लकडाउनका कारण हाम्रो मित्रतामाथि सङ्कट



‘यदि तपाईँले मित्रतामा ध्यान दिनुभएन भने त्यो चाँडै नै बिग्रिन सक्छ तीन महिनाभित्र,’ प्राणीको जीवन विकासक्रमसम्बन्धी मनोविज्ञानविद् प्राध्यापक रबिन डुन्बार भन्छन् ।

त्यसैले लकडाउनको सामाजिक दबाव छोटै भएपनि त्यसले केही मित्रतामा दीर्घकालीन असर पार्न सक्ने उनी बताउँछन् । रोयल सोसाइटी जर्नलमा एक लेख प्रकाशित गर्दै प्राध्यापक डुन्बारले कसरी लकडाउनले हाम्रा सामाजिक सम्पर्क परिवर्तन गर्नेछन् भन्नेबारे अध्ययन गरेका छन् । अक्स्फोर्ड विश्वविद्यालयका यी विज्ञले औँल्याएका असरको जरा जूम वा ह्वाट्स्याप समूहभन्दा पर छन् । उनी भन्छन्, मानिसको मित्रताको जरा गैरमानव प्राइमेटहरूको सामाजिक जीवनमा आधारित छ । ती प्राइमेटका निम्ति सामाजिक बन्धन भनेको कुनै स्थिर समूहको सदस्य हुनु हो जसले तिनलाई प्रतिद्वन्द्वी वा अन्य जनावरबाट जोगाउँछ । हामी किन निकटस्थ मित्रहरूलाई धेरै भर गर्छौँ भन्ने पनि यसले बुझाउँछ। हाम्रो विकासक्रमको इतिहासमा यस्ता मित्रतामाथि हाम्रो ज्यान नै निर्भर रहन्थ्यो । अनि त्यस्ता सम्बन्ध बनाइराख्न निकै स्याहार सुसार चाहिन्छ।

मित्रतामा परिवर्तन
बाँदर तथा मानिस दुवैमा मित्रताको गुणस्तर कति समय सँगै व्यतीत गरिन्छ भन्नेमा भर पर्ने अध्ययनहरूले देखाएका छन् । ‘मित्रता कायम राख्न हामीले बारम्बार भेटघाट गरिराख्नुपर्छ,’ प्राध्यापक डुन्बारले बताए। त्यसो गर्न समय र भावनात्मक लगाव निकै लाग्छ जसले गर्दा हामीले सीमित सङ्ख्यामा मात्र त्यस्ता सामाजिक सम्बन्ध बनाइराख्न सक्छौँ । ‘लकडाउनका बेला कैयौँ मानिसहरूले घरवरपर तथा समुदायमा थुप्रै नयाँ मित्रता गाँसिरहेका छन्,’ प्राध्यापक डुन्बारले भने ।

‘त्यसैले जब लकडाउन खुल्छ तब हाम्रा केही पुराना मित्रलाई यी नयाँ मित्रले विस्थापित गर्न सक्छन्।’ यसको एउटा असर भने सम्बन्धहरूमा हुनसक्ने परिवर्तन हो । कडा लडकाउनका बेला फ्रान्समा सामाजिक वैज्ञानिकहरूले गरेको एउटा बृहत् सर्वेक्षणले यस्तै देखायो । छोटकरीमा भन्दा केही मित्रताहरू प्राथमिकतामा परे र स्याहार अनि सम्पर्कमार्फत् थप बलियो बने भने कैयौँ हलुका मित्रताहरू त्यसै सेलाएर गए । यसले बढी उमेरका मानिसहरूलाई धेरै असर पर्यो। ’उमेर बढ्दै गएपछि नयाँ मित्र बनाउन कठिन हुन्छ,‘ प्राध्यापक डुन्बारले भने

‘अनि हाम्रो स्वास्थ्य, तन्दुरुस्ती, सुख ( लामो बिमारी वा शल्यक्रियाबाट निको हुने क्षमता समेत हाम्रा उच्च गुणस्तरका मित्रताहरूको सङ्ख्यामा भर पर्छन्।’

लकडाउनमा एक्लोपना
यदि छोटो समयका निम्ति हो भने लकडाउनमा पनि हाम्रा पुराना र गहिरा मित्रताहरू ज्यूँ का त्यूँ रहनेछन् । तिनलाई अनलाइन सम्पर्कले पनि केही हदसम्म जोगाइराख्नेछन् । बेल्फास्टको क्वीन्स विश्वविद्यालयकी डा. जेनी ग्रोआर्कले महामारीका बेला हुने एक्लोपनाको अध्ययन गरेकी छन् । ‘मानिसहरूले तिनका सामाजिक आवश्यकता पूर्तिका निम्ति डिजिटल सञ्चारमाध्यमको प्रयोग गरेका छन्। तर यसबाट हुने सम्पर्क प्रत्यक्ष सम्पर्कको तुलनामा कम सन्तोषजनक भएको पाइएको छ,’ उनले भनिन् । बढ्दो एक्लोपनासँग पनि यो जोडिएको छ । यो निचोड प्राध्यापक डुन्बारको निष्कर्षसँग मिल्दोजुल्दो छ। उनका अनुसार प्रत्यक्ष भेटघाटको विकल्प छैन । त्यसको एउटा कारण मानिसको स्पर्श आवश्यकता पनि हो । ‘अध्ययनमा सहभागी मानिसहरूले अरूलाई स्पर्श गर्न नपाउँदा तथा भौतिक दूरी राख्दा अनौठो मानेको पाइयो,’ डा. ग्रोआर्कले भनिन् ।

अनलाइन सम्बन्ध मित्रताका निम्ति पर्याप्त नहुने ठानिन्छ । मावनजातिको सबैभन्दा निकटस्थ नातेदार चिम्पान्जीलाई हेर्दा पनि स्पर्श स्वाभाविक मात्र नभई सामाजिक रूपमा अत्यन्त महत्त्पूर्ण देखिन्छ । चिम्पान्जीहरूले घण्टौँसम्म एकअर्कालाई स्याहार गरिरहन्छन्। एकअर्काबीच स्पर्श वा एकअर्काको शरीरबाट जुम्रारकीरा झिक्ने जस्ता काम केवल सरसफाइमा मात्र जोडिएका छैनन् । तिनले सामाजिक सम्बन्ध बलियो बनाउने मात्र होइन कि मस्तिष्कबाट दुखाइ कम गर्ने तथा रमाइलो अनुभव गराउने इन्डर्फिन नामक जैविक रसायन पनि उत्सर्जन गराउँछन् । त्यसैले मानिसहरू आधुनिक अनलाइन सम्बन्धतर्फ मोडिए पनि ती पुराना सम्बन्धका आधारहरू हाम्रा मनमस्तिष्कमा अद्यापि छँदैछन् । तै मानिसहरूका लागि मस्तिष्कको रमाइलो अनुभव गराउने केन्द्र क्रियाशील पार्ने अरू उपाय पनि छन्।

अनलाइनमार्फत् वा सामाजिक दूरी कायम गरेर पनि रमाइलो अनुभव गर्न सकिन्छ । हाँस्ने, गाउने, नाच्ने वा खानपान जस्ता क्रियाकलापले इन्डर्फिन निस्किन्छ र हाम्रा सामाजिक सम्बन्ध कायम भइराख्छन् । प्राध्यापक डुन्बार भन्छन् हामीमध्ये अधिकांशका निम्ति यो सामाजिक दूरीको समय दुःखपूर्ण तर अस्थायी पीडा हुनेछ । तर लकडाउनले प्रभावित पुराना सम्बन्धलाई मर्मत गर्न हामीले समय दिनुपर्नेछ ।

भिक्टोरिया गिल
विज्ञान संवाददाता, बीबीसी न्यूज

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना

चीन भ्रमण गर्ने योजनामा पुटिन

  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन भ्रमण गर्ने योजना बनाउनुभएको

नेपालमा विश्वमै सबैभन्दा सस्तोमा हाइड्रोजन उत्पादन गर्न सकिने

  काठमाडौँ । नेपालमा जलविद्युतसँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक ऊर्जा उत्पादनमा पनि