जहाजबाट आउनेलाई सुविधा र सम्मान, सीमाबाट आउनेलाई किन अपमान ?



उदयराज ढकाल ।

पहिला पहिला कोरोनाको क्या इज्जत थियो । चार्टर्ड प्लेन एयरपोर्ट ओर्लदा एयरपोर्ट खाली, टुरिष्ट बसमा हालेर सुविधा सम्पन्न क्वारेन्टाइनसम्म पुर्याउँदा बाटो खाली !!
अहिले त ट्रकमा कोचेर भैंसी गोठमा पु¥याएको छ, ओढारमा लगेको छ, पालमा, रुखमुनी राखेको छ । यति बेइज्जत हुदा नि अझै यतै हल्लीराखेको छ !
इख नभएको बेइज्जती कोरोना !!

नयाँ पत्रिका दैनिकका डिजिएम रहिसकेका पत्रकार भरतराज पोखरेलको यो फेसबुक स्टाट्सले विदेशिएका नेपालीहरू स्वदेश फर्कदा कतीसम्म बिभेदको शिकार भएका छन् भन्ने ठूलो संसार चियाउने प्रतिनिधि शव्द संकेत हुन् । कोरोना भाइरसको कहरमा बिदेशमा प्रताडित नागरिकप्रति सरकारको व्यवहारको बिभेदकारी चित्र, चरित्र र नियत नियाल्न पत्रकार पोखरेलका यी प्रतिनिधि शब्दघरले पुरा मद्धत गर्छन् ।

हो, विश्वभर कोरोना भाइरसको महामारी छ । विविध कारणले बिदेशीएका अधिकाँश नेपाली अहिले स्वदेश फर्कने चटारो, हतारो र पिरलोमा छन् । तर देशको सरकार बिदेशिएका नेपाली नागरिकलाइ घर फर्काउन पनि बिभेद गरिरहेको छ । राज्यका नजरमा सबै नागरिक, चाहे जुनसुकै देशको भूगोलमा जहाँसुकै रहून, समान हुनुपर्ने हो । सबै नागरिकले समान सुविधा र अवसर पाउनु पर्ने हो घर फर्कने मामलामा ।

तर यसको ठीक उल्टो भैरहेको छ, यहाँ त बिदेशिएका नागरिकको स्वदेश फिर्तीको सवालमा पनि । जसको शक्ति उसको भक्ति, जो होचो उसका मुखमा घोचो झै गरिरहेको छ, स्वयं राज्यले, सरकारले । यही हो, नागरिकले अफ्नै देशबाट, राज्यबाट, सत्ता र सरकारबाट अनारिक हुनु परेको दारूण हालत ।

सरकारले कसरी बलियालाई सहायता र निर्धालाई बेवास्ता गरिरहेको छ भन्ने केही प्रतिनिधि खबर पनि हेरौं :
१. जेठ २३ गते शुक्रवार संयुक्त अरब इमिरेट्स (युएई)बाट एक शिशु सहित १ सय ६८ जना नेपाली काठमाडौं आइपुगे । कोरोना भाइरस संक्रमणको जोखिम रोकथाम तथा न्यूनिकरणका लागि लकडाउन गरिएपछि युएईमा रोकिएका उनीहरुलाई एयर अरेबियाको जहाजबाट नेपाल ल्याइएको हो । उनीहरु शुक्रबार साँझ साढे पाँच बजे काठमाडौं आइपुगेका हुन् ।
नेपाल आइपुगेकाहरु नेपाली दूतावासले प्राथमिकताको आधारमा तय गरिएका व्यक्तिहरु भने होइनन् । दुई वटा सुरक्षा कम्पनीमा आवद्ध भई काम गर्दै आएका र करार अवधि समाप्त भएपछि नेपाल फर्किनबाट रोकिएका व्यक्तिहरु रहेका छन् । उनीहरुलाई नेपाली सेनाले तोकेको होल्डिङ सेन्टरमा राखिएको छ ।

२. सरकारले विदेशमा अलपत्र परेका नेपालीहरुलाई प्राथमिकताका आधारमा नेपालीहरुलाई स्वदेश ल्याउन सुरु गरेको छ । शुक्रवारै म्यानमारबाट नेपालीहरू स्वदेश फर्काइए । म्यानमारबाट आएका नेपालीहरुले आफूहरुलाई सरकारले गरको व्यवस्थाबाट खुसी भएको बताए । शुक्रबारै बिहान म्यानमारबाट २६ जना नेपाली फर्किएका छन् ।

जहाजवालालाई सम्मान, सीमापार गर्नेलाई डण्डा ?
सरकारले बनाएको कार्यबिधि अनुसार जहाजबाट स्वदेश फर्कनेहरूलाई नेपाली सेनाले बिमानस्थलबाट होल्डिङ सेन्टरसम्म ल्याउने गरिन्छ । होल्डिङ सेन्टरमा राखिएपछि स्वास्थ्य अवस्थाका बारेमा जाँचपड्ताल गरी सम्बन्धित जिल्लामा पठाइन्छ ।

विदेशबाट आएका नेपाली नारिकलाई प्रदेशगत रुपमा व्यवस्थापन गर्नुअघि काठमाडौं, भक्तपुर र ललितपुरमा रहेका ९ वटा होल्डिङ सेन्टरमा राख्ने व्यवस्था नेपाली सेनाले गरेको छ । त्यसपछि समान्य स्वास्थ्य जाँच गरी सम्बन्धित प्रदेश र स्थानीय तहको क्वारेन्टाइनमा पठाउने गरी सेनाले व्यवस्थापन गरेको छ ।

बिभिन्न मुलुकबाट आएका नेपालीहरुलाई उनीहरुले स्थायी ठेगानाका आधारमा बिभिन्न स्थानमा निर्माण गरिएको होल्डीङ सेन्टरमा राख्ने गरि सरकारले व्यवस्था मिलाएको छ ।

बिदेशबाट उद्धार गरिएकाहरुलाई काठमाडौंको चक्रपथ आसपासका पार्टी प्यालेसहरूमा प्रदेशगत रूपले कम्तीमा एउटा ‘होल्डिङ सेन्टर’मा राख्ने व्यवस्था मिलाइएको छ ।
कोरोना महामारीकाबीच विभिन्न मुलुकहरुबाट उद्धार गरी ल्याइने नेपालीहरुमा वाग्मती प्रदेशकालाई काठमाडौंको वसुन्धरामा रहेको यती पार्टी प्यालेसमा राख्ने व्यवस्था मिलाइएको छ । शुक्रबार बिहान स्वदेश फकिएकाहरुलाई बसुन्धरामा राखिएको थियो ।

तर सीमा नाकाबाट प्रवेश गर्नेलाई सास्तीः
ढिलै भए पनि सरकारले बिदेशीएका नागरिकलाइ स्वदेश फर्काउने सही काम सुरू गरे पनि उडेर फर्कने र भारतीय सीमा नाकाबाट हिडेर फर्कने नागरिक वीचमा भने चरम बिभेद गरिरहेको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित संक्रमण फैलिन नदिन सरकारले लकडाउन घोषणा गरेसँगै नेपाल–भारत सीमा नाकामा पनि गरेको नै अहिले स्वदेश फर्कनेका लागि समस्या बनिरहेको छ ।

सीमा सुरक्षाको जिम्मेवारी पाएको शसस्त्र प्रहरी बलले भारतबाट नेपाल प्रवेश गर्ने यात्रुलाई सुरूका दिनमा पूर्ण रुपमा रोक लगायो । भारतको मुख्य १४ सीमा नाका र अन्य ४५० भन्दा बढी सीमा नाकामा पनि कडी कडाई जारी राख्यो ।

सीमामा क्षेत्रमा भारतबाट नेपाल प्रवेश गर्ने यात्रुहरुलाई पूर्णरुपमा रोक लगाएकाले मुख्य सीमा नाका बाहेक अन्य नाकाबाट लुकीछिपी प्रवेश गर्नेहरूको ठूलो लर्को नै छ दिनहुँ बढयो । भारतीय सीमा नाकाहरूमा शसस्त्र प्रहरीक तैनाथ १ सय २० भन्दा बढी बोर्डर आउट पोष्ट बिओपी भारतबाट नेपाल फर्कने नेपालीका लागि सहयोगी होइन, शास्तीका कारण बनिरहे ।

भारतबाट नेपालतर्फ प्रवेश गर्ने यात्रुहरुलाई सुरूमा पूर्ण रुपमा रोक लगाइयो भने पछिल्ला दिनहरूमा उनीहरूलाइ जसोतसो छिर्न दिने तर न होल्डिंग सेन्टर, न स्वास्थ्य चेकजाँच, न उचित क्वारेन्टिन, न कुनै मानवीय सहायता । केवल भेडाबाख्रा झैं ग्वारग्वार्ती भित्र्याउने गरिएको पाइन्छ ।
गरीबको चमेली बोल्दिने कोही छैन
धनीलाई धन माथि धनै छ…..
गरीबको चमेली बोल्दिने कोही छैन….
एतिहासिक चलचित्र बलिदानको यही गीति भाका जस्तै अहिले भारतबाट स्थलमार्ग हुदै स्वदेश फर्कने ठूलो संख्याका नेपालीका लागि सरकार नै पराइ भएको छ भने, उनीहरूका पीर, मर्का बुझिदिने र बोलिदिने कोही देखिएको छैन ।

कोभिड–१९सम्बन्धी उच्चस्तरीय समितिले भारतबाट घर फर्किने नेपालीहरुका लागि २० वटा नाका तोकेको छ । ती नाकाहरूमा कुनै पनि सुविधा ती नेपालीहरूका लागि तयार छैन् ।पछिल्ला दिनमा विदेश र खासगरी भारतमा रहेका नेपालीहरुलाई आउन दिने निर्णय गरेको सरकारले उनीहरूको व्यवस्थित र सुरक्षित फिर्तीलाइ पुरै बेवास्ता गरेको हो ।

स्थलमार्गबाट आउनेहरुका लागि तोकिएका २० वटा नाकाहरू, पशुपतिनगर, काकडभिट्टा, रानी, सुनौली, ठाडी, माडर, भिट्टामोड, मलंगवा, गौर, वीरगञ्ज, महेशपुर, वेलहिया, तौलिहवा, कृष्णनगर, जमुनाह, सुरजपुर, गौरिफन्टा, गड्डाचौकी, झुलाघाट र दार्चुला नाकामा किन सरकारले होल्डिंग, सुरक्षित स्टे, क्वारेन्टिन तथा स्वास्थ्य जाँचका सुरक्षित उपायहरू व्यवस्थापन गर्न सकेन वा चाहेन ? के जहाजमा अउने नागरिकको मात्र सरकार हो यो ? सीमानाका हुदै अउने नागरिक चाहि दोस्रो दर्जाका नागरिक हुन् त सरकारका नजरमा ? यो बिभेदकारी सरकारी नीति विरूद्ध किन कोही बोल्दैनन् ?

जहाँ जोखिम, त्यही वेवास्ता र अपहेलना ?
अहिले झापादेखि कञ्चनपुरसम्म सीमाक्षेत्रमा कोरोनाको उच्च जोखिम रहेको तथ्याँकहरूले देखाइरहेको छ । मुलतः भारतसँग सीमा जोडिएका जिल्लामा त्यस्तै भद्रगोल स्थिति देखा परेको छ । यो भद्रगोलले कोरोनाको जोखिम उच्चदरमा बढाएको छ । खासगरी भारतसँग सीमा जोडिएका छ वटा प्रदेशको अवस्था भयावह हुदै गएको छ । सीमा छेउमा आइपुगेका नेपालीहरूलाई भारतीय सुरक्षाकर्मीहरूले नेपालतर्फ पठाइदिने गरेका छन् । यसरी आउने कतिपयले पहिल्यै पालिकालाई खबर गर्ने गरेका छन् भनिए पनि त्यो पनि भगवान भरोसामा चलेको छ । सीमाक्षेत्रमा आएका नेपालीहरूलाई सम्बन्धित पालिकाले जिम्मा लिएर नाम मात्रैका क्वारेन्टाइनमा लैजान्छन् । लुकीछिपी आउनेहरू त सिधै घर जाने गरेका छन् । उनीहरूको कोरोना परीक्षण नाम मात्रैको हुने गरेको छ ।

उच्चस्तरीय समितिकै विभेदकारी नीतिः
सीमामा आइपुग्ने नेपालीहरुको संख्या दिनहुँ बढिरहँदा उनीहरूलाई व्यवस्थित रुपमा ल्याउन भन्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले क्याबिनेटलाई गरेको सिफारिस कागजमा मात्रै सीमित हुदा सीमाबाट भित्रिने नेपालीको बिजोग भैरहेको हो । समितिले भारतबाट आउने नेपालीहरूलाई देशभरिका २० वटा नाकाबाट मात्र प्रवेश दिने, तोकिएको नाकाबाट आएकालाई एक दिन होल्डिङ प्वाइन्टमा राख्ने र र्यापिड डाइग्नोस्टिक टेस्ट (आडीटी) गरेर क्वारेन्टाइनका लागि स्थानीय तहहरूमा पठाउने सिफारिस गरेको थियो ।

तर, यो सिफारिस कहाँ अड्कियो भन्ने स्वयं निर्णयकर्ताहरूलाई समेत थाहा छैन । समितिको सिफारिसबारे मन्त्रिपरिषद्बाट कुनै निर्णय भएको छैन ।भारतबाट फर्किएका नागरिकहरूलाई उद्धार गर्नुपर्ने हुन सक्छ, तयारी अवस्था रहनू भनेर निर्देशन दिने बाहेक गृहमन्त्रालयले थप कुनै पहल गरेको छैन् । सीमा जोडिएका सबै जसो जिल्लामा स्थानीय प्रशासनले नै समन्वय गरेर भारतबाट ल्याउने र स्थानीय तहमा सिधै पठाउने काम भइरहेको जनाइए पनि त्यो पुरै अव्यवस्थित छ ।

सीमाक्षेत्रमा आइपुगेकाहरूलाई स्थानीय प्रशासन आफैँले उद्धार गरेर ल्याउने भने पनि पीडाका वीच भद्रगोल तरिकाले भारतीय नाकाबाट नागरिकहरू स्वदेश फर्कन विवश छन् । यसरी आउनेहरूले सास्ती त पाएकै छन्, साथमा कोरोना संक्रमणको जोखिम पनि बढेका छन् । तर केन्द्र सरकार जहाजबाट भित्रनेरूको मात्रै सेवामा जुटेको देखिन्छ । यहाँ एकै देशका नागरिकलाइ यसरी काखा र पाखा गर्ने सरकारी हर्कतको समुल अन्त्य नै अहिलेको मुख्य खाँचो हो ।

[email protected]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कमलपोखरी परिसरमा ढकमक्क ज्याकाराण्डा (फोटोफिचर)

काठमाडौँको कमलपोखरी परिसर छेउमा ढकमक्क फुलेको ज्याकाराण्डा फूल । यतिबेला काठमाडौँ उपत्यकाका धेरै

इलाम -२ र बझाङमा शान्तिपूर्णरुपमा मतदान जारी

काठमाडौं । इलाम–२ र बझाङमा मतदान सुरु भएको छ । इलाम–२ मा प्रतिनिधिसभा

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना