अमेरिकाबाट नेपालसहित एसियाली देशले ७० लाख डोज खोप पाउने
काठमाडौं । कोभिड–१९ को महामारीसँग लडिरहेको यो समयमा अमेरिकी राष्ट्रपति जो बाइडेनले संसारभर अमेरिकाले दिने कोभिड–१९ खोप सहयोगको घोषणा गरेका छन् ।
नेपाली समय अनुसार बिहीबार राति खोप सहयोगको घोषणा गरिएको हो । कोभ्याक्समार्फत विश्वव्यापी खोप पहुँचका लागि अमेरिकाले गरिरहेको विभिन्न सहयोगसँगै नेपाल लगायत एसियाका विभिन्न देशहरूले झन्डै ७० लाख डोज खोप प्राप्त गर्ने काठमाडौंस्थित अमेरिकी दूताबासले जनाएको छ ।
नेपालले अमेरिकासँग ५० लाख डोज खरिदका लागि आग्रह गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति बाइडेनलाई पत्र लेख्दै खोप खरिदमा सहजीकरण गरिदिन आग्रह गरेकी थिइन् ।