कथा वैशेषिक दर्शनको
डा. गोविन्दशरण उपाध्याय ।
एकाध देशमा एकजना कणाद नामका ऋषि बस्दथे । उनी धेरै विद्वान र त्यागी थिए । विहान उठेर स्नान, ध्यान तथा केही स्वाध्याय गरेपछि उनी सपरिवार खेतीपाती उठाइसकेको खेतमा जान्थे र तेहा खसेका धानका, गहुँका, जूनेलोका, घैयाका, सामाका, कोदोआदि अन्नका बाला तथा गेडागुडी खोजेर ल्याऊथे । त्यही खोजेको शीला खाएर जीवन धान्ने हुँदा उहाँको नाम “कणाद, कणभूक्” काश्यप तथा औलुक नामले पनि प्रसिद्ध छन् ।
उनी त्यसवखतका नाम चलेका विद्वान तथा गुरू थिए । त्यस बखतका राजा तथा साहुकारहरूले राम्रो आश्रम बनाइदिने अथवा राजमहलमा लगेर सवै प्रकारका सुविधा दिने भन्दै उहाँसँग आग्रह गरे तर उहाँ मान्नुभएन । उहाँले भन्नुभयो “मेरो जन्म मानवजातिलाई एउटा नयाँ मार्ग दर्शनको लागि भएको हो, महलको सुखसुविधा अवरोधक हुन् सक्छ, म जान्न । ऋषिहरू सुखकापछि होइन विश्वको कल्याणका लागि सुखसुविधाहरूको त्याग गर्छन् । मेरो तपस्याको तुलनामा संसारका सुखहरू निकै साना छन् ।
एक दिन आफ्नो घरको पिंढीमा बसेर “पदार्थधर्म सङ्ग्रह” नामको पुस्तक लेख्दै गर्दा उहाँले आफू वरिपरी रहेका हरेक वस्तुसहित विश्वनै “विशेष” भएको अनुभव गर्नुभयो । उहाँले विश्वका सवै वस्तुहरू “विशेष पदार्थ” भएको अनुभूति गर्नुभयो । उहाँले खुसी हुँदै भन्नुभया,े “यो विश्व ब्रहमाण्डका हरेक वस्तुहरू परमाणु नामक विशेष पदार्थबाट निर्मित भएका रहेछन् । ती पदार्थहरू भावात्मक र अभावात्मक गरी दुई प्रकारका रहेछन् । भावात्मक पदार्थअन्तर्गत द्रव्य, गुण, कर्म, सामान्य, विशेष र समवाय पर्दा रहेछन् भने अभावात्मक द्रव्यअन्तर्गत प्रागभाव, प्रध्वंसाभाव, अन्योन्याभाव र अत्यन्ताभाव हुँदा रहेछन् ।”
ऋषि आफुले बुझेको कुरा लेख्दै थिए । त्यतिकैमा ऋषिकी १५ वर्षको छोरी पनि त्यहाँ आइपुगिन् । उनले आफ्ना वुवा कणादले भोजपत्रमा लेख्दै गरेको “लेख” पढिन् । उनले खुशी हुँदै भनिन् “बुवा ! हजुरले गज्जवको सिद्धान्तको खोज गर्नुभयो । मैले र तपाईंले बुझे पनि “पदार्थ” भन्दैमा पदार्थ भनेको अर्थ त मान्छेले बुझ्न सक्दैन् नि ? होइन र बुवा ? ऋषिले आफ्नी छोरीको प्रश्न र बुद्धिमान सुझाव सुनेर दंग परे । उनले पदार्थ शब्दको अर्थ प्रष्ट पार्दै लेखे “पदार्थ शब्द दुईबटा पदहरू मिलेर बनेको हो पद र अर्थ । जुन पदले जान्न खोजेका बस्तुको अर्थ वा परिचय गर्ने शक्ति राख्छ, त्यो नै पदार्थ हो । हरेक पदले जनाउने अनेकौं वस्तु हुन्छन् । एउटा पदले एउटा वा अनेकौं वस्तुको जानकारी दिन्छ । तेसैले पद र वस्तु दूवै असंख्य छन् । तथापि यी सबैलाई उपरोक्त छ तथा चार वर्गमा विभाजित गरेर बुझ्न सहज हुन्छ । बस्तु र पदमा बीचमा सम्बन्ध जनाउने शक्ति नै “विशेष” हो । यही विशेषका कारण मानवीय चेतनाले पदार्थको बुझ्दछ ।”
