आउने पुस्ताले आफ्नो भविष्यलाई हेरेर चेतना निर्माण गरेन भने ऊ कसैको दास हुनेछ



डा. युवराज संग्रौला ।
म स्कुल पढ्थें, झापाको गरामुनी दुर्गा जुनियर हाइस्कुलमा। नेत्र घिमिरे, नारायण उप्रेती, मोहन उप्रेती लगाएत थुप्रै थिए मलाई पढाउने शिक्षक जो कम्युनिस्ट थिए । उनीहरु असल मानिस थिए । उनिहरु किसानका खेत खन्थे र अन्याय अत्याचारको बिरोध गर्ने । त्यसबेला मेरो स्कुलमा राष्ट्रिय गान श्रीमान गम्भीर नेपाली… थिएन । “ती चन्द्र सूर्य लाल गगनमा चम्किरहेका हेर…“ थियो। मलाई गरीब र किसानले गरेर खान पाउने व्यवस्थाका बारेमा गुरुहरु बतांउँथे । अर्थात् त्यो युग नयाँ युग बनाउने सपनाको युग थियो । मेरो यात्रा त्यहाँबाट शुरु भयो ।

१. त्यो युग सपना निर्माणको युग थियो। तर त्यो सपना देख्नु मर्नु पर्ने कारण बन्थ्यो। दमन थियो। हरेक पल क्षण राजतन्त्रले स्तुति गाउनु पथ्र्यो । त्यो युग बिस्तारै पञ्चहरु मालिक बन्ने युगमा परिणत भयो । पञ्चले सन्तान पाए, तिनलाइ मन्डले भनिन्थ्यो । यिनले जसलाई पनि कुट्न पिट्न पाउँथे । म जति जति हुर्कदै गएँ, मेरो स्वतन्त्रता उतिनै साँघुरिँदै गयो । त्यसबेला राजमार्ग पनि बन्यो, बस चढ्न पनि पाइयो । त्यसबेला १५ रुपैयाँमा चीनमा बनेका जुत्ता, २० रुपैयाँमा कटनको सेतो सर्ट र ५० रुपैयाँमा कटनको चिनियाँ पैन्ट पनि पाइन्थ्यो । सबैले लाउँथे तर गीत राजारानीको गाउनु पथ्र्यो । बाबुआमा पनि तिमीनै हौ, देश पनि तिमीनै हौ, भगवान पनि तिमी नै हौ, सपना पनि तिमी नै हौ । जब झापाको आन्दोलनको दमन भयो । रित पनि बदलियो । अब स्कुलमा राष्ट्रिय गान सकिन्थ्यो, तब हाम्रा राजा हाम्रो प्राण भन्नू पथ्र्यो । त्यो युग अझै अगाडि बढ्यो, तब भन्नू पर्यो “सबै नेपाली पञ्च र सबै पञ्च नेपाली।“ लोकतन्त्रको शब्द ओठसम्म मात्र आउन पाउँथ्यो।
किन त्यो दमन भयो ?

२. मेरो दिमागले त्यसलाई स्वीकार गरेन । म कलेज पुंगे । कलेजमा मन्डले, रत्नपार्कमा मन्डले, जताततै मन्डले। मैले स्कुलमा देखेका गरीबको अन्त गरि सपनाको संसार बनाउने मान्छे काठमाडौं आएर पञ्च बनेछन् । उनीहरु ज्ञानेश्वरको पञ्चायत जाँबुझमा जागिर खान थाले । मलाई अचम्म लाग्यो । यी त सिद्धान्तका मर्न पनि डराउनु हुन्न भन्थे । तब भित्र भित्रै देश बनाउनेहरुसँग संगत हुन थाल्यो । यिनीहरु सामान्य र असल मानिस थिए । खर्च थिएन, पढाइ छोडेका थिए, परिवार पनि बिर्सेका थिए । यिनीहरु नै देवता हुन भन्ने लाग्थ्यो । त्यसैले सपना मरेन ।

३. तर सडकमा हिँड्दा पनि डर थियो त्यसबेला । मण्डलेको गोदाइ जताततै हुन्थ्यो । यस निरंकुशताका विरुद्धमा मानिसको अवाज खुल्यो। लड्दै, पिटाइ खाँदै, जेल जाँदै स्वतन्त्रता ल्याइयो । छाती खोलेर बोल्न पाइयो । सरकार बनाउन पाइयो । तर हिजोका देवताहरु मानिस होइन अर्थोकै रहेछन् भन्ने देखिन थाल्यो । उनीहरुलाई चाकरी मन्पर्दो रहेछ। एक खालका साथीहरु उनीहरुलाई खुसी पार्दै अरुलाई समाप्त गर्न थाले । उनीहरु अहिले ठूला मानिस बनेका छन् । अहिले उनीहरु धनी बनेका छन् । अहिले उनीहरु मेरो करबाट महंगा गाडी चढ्छन् । अहिले उनीहरु राजनीति होइन बिखनीति गर्छन् । अहिले स्वतन्त्रता त छ, तर नैतिकता मर्यो । अहिले उनीहरुका दिमागमा गरीब होइन, गरीब लुट्ने तर्किव छ। उनीहरु झोला बोकाउँछन् र अरु उनीहरुको झोला बोक्छन् । नैतिकता नभएपछि मानिस नांङ्गो हुँदोरहेछ। उनीहरुको नश्ल परिवर्तन भएको छ । लाग्थ्यो स्वतन्त्रता भए बाँच्न अरु चाहिन्न, अहिले लाग्छ नैतिकता नभएपछि त सास फेर्न नै नसकिने रहेछ । अहिले सास फेर्न नै गाह्रो भएको छ । हिजो मलाई शिक्षकले गोरु हो भनी सिकाएको थियो, आज त्यसलाई गधा हो भन्नुपर्ने भएको छ ।

४. विकास अब प्राथमिकता हो भनेको हिजोअस्ती हो । मैले ठाने अब देशमा उद्योग खुल्ने भए । अब बारी ढकमक्क हुने भए । तर बारी त सबै डोजरले काटी सके । नेपाल अहिले खन्ने भाइरसले ग्रस्त छ । देशभरी डोजरले खने पनि मानिसले खुट्टैले हिँड्नु पर्छ । डोजरले पानी जहाज पनि पल्टायो र रेल पनि पल्टायो । स्वतन्त्रता र अनैतिकताको बाजा बजाएर विवाह भयो । जब स्वतन्त्रता र अनैतिकताको विवाह भयो, भ्रष्टाचार सन्तानको रुपमा जन्मियो ।

५. भ्रष्टाचारले विचार मार्दो रहेछ । अहिले नेपालले चीनले आर्थिक विकास गरेजस्तै षड्यन्त्र र दुराचारको प्रगतिमा विश्व कीर्तिमान कायम गरेको छ । आज एकजनाको बिरोध गर्नुहोस् र भोलि मन्त्री हुनुहोस् । मन्त्री बन्न पाउनु भएन भने यता आएर उताकालाई गाली गर्नु होस् । नाम कम्युनिस्ट राख्नुहोस् र काम असभ्य गुन्डाको गर्नुहोस् । नाम बुद्धिजीवी काम रछ्यान निर्माण । मैले ८ बर्षमा शुरु गरेको मेरो चेतनाको यात्रा अहिले सत्ता पद र स्वार्थका लागि नांगो हुनु पनि सभ्य हुनुनै हो भन्ने बिन्दुमा पुगेको छ ।

६. आउने पुस्ताले अब (अ) आफ्नो भविष्यलाई हेरेर चेतना निर्माण गरेन भने ऊ कसैको दास हुनेछ । (आ) बाहिर सडकमा राष्ट्र र भित्र कोठा विदेशीको भक्ति गर्नेहरुले देश ध्वस्त पार्दै गरेको देख्न नसक्ने युवा पनि देशका लागि बोझ नै हो ।(इ) देशलाइ भ्रष्टाचार, विदेशी खेल र बिचारबिहिनताले सक्दै छ ।

आज मसँग कम्प्युटर छ, दुनियाँको जानकारी छ, सबैथोक छ । तर चेतना छैन । मसँग राजनीति छ, तर नैतिकता छैन । मसँग प्रबिधि छ, तर देशप्रेम छैन । मसँग कम्युनिस्ट नेता र प्रधानमन्त्री छन्, तर गरीबको आशा छैन। मसँग शिक्षा छ तर ज्ञान छैन । मसँग केबल देश छ । यदि युवाले म नै देश भन्ने चिन्यो भने बिचारहिन, नैतिकताहिन र मानवताहिनहरुले चित खानेछन् । यो देशका मालिक केबल जनता हुन्, नेता होइनन् । बिचारको खेतीले मात्र राजनीतिलाई नैतिक बनाउँछ । मेरो यात्रा विचारबाट बिचारहीनतामा आइपुगेको छ । जताततै मानिस नांगिएका छन्, त्यसैले।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘म यो घटनाको निर्दोष पात्र हुँ र मलाई यो घटना कसले कसरी घटाउन लगाएको राम्रै थाहा छ’

काठमाडौं । बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले

एकीकृत समाजवादी सरकारबाट नबाहिरिने

काठमाडौं । नेकपा एकीकृत समाजवादी गठबन्धन सरकारबाट नबाहिरिने भएको छ । मंगलबार बसेको

सगरमाथा आरोहणका लागि चार सय १४ जनाले लिए अनुमति

  काठमाडौँ । सन् २०२४ को वसन्त याममा सगरमाथा आरोहणका लागि चार सय

सुनिल पौडेललाई ९ वर्षको कैद र २३ करोड २६ लाख जरिवानाको फैसला

काठमाडौं । नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई ९ वर्षको कैद सजाय