‘संसदको रेकर्डबाटै हटाउनुपर्ने गरी क्षुद्र शब्द बोलेको रेकर्ड पनि आफ्नै हो भन्ने प्रधानमन्त्रीले नभुल्नुपर्ने हो’



नारायण गाउँले ।

यति धेरै दम्भ, आडम्बर र आत्मश्लाघा भ्रम कहाँबाट आउँछ होला ? कहिले विकासको बाढ़ीले अरू आत्तिए भनेको छ, कहिले सरकारको समृद्धि देखेर विश्व नै दङ्ग छ भनेको छ ! कहिले नयाँ युग सुरु भयो भनेको छ कहिले आफू नभए देश नै डुब्ने कुतर्क गरेको छ । हस्पिटलमा बेड र धरौटी राख्ने रकम नपाएर मान्छे मरेका छन्, र पनि शानसँग कोभिड़को विश्वकै उत्कृष्ट व्यवस्थापन गरेको दाबी छ । भ्रष्टाचार गर्दिन भनेको छ, विष्णु पौडेलदेखि गोकुल बाँस्कोटा र वाइडबड़ीदेखि ओम्नी र यतिसम्मलाई काखी च्यापेको छ ।

माखो नमर्दा त यस्तो ओठे घमण्ड छ, अलिकति काम भएको भए के हुँदो हो ? आफैले दाबी गरेझैँ घरघरमा ग्यासको पाइप आएको भए, पाँच ठाउँमा स्मार्ट सिटी बनेको भए, देशभित्रै पेट्रोल उत्खनन भएर साउदी अरबलाई बेचेको भए, काठमाडौंमा मेट्रो वा मोनोरेल चलेको भए, वैदेशिक श्रममा रहेका चालीस लाख युवालाई देशमैं रोजगारी सिर्जना गरेको भए, बीजिंग-काठमाडौं चुच्चे रेलको लिक सुरु भएको भए या मिति नै तोकेको पानी जहाजमा चढेर कलकत्ता पुग्न सकिएको भए के हुन्थ्यो होला ।

विश्वको कुन सरकार यस्तो महामारीमा जनताको निःशुल्क उपचार गर्दिन भनेर अदालत गएको होला ? ओली सरकारले त्यो रेकर्ड पनि राखेकै छ ! भ्रष्टाचारका विषयमा त पार्टीकै बहुमत सचिबालय सदस्यले लिखित रूपमैं सचेत समेत गराएका छन् । भ्रष्टाचार कसरी हुन्छ भन्ने नमुना त आफैले उद्घाटन गरेको बिजुली बस नै पनि हो । दाताले लुम्बिनीका नाममा दिएको करोडौं रुपियाँ पचाउन नक्कली बिजुली बस किनेर दर्तासमेत नहुँदै हतार हतार उद्घाटन भएको घटना पुरानो होइन । पहिलोपल्ट बहालवाला प्रधानमन्त्रीले संसदको रेकर्डबाटै हटाउनुपर्ने गरी क्षुद्र शब्द बोलेको रेकर्ड पनि आफ्नै हो भन्ने नभुल्नुपर्ने हो । आफ्नै सहकर्मी माधव नेपालले शीघ्र स्वास्थ्यलाभको कामना गर्दा समेत तेरो शुभकामना चाहिन्न भन्नेसम्मको दम्भ र तुच्छता अरू कसैको होइन ।

काम गर्न दिएनन् भन्नु त गोयबल्स आरोप हो । दुई वर्षसम्म संवैधानिक इम्युनिटी नै थियो । केन्द्रदेखि प्रदेशसम्म आफ्नै सरकार थिए । एउटा कुलपति या राजदूत फालिदिए आँखा चिम्लेर जयजयकार गर्ने प्रतिपक्ष थियो । आफ्नै पार्टीको बहुमत हुँदासमेत नाकाबन्दीका नाइके उपेन्द्र यादवहरूलाई माओवादी खेमाभन्दा माथि राखेर मन्त्री बनाउँदा पनि कसैले रोकेको या टोकेको थिएन । एउटा चर्चको होली वाइन पिलाउने कार्यक्रममा सिङ्गो सरकारलाई होटलमा पुऱ्याउँदा समेत कस्ले रोकेको थियो र ? कर्णालीका जनतासँग आङ् ढाक्ने टालो नहुँदा समेत झापामा दुई अर्बको भ्युटावर बनाउने बजेटमा पनि कसैले औँला उठाएका थिएनन् ।

काम हुन नदिएको या अलि चर्को विरोध भनेको संविधानकै विपक्षमा गएर महामारीको बीचमा पार्टी फोड्ने अध्यादेश ल्याउँदा होइन ? भेन्टिलेटर किन्नुपर्ने बेला सांसद अपहरण गर्ने खेलमा लाग्न खोज्दा होइन ? त्यसपछि पनि गुट नहेरी एउटा सक्षम र स्वच्छ छविको व्यक्तिलाई अर्थमन्त्री बनाएको भए यो अवस्था शायदै आउँथ्यो । आफ्नै पार्टीको स्थायी समितिलाई हुल्लड़बाज भन्ने सम्मको स्वतन्त्रता त थियो नि !
अलिकति नम्रता, बोलीमा आदर र काममा स्वच्छता हुन्थ्यो भने त्यो सिंहासन हल्लाउन सक्ने कोही हुँदैनथ्यो । संसारकै गुनिला कार्यकर्ता छन् । फेरि शिरमा बोक्ने थिए । आम जनताको आक्रोश कामसँग हो, नामसँग होइन । तिनलाई ओली फालेर माधव या प्रचण्ड चाहिएको होइन, बिरामी हुँदा एम्बुलेन्सबाट झर्न मिल्ने हस्पिटल चाहिएको हो । सत्य बोल्ने इमान्दार सरकार चाहिएको हो । तर आफूबाहेक सिङ्गो संसार खराब छ भन्ने आत्मवञ्चना र हठले आफू र देश दुबै डुब्ने डर हुँदा पनि चाटुकारको घेरा नतोडिनु दुर्भाग्यबाहेक के होला ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
धनी देशहरूलाई खोपको लाइन नमिच्न डब्लुएचओको आग्रह

विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले देशहरूलाई आफ्ना निम्ति कोभिड १९ खोपको जोहो गर्नका लागि

कमलपोखरी पुनर्निर्माणका लागि राति चलाइयो डोजर

काठमाडौं । पुरातत्व विभागले कमलपोखरी पुनर्निर्माणको काम रोक्न आदेश दिए पनि रातारात डोजर

राष्ट्रकै जिम्मेवारी पाएपछि मानसिकता गरिब र तन्नम् प्रकारको रहनु हुँदैन

जेपी गुप्ता । ‘राजनीतिलाई धेरैले बिभिन्न भाष्यहरू दिएको छ ।..सम्भावनाहरूको खेल।..जहाँ प्रेम र

प्रतिगमनविरुद्धको सडक आन्दोलनमा सहभागी हुन प्रचण्ड-नेपाल समूहको आह्वान

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध सडकमा