यसरी व्यवस्थापन गर्दैछ एमालेले महाधिवेशनका लागि साढे सात करोड खर्च



काठमाडौँ । नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनमा सात करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको छ । चितवनको नारायणी किनारमा यही मङ्सिर १० गते उद्घाटन र ११ र १२ गते सौराहामा बन्दसत्र हुने सो महाधिवेशनका लागि गठित मूल व्यवस्थापन समितिअन्तर्गतको आर्थिक समितिका संयोजक विष्णु रिमालले केन्द्रीय कमिटीको दायित्वमा उक्त रकम पर्ने अनुमान गरेका हुन् । महाधिवेशनको बन्दसत्र सौराहाको सेभेन स्टार होटलमा हुँदैछ ।

सो होटलमा करिब एक हजारदेखि एक हजार २०० सम्म प्रतिनिधिका लागि व्यवस्थापन गरिएको छ । थप प्रतिनिधिका लागि व्यवस्थापन गरिने जनाइएको छ । महाधिवेशनमा एक हजार ९९९ प्रतिनिधि चयन भइसकेका छन् भने त्यसको पाँच प्रतिशतसम्म मनोनीत हुनेछन् ।

“यो महाधिवेशनमा कति खर्च लाग्ला भन्ने आँकलन हामीले यसअघिका तीन वटा महाधिवेशन र एउटा विधान महाधिवेशनलाई हेरेर गरेका छौँ”, रिमालले भने । उनका अनुसार गत आठौँ महाधिवेशनमा करिब दुई करोड २५ लाख र नवौँ महाधिवेशनमा चार करोड २५ लाख खर्च भएको थियो । गत असोजमा ललितपुरमा सम्पन्न विधान महाधिवेशनमा छ हजार चार सय ३५ प्रतिनिधिको उपस्थिति हुँदा करिब पाँच करोड खर्च भएको थियो । यी तीन महाधिवेशनको अङ्कलाई तुलना गरेर यो महाधिवेशनमा केन्द्रले दायित्व बोक्नुपर्ने लगभग सात करोड ५० लाख होला भन्ने आँकलन गरिएको नेता रिमालले बताए ।

एमालेले महाधिवेशनका लागि रसिद काटेर आर्थिक सङ्कलन नगरी पार्टी सदस्य र शुभेच्छुकबाटै अनलाइन प्रणालीबाट स्वेच्छिक सहयोग सङ्कलन गरिरहेको छ । एमालेले प्रत्येक पार्टी सदस्यलाई न्यूनतम सय रुपैयाँ पार्टीको खातामा जम्मा गर्न आह्वान गरेको छ । एमालेमा पछिल्लो पटक नवीकरण भएका पार्टी सदस्यको सङ्ख्या आठ लाख ५५ हजार ४५३ छ । नेता रिमालले भने, “यसरी सदस्यबाट न्यूनतम् रकम लिएर महाधिवेशन गर्ने यो नेपालमा रहेका पार्टीका लागिसमेत उदाहरणीय अभियान हुनेछ भन्ने हामीले ठानेका छौँ । यसले पारदर्शितालाई पनि टेवा पुग्ने अपेक्षा गरेका छौँ । हामीले यो पटक यति रकम चाहियो भनेर कसैलाई पत्र काटेका छैनौँ, रसिद छापेका छैनौँ । यो प्रयोग हामीले नयाँ गरिरहेका छौँ ।”

प्रतिनिधि चयन अन्तिम चरणमा

महाधिवेशनका लागि हालसम्म ६७ जिल्लाबाट प्रतिनिधि चयन भएका छन् । एमाले केन्द्रीय कार्यालयमा बिहीबार साँझसम्म प्राप्त अनौपचारिक विवरणअनुसार अब १० जिल्लामा मात्रै प्रतिनिधि चयन हुन बाँकी छ । कैलाली र बझाङमा प्रतिनिधि चयनमा विवाद भएर रोकिएको छ भने बाँकी जिल्लामा प्रतिनिधि चयनको कार्य भइरहेको छ ।

हालसम्म ६७ जिल्लाबाट अहिलेसम्म एक हजार १८२ जना प्रतिनिधि छनोट भइसकेका छन् । तीमध्ये खुलाबाट ७४०, महिला ३०४, उत्पीडित १३६ र २ जना मजदुरबाट चयन भएका छन् । एमालेले पार्टीका हरेक निकायमा ३३ प्रतिशत महिला सुनिश्चित गरेसँगै प्रतिनिधि छनोटमा महिला उपस्थिति उल्लेख्य रहेको छ । एमाले सङ्गठन विभागले प्रतिनिधिको अभिलेखीकरण गरिरहेको छ ।

वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका सबै जिल्लामा प्रतिनिधि छनोट भएको छ भने प्रदेश नं १ का ताप्लेजुङ, पाँचथर र सुनसरी, प्रदेश नं २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी र रौतहट तथा सुदूरपश्चिम प्रदेशका बाजुरा र कैलालीमा प्रतिनिधि छनोटले पूर्णता पाउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उपनिर्वाचनमा निर्धक्ककासाथ मतदान गर्न आयोगको अपील

काठमाडौं । उपनिर्वाचनको तयारी पूरा भएको छ । शनिबार इलाम– २ र बझाङ

शक्तिमा रहँदा मात्तिनेहरु सकिन्छन्ः माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाज

विकराल बन्दै डढेलो : ५० जिल्लाका वन क्षेत्रमा डढेलो, करोडौंको क्षति

  गण्डकी ।  वन तथा भू–संरक्षण विभागका अनुसार बिहीबारसम्ममा ५० जिल्लाका वन क्षेत्रमा

नेपाल प्रहरीका ६ एसएसपीको सरुवा, बसन्त रजौरेलाई काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी

काठमाडौं । नेपाल प्रहरीका ६ एसएसपीको सरुवा भएको छ । शुक्रबार उपप्रधान तथा