मे हुर्केको दोस्रो पुस्ता पनि नेपालसँग गाँसिन पुग्थ्यो । प्रत्यक्ष अन्तर्क्रिया हुन्थ्यो । ठूला ठूला लगानीको भाषण भन्दा यस्तै कार्यक्रम हरेक वर्ष गरे पनि ठूलै योगदान हुन्थ्यो ।
बरू यस्ता ठूला इभेन्टलाई काठमाडौँबाट क्रमशः देशका अन्य कुनामा समेत लैजानुपर्ने आवश्यकता थियो ।

हो, नेतृत्व चयनको गर्मी हामी नेपाली समुदायमा चर्कै हुन्छ र त्यो ठूलै आकर्षण पनि हुन्छ । सिङ्गो इभेन्टसँग त्यो जोड़िएकाले इभेन्ट आफैमा तातो तातो हुने गर्थ्यो । केही अस्वाभाविक र अप्रिय घटना नभएका पनि होइनन् । तर त्यो इभेन्ट म्यानेजमेन्टको कमजोरी हो । जसलाई सुधार गर्न सकिन्थ्यो ।

तर, परिवर्तनका नाममा यसको मूल मर्ममाथि नै प्रहार गर्ने काम भएको छ । होटलमा पाँच हजार मान्छे हुँदा होहल्ला भयो भन्ने नाममा जुममा पाँच सय मान्छेको सम्मेलन कुनै सुधार या परिवर्तन होइन ।

एनआरएनएमा खालि विधान विधान भनेर तातो न भुत्लोको विद्वत्ता छाँट्ने काम भएको छ । यसलाई अभियानका रूपमा लिएर देश र देशबाहिरका नेपालीलाई जोड्नेतिर पो ऊर्जा खर्च गर्नुपर्ने हो । प्रधानमन्त्री छान्ने त होइन, एउटा अभियानको लिडर छान्ने न हो । अध्यक्षले एक्लै के दिन सक्छ ? हरेक वर्ष फेर्न पर्ने विधानले के दिन्छ ? दिने त अभियानले हो ।

यसपालि त दुई वटा महाधिवेशन भएर चार जना अध्यक्ष बन्ने सम्भावना देखियो । कसलाई सुझाव दिने र कसले सुन्ने होला ? तैपनि, यसपालि यस्तै भयो । अर्को पालिलाई मेरो सुझाव छ, अति क्रान्तिकारी बन्ने नाममा हामीभन्दा अगाडिका अभियन्ताले स्थापना गरेको सबै प्रणाली नभत्काऊँ । केही त तिनले पनि राम्रो गरेका हुनसक्छन् । अरू सबै फेरे पनि यो चुनाब र अधिवेशन प्रत्यक्ष रूपमा, नेपालमैं जम्मा भएर, उत्सव र मेलाका रूपमा मनाउने परम्परा कायम राखौँ ।

केही सुधार गर्न सकिन्छ । कागजको मतपत्रका ठाउँमा विद्युतीय गर्न सकिन्छ । प्रतिनिधि थोरै भए र महत्त्वपूर्ण मान्छे छुट्ने भए भने सङ्ख्या डबल गरौँ न । के जान्छ र ? जति धेरै मान्छे मेलामा जान इच्छुक हुन्छन्, त्यति राम्रो । किन सङ्कुचन गर्न पर्छ र ?

स्मरण रहोस्, कोभिड़ अगाडि अरबौं रुपियाँ खर्चेर सरकारले मनाउन लागेको ‘भिजिट नेपाल’ले जम्मा २० लाख पर्यटक नेपाल भित्ऱ्याउने लक्ष्य राखेको थियो । चालीस लाख त नेपाली नै देशबाहिर छन् भन्ने गरिन्छ । यो नेपालका लागि ठूलो एसेट हो । एनआरएनएले नेपाल मेला आयोजना गरेर आधा मान्छेलाई नेपाल लैजान सक्ने हो भने पनि हरेक वर्ष भिजिट नेपाल सम्पन्न हुनसक्ने रहेछ । त्यो महत्त्वाकाङ्क्षी सोच होला, दश लाख, पाँच लाख या पाँच हजारकै सङ्ख्या पनि आफैमा ठूलो हो । केही अप्रिय घटना र नकारात्मकतालाई देखाएर यो अभियानबाट हुन सक्ने ठूलो लाभलाई बिर्सिन सकिन्न ।

सलमान खानलाई टिभीमैं देखाए होहल्ला कम हुन्थ्यो होला, किन दशरथ रङ्गशालामा बोलाइन्छ ? किन करोडौं खर्च गरिन्छ ? भोलि केही हजार मान्छे पर्यटक बनेर आउलान् भनेर होइन ?

जुमका भेला र कुनै होटेलमा २०-३० जना जम्मा भएर गरिने अधिवेशनले होहल्ला त कम गर्ला, तर एनआरएनको अभियानलाई कुनै मद्दत गर्दैन । कति एनआरएनहरू देशसँग आर्थिक-सामाजिक रूपमा जोड़िए भन्ने कुराले जति महत्त्व राख्छ, त्यति महत्त्व को कसरी अध्यक्ष भयो भन्ने कुराले राख्दैन ।

देशसँग नजोड्ने हो, एकआपसमा भ्रातृत्व प्रबर्धन नगर्ने हो भने त ङ्यार्र ङुर्र गर्नका लागि, एकापसमा दुश्मनी र खोइरो खन्नका लागि संस्था रहे पनि नरहे पनि के अर्थ ? जय होस् !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इलाममा रास्वपाको लोकप्रियताको ग्राफ किन लाग्यो ओरालो ?

काठमाडौं । एकवर्ष अघि तनहुँ, चितवन र बारामा उपनिर्वाचन हुँदा रवि लामिछानेले नेतृत्व

सहकारीमा डुबेको आमनागरिकको ४९ अर्ब फिर्ता होला ?

सहकारी संस्थामा फसेको आमनागरिकको बचत रकम ४९ अर्ब रुपैयाँ पुगेको छ। २४ वर्षअघिदेखि

इलाम–२ मा रास्वपाका उम्मेदवारको जमानत जफत

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नं २ मा इलाम–२ मा सम्पन्न उपनिर्वाचनमा १६

इलाम – २ मा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी

फिक्कल (इलाम) । प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का