चीन र अमेरिकासँग एक करोड डोज खोप खरिद गर्ने सरकारको तयारी
काठमाडौंं । सरकारले १० दिनभित्रमा एक करोड डोज खोप खरिदको टुंगो लाग्ने बताएको छ । शुक्रबार स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले चीनको सिनोफार्मसँग पहिलो चरणमा ५० लाख र अमेरिकी खोप उत्पादन कम्पनी जोन्सन एन्ड जोन्सन कम्पनीबाट ५० लाख डोज खोप खरिद प्रक्रिया अघि बढाइएको जानकारी दिएका हुन् ।
उनले १० दिनभित्र खरिद प्रक्रिया टुंगो लाग्ने बताए । उनले चीनले दिने भनेको १० लाख डोज खोप अर्को साता काठमाडौं आइपुग्ने जानकारी दिए । यो वर्षभित्रै लक्षित वर्गलाई खोप लगाउने गरि सरकार अघि बढेको जानकारी उनले दिए ।
खोप खरिद प्रक्रियामा दुबै मुलुकका सरकार तथा खोप निर्माता कम्पनीसँग सीधै प्रक्रिया अघि बढाउने जानकारी मन्त्री ज्ञवालीले दिए । उनका अनुसार भारतबाट १७ लाख डोज खोप माग गरिएको र उच्च तहमा कुरा गरिएको मन्त्री ज्ञवालीले जनाए ।