कणादले आफुले पदार्थका वारेमा गरेको व्याख्या छोरीलाई पढ्न लगाए । छोरीले बढो ध्यानपूर्वक त्यो पढिन् र भनिन् “बुबा ! हजुर साच्चिकै विद्वान हुनुहुन्छ ।मलाई तपाईंको छोरी भएकोमा गौरव छ । तर अव हजुरले साक्षात्कार गरेका छबटा प्रमुख द्रव्यको पनि सरल व्याख्या गरिदिनु पर्छ । त्यसो भए, मैले हाम्रो गुरुकुलमा अध्ययन गर्ने साथीहरूलाई तपाईंको यो महान् खोजवारे सजिलैसंग बताउँन सक्छु ।” ऋषि कणादलाई आफ्नी छोरीको कुरा ठीक लाग्यो । उनले मनमनै पदार्थहरूको सरलभाषामा व्याख्या गर्ने निधो गरे ।
“द्रव्य नै गुण तथा कर्मको आश्रयस्थल हुन्छ । द्रव्य स्वतन्त्र हुन्छ । वस्तुका दृष्टिकोणले यो नित्य, स्वतन्त्र, विशेषता युक्त र परमाणुसरह हुन्छ । नित्य द्रव्यबाट अनेकौं उपद्रव्यहरू निर्मित हुन्छन् । ती उपद्रव्यहरू अनित्य तथा परिवर्तनशील हुन्छन् । यी द्रव्यहरू नौं प्रकारका हुन्छन् जसमा जड तथा चेतन रूप छन् । नौं द्रव्यहरूमा पृथ्वी, जल, तेज, वायु आकाश, काल, दिक्, आत्मा र मन । यी नौ द्रव्य मध्ये पृथ्वी, जल, तेज तथा वायुका आ–आफ्ना परमाणु छन् र यिनै परमाणुहरूको संयोग र वियोगले पदार्थहरूको निर्माण हुन्छ । आकाश द्रव्य भने अलि फरक छ । यसका परमाणु छैनन् । यो व्यापक र एउटामात्र छ ।”
“काल तथा दिक् पनि आकाशझैं व्यापक र विभु छन् तर व्याबहारिक सजिलोका लागि अनेकतामा बुझिन्छ ।आत्मा अनेक छन् । आत्माका हरेक परमाणुहरू स्वतन्त्र र चेतनरुप छन् । आत्मा ज्ञान नामक गुणको आश्रयस्थल हो । ज्ञान आत्माको आगन्तुक गुण हो । आत्माका अन्यगुणहरूमा सुखदुःखआदि भावनाहरू पर्छन् । मन पनि एउटा द्रव्य नै हो तर यो एउटा आन्तरिक इन्द्रियका रुपमा क्रियाशील छ । हरेक आत्माका साथमा एउटा मन हुन्छ । मनका कारणले नै आत्मालाई सुखदुखआदि विषयहरूको ज्ञान हुन्छ । मनका कारणनै आत्मा पदार्थहरूको बन्धनमा पर्छ । असलमा, मनको काम भनेको इन्द्रियजन्य संवेगहरू आत्मासम्म पुर्याउनु हो । मन प्रत्यक्ष अनुभव गर्ने सकिने पदार्थ होइन ।कार्यका आधारमा मनको अनुभव हुन्छ ।”
“परमाणु, आत्मा र मनअनन्त छन् । आत्मा अभौतिक द्रव्य हो भने पृथ्वीका परमाणुबाट गन्ध, पानीका परमाणुबाट स्वाद, तेजका परमाणुबाट दृश्य पदार्थ उत्पन्न हुन्छन् । त्यसैले यी सबै भौतिक द्रव्य हुन् । आकाशको ज्ञान भने शब्दगुणका माध्यमबाट हुन्छ । यसरी सम्पूर्ण पदार्थ भौतिक तथा अभौतिक परमाणुहरूको विशिष्ट संयोगले निर्माण भएको छ । यो सबै प्रक्रिया भौतिक रुपमा होइन संज्ञानका रूपमा जान्ने विषय हुन् ।” महर्षि कणादले द्रव्यको व्याख्या लेखेर छोरीलाई देखाउन खोज्दा, उनी भर्खरै जङ्गलबाट भोजनको खोजिमा आश्रमभित्र छिरेको मृग–शावकसंग खेल्दै गरेको देखे । ऋषिले मनमनै भने “खेलोस् एकैछिन् । १५ बर्षको उमेरमा उसले धेरै सिकिसकेकी छ । मैले उसलाई ऋषिका बनाउने ध्याउन्नमा उमेरभन्दा बढी विद्या दिएको छु ।”