वेलायतमा ९० वर्षीया महिलाले लगाइन् कोभिड-१९ विरुद्धको पहिलो खोप
एक ९० वर्षीया महिला वेलायतमा देशव्यापी कोरोनाभाइरस विरुद्धको खोप अभियान अन्तर्गत खोप लगाउने पहिलो महिला बनेकी छन् । आगामी साता ९१ वर्ष पुग्ने मार्गारेट कीननले खोपलाई ’सबैभन्दा राम्रो जन्मदिनको उपहार’ बताएकी छन् ।
उनलाई स्थानीय समयअनुसार ६ बजेर ३१ मिनेटमा फाइजररबायोएनटेकले विकास गरेको खोप दिइएको थियो। सो खोपको आठ लाख मात्रा आगामी केही सातामा वेलायतमा लगाइने योजना छ । यो महिनाको अन्त्यसम्ममा वेलायतमा ४० लाखलाई खोप लगाइने बताइएको छ ।
सुरुमा ८० वर्षभन्दा माथिका र केही स्वास्थ्यकर्मीहरूलाई यो खोप दिइने छ । कीननले भनिन्, ‘म कोभिड १९ विरुद्धको खोप लगाउने पहिलो व्यक्ति हुन पाउँदा आफूलाई भाग्यमानी सम्झन्छु। मेरो लागि यो सबैभन्दा राम्रो जन्मदिनको उपहार हो। किनभने यसको अर्थ म अन्ततः परिवार र साथीसँग समय बिताउन सक्छु भन्ने हो।’ वेलायत फाइजरको खोपलाई अनुमति दिने पहिलो राष्ट्र हो । वेलायतले सो खोपको चार करोड मात्रा किन्न फाइजरसँग सहमति गरेको छ